काठमाडौं- रियो ओलम्पिकका लागि विश्व ब्याडमिन्टन संघ (बिडब्लूएफ) ले लाइन जजमा छनोट गरेको खबर पाउँदा दीपक थापाले सुरुमा विश्वास नै गर्न सकेको थिएनन्। नेपाल ब्याडमिन्टन संघका अध्यक्ष तत्कालीन महासचिव रामजीबहादुर श्रेष्ठले हो भनेपछि मात्र बल्ल उनी विश्वस्त भए। त्यसले उनलाई एकखालको प्रेरणा मिल्यो, केही अघि बढ्ने बाटो खुले जस्तो लाग्यो।
छनोट हुँदाको पहिलो खबर र आज रियो ओलम्पिकको समापनको दिन आइपुग्दा परिस्थिति फेरिएको छ। खेलकुदकै महाकुम्भको ब्याडमिन्टनमा लाइन जजको भूमिका निर्वाह गरेको सुखद अनुभव संगाल्दै थापा यसै साता स्वदेश फर्कंदैछन्। ५ खेलमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। थापाका कारण रियो ओलम्पिकमा नेपाल छैटौं खेलको पनि हिस्सा बन्यो। ओलम्पिक इतिहासमा अहिलेसम्म नेपाली खेलाडी र प्रशिक्षकको मात्र नाम जोडिन्थ्यो। अब प्राविधिकका रूपमा थापाको नाम नेपालको ओलम्पिक इतिहासमा जोडिएको छ। 'यसो हेर्दा यो मेरो व्यक्तिगत उपलब्धि जस्तो देखिन सक्छ,' थापाले टेलिफोनमा नागरिकसँग भने, 'तर, त्यसो होइन, मैले देशकै प्रतिनिधित्व गरेको हँु। हामी जहाँ पुगे पनि हाम्रो देशको नाम स्वतः जोडिएर आउँछ। एसियाबाट ८, अझै दक्षिण एसियाबाट ३ जना छनोट हुँदा म पर्नु देशकै प्रतिष्ठा बढ्नु हो भन्ने मैले ठानेको छु।'
उनले रियो ओलम्पिकको ब्याडमिन्टनका २१ खेलमा लाइनजजको भूमिका निर्वाह गरेका छन्। रियोमा उनले लाइन जज गरेको अन्तिम खेल महिला एकलको फाइनल थियो। जहाँ छिमेकी भारतकी पिभी सिन्धु र स्पेनकी क्यारोलिना मेरिनबीच प्रतिस्पर्धा भएको थियो। मेरिनले स्वर्ण पदक जितिन्। ओलम्पिक ब्याडमिन्टनको फाइनलमा भविष्यमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्लान् भन्नु अहिलेका लागि सपनासरह हो। कुनै पनि नेपाली खेलाडीलाई सपना लाग्ने त्यो प्रतिस्पर्धाका एक हिस्सेदार बनेर थापा फर्कंदैछन्। फाइनलमा उपस्थित र करोडौं टेलिभिजन दर्शकले हेरेको त्यो खेलमा थापा पनि महŒवपूर्ण भूमिकामा रहे। उनी भन्छन्, 'ब्याडमिन्टनका विश्व च्याम्पियन प्रायः एसियाकै छन्। त्यसले एकदमै नौलो त लागेन। तर, ओलम्पिकको फाइनलमा लाइन जज बस्नु गौरव गर्ने विषय भने पक्कै हो।'
रियो ओलम्पिकसम्म उनी यसै पुगेका भने होइनन्। यसका पछाडि धेरै आरोह अवरोह छन्। 'लामो सोच राखेर जीवनमा मैले केही गरेको छैन। यसमा पनि यहाँसम्म पुग्छु भन्ने मैले सोचेको थिइनँ,' काठमाडौं थापागाउँका ३९ वर्षे उनले भने, 'खेलजीवनपछि पनि ब्याडमिन्टनको मोहले नछोडेपछि यसमा इन्गेज भइराख्न प्राविधिक भूमिका ठिक लागेर यता लागेको हँु।'
उनी अहिले एसियाका सिनियर अम्पाएर हुन्। एसिया ब्याडमिन्टनको एक्रिडिएसन हुँदै सर्टिफिकेट अम्पाएर बनेका थिए। अबको उनको लक्ष्य भनेको विश्व ब्याडमिन्टनको एक्रिडिएसन अनि सर्टिफिकेट बन्नु हुनेछ। उनी अहिले आफ्नो अम्पाएरिङ जीवनको बीचतिर पुगेको भन्न ठिक ठान्छन्।
चार वर्षअघि बंगलादेशको इन्टरनेसनल च्यालेन्जबाट विदेशी भूमिमा अम्पाएरिङ गरेका उनले छोटो समयमै ओलम्पिकसम्मको यात्रा तय गरेका छन्। रियो ओलम्पिक छनोटलाई उनले ब्राजिल जानुअघि यसरी अर्थ्याएका थिए, 'कसैले मूल्यांकन गरेको हुने रहेछ। कामको इज्जत कुनै न कुनै दिन हुन्छ। '
खेलाडीका रूपमा २०५० मा अमर आदर्श स्कुलबाट खेल्दा थापाले अल नेपाल स्कुल च्याम्पियनसिप जितेका थिए। सन् १९९६ मा जुनियर साफ च्याम्पियनसिपका लागि भारतको बेङ्लोर पुगे। त्यहाँ एउटा जिते अर्को हारे। त्यसैक्रम उनलाई चोट लाग्यो। उनलाई बेङ्लोरप्रति त्यहाँको खेल र अध्ययनको माहोलले तान्यो। मीनभवनमा पढ्दा नै बेङ्लोर हानिए। त्यहाँ पुगेपछि खेल्ने क्रम फेरि सुरु भयो। कलेज स्तरका सबै प्रतियोगिता खेले। फुटबल र ब्याडमिन्टन दुवैको कप्तानी गरे। खेलले नै उनलाई एस निजालिङ गप्पा कलेजमा भर्ना हुन सहज भयो।
२००० पछि पुनः स्वदेश फर्के। तर ब्याडमिन्टन छाड्न सकेनन्। लगावले अलग हुन दिएन। अम्पाएरिङको स्वअध्ययनसँगै यहाँका ठूला साना प्रतियोगितामा अम्पाएरिङ सुरु गरे। त्यहींबाट उनको उनको अम्पाएरिङ जीवनको नयाँ यात्रा सुरु भएको थियो।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्षको दोस्रो कार्यकालको जिम्मेवारी निर्वाह गरिरहेका उनी भर्खरै ब्याडमिन्ट संघको केन्द्रीय सदस्यमा मनोनयन भएका छन्। तर उनको रुचि भनेको प्राविधिक क्षेत्रमै छ। देशभित्र अम्पाएर संख्या बढाउनेमा उनको विशेष पहल देखिन्छ। विगतमा भन्दा अम्पाएरको संख्या बढेको र अझै बढाउनुपर्छ भन्नेमा उनी लागिपरेका छन्। कसैले यसलाई करिअर बनाउन चाहन्छ भने त्यसमा संघ सहयोगी हुनुपर्ने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँछन्।
नेपाली खेलकुदका इभेन्ट म्यानेजमेन्टमा पनि उनले छुट्टै परिचय बनाइसकेका छन्। ब्याडमिन्टनका सबै र अन्य इभेन्टमा पनि उनको प्रत्यक्ष संलग्नता रहन्छ। रियो ओलम्पिक इभेन्ट म्यानेजमेन्टका पक्षबाट उनले नजिकबाट नियाल्ने मौका पाएका छन्। 'हामीले सानो स्केल र सीमित साधन स्रोतमा काम गर्दै आएका छौं,' इभेन्ट म्यानेजमेन्टका शिक्षकसमेत रहेका उनले भने, 'व्यवस्थापनको उच्चतम अभ्यास रियोमा देख्न पाए। यसले मेरो क्षितिजलाई पनि अझै फराकिलो बनाएको छ।'
दुई वर्षपछि नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि त्यहाँको अनुभव काम आउने विश्वास उनको छ। उनले थपे, 'रियो ओलम्पिक मेरो लागि विश्वविद्यालयमा आएर पढे जस्तो भएको छ। छोटो समयमा धेरै चिज देख्ने र सिक्ने अवसर मिल्यो। म यसलाई स्वदेश फर्केर अरुसँग बाँड्न चाहन्छु।'
प्रकाशित: ६ भाद्र २०७३ ०३:१९ सोमबार