१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

खेलाडी विदेशतिर, नेतृत्वको ध्यान आफ्नातिर मात्रै

घरेलु फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आउन अब करिब डेढ महिना बाँकी छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा चाहे चेन्ज एन्फाको नारासहित आएको तत्कालीन कर्माछिरिङ शेर्पाको नेतृत्व होस् वा सुशासनकोे नारासहित आएको पंकजविक्रम नेम्वाङकै नेतृत्व किन नहोस्, तिनीहरूले खेलाडीका समस्या समाधान गरेका छैनन्, जस्ताका तस्तै छन्।  

लिगको मिति नजिकिँदै गर्दा खेलाडीमा उत्साह हुनुपर्ने हो। क्लबहरू प्रायोजकको खोजीमा व्यस्त हुनुपर्ने हो। तर विडम्बना नेपाली लिग भने फरक दृश्यबाट घेरिएको छ। खेलाडी निराश छन् र सुनौलो भविष्य खोज्न बिदेसिँदै छन्। 

राष्ट्रिय टोलीका वर्तमान खेलाडी र राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी सहभागी १४ क्लबको अनुबन्धको सूचीमा सबैभन्दा अघि हुनुपर्ने हो। तर निर्धारित समयमा लिग नभएको, निरन्तर घरेलु फुटबल नहुँदा बेरोजगार हुनुपरेको भन्दै एकपछि अर्का खेलाडी सुनौलो भविष्यको सपना बुनेर अस्ट्रेलिया हानिँदै छन्।

खेलाडी कुन बाध्यताले बाहिरिए भन्ने हेक्का फुटबल हाँक्छु भन्दै आएको नेतृत्वका लागि चासोको विषय नबन्नु अर्को विडम्बना हो। उनीहरूको चासो निर्वाचनमा कुन क्लब, खेलाडी, प्रशिक्षक र संघ आफ्नो पक्षमा थिए भन्नेमा मात्र केन्द्रित छ। अझ त्योभन्दा मुख्य प्राथमिकता कतार विश्वकप २०२२ मा आफूलाई प्राप्त २ सय ९० टिकटमध्ये व्यक्तिगत फाइदाकै लागि एएफसीमा पठाएको दाबी गरिएका केही टिकटको हिसाबकिताब मिलाउनमा केन्द्रित छ। फागुन १९ गतेबाट हुने लिगमा क्लबलाई आवश्यक खेलाडीसमेत पाउन कठिन हुने देखिएको छ।

करिब ६ महिना सञ्चालन हुने लिगले धेरै प्रतिभावान् खेलाडी जन्माउनेछ। तर भएकै खेलाडी गुमाउनु विडम्बना हो। हालसम्म राष्ट्रिय टोलीबाट खेलिसकेका ३० भन्दा बढी खेलाडी बाहिरिसकेका छन्। पछिल्लो केही दिनयता भने खेलाडी निरन्तर बिदेसिँदै छन्। त्यो पनि राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य नै। केही दिनअघि राष्ट्रिय टोलीका रक्षक दिनेश राजवंशी र तेज तामाङ बाहिरिए भने त्यसको भोलिपल्टै रञ्जन विष्ट र नीतिन थापा बाहिरिएका थिए। शनिबार मानबहादुर तामाङ पनि बिदेसिए।

यसै सिजन मात्र ‘ए’ डिभिजनमा बढुवा भएको खुमलटार युथ क्लबका अध्यक्ष मनिराज विष्ट खेलाडीको समस्या बुझ्दै क्लबले पनि उनीहरू बिदेसिने बाध्यता रोक्न अग्रसर हुनुपर्ने बताउँछन्। ‘हो, यहाँ विभिन्न बहानामा लिग निर्धारित समयमा हुँदैन। त्यसले मोफसलका फुटबल तालिका पनि प्रभावित भएको छ,’ एन्फा कार्यसमिति सदस्यसमेत रहेका विष्टले भने, ‘खेलाडीको संरक्षण गर्नु समग्र राज्य र एन्फाको पनि दायित्व हो। तर सबैभन्दा बढी जिम्मेवार क्लब हुनुपर्छ। क्लबले खेलाडीलाई अनुबन्धित गरेपछि उनीहरूको स्थिति के छ भनेर त्यसमा ध्यान दिनुपर्छ। प्रतियोगिता हुँदा मात्र यी हाम्रा खेलाडी हुन् अरू बेला कोही होइनन् भन्ने मानसिकता त्याग्नुपर्छ।’

‘हाम्रो क्लबले पनि लिगको पहिलो सिजन सुखद पार्ने लक्ष्यसहित राष्ट्रिय टोलीका तीन चार जना खेलाडी अनुबन्धित गरेको थियो,’विष्टले थपे, ‘उनीहरू पनि अस्ट्रेलियाको भिसा लागेकाले विदेसिने तयारीमा थिए। क्लबले अग्रसरता लियो र उनीहरू कम्तीमा लिगसम्म क्लबमै रहने वातावरण बन्यो। तर यो दीर्घकालीन समाधान भने होइन।’ अस्ट्रेलियामै रहेका रेजिन सुब्बा लिगका लागि फर्किएका छन्। खेलाडीहरू विदेशमा कुनै प्रतियोगिता खेल्न जानै पाइँदैन भन्ने छैन। हामीले नै यस्तो वातावरण बनाउन आवश्यक छ, जसले गर्दा विदेशमा रहेका खेलाडी कम्तीमा घरेलु लिग र राष्ट्रिय टोलीका लागि देशमा आऊन्।

सरोकारवाला सबै पक्ष गम्भीर नहुने हो भने त राष्ट्रिय टोली निर्माणमा समेत कठिन हुने देखिन्छ। यता हालै मात्र अस्ट्रेलिया प्रस्थान गरेका एक खेलाडीले भने एन्फामा जो नै नेतृत्वमा आए पनि खेलाडीलाई निर्वाचन जित्ने भाँडो बनाएको र क्लब पनि आफूहरूको समस्यामा गम्भीर नभएको आरोप लगाए। ‘एउटा खेलाडीले खेल्नै पाउँदैन भने के गरेर बस्नु,’ उनले भने, ‘हामी खेलेर नै परिवार धानिरहेका हुन्छौं। लगातार खेल नहुँदा त्यसले समस्या मात्र बढायो। जसका कारण हामी विकल्प खोज्न बाध्य भएका हौं। यसमा एन्फा मात्र नभई क्लबसमेत कहिल्यै गम्भीर भएनन्। अनि खेलाडीको पक्षमा निर्णय हुन्छ भनेर के आधारमा विश्वास गर्नु ?’

प्रकाशित: ९ माघ २०७९ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App