३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

फिफाका पूर्वअध्यक्ष हाभेलान्जेको मृत्यु

रियो दी जेनेरियो– फिफा अध्यक्षका रूपमा लामो समय विश्व फुटबललाई नेतृत्व गरेका जाओ हाभेलान्जेको रियोस्थित एक अस्पतालमा १ सय वर्षको उमेरमा मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार जनाएका छन् ।
भ्रष्टाचारको अभियोग लागेर विवादित हाभेलान्जेले रियो दी जेनेरियोमा जारी रियो ओलम्पिकको आयोजना अधिकार ब्राजिललाई दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । रियो दी जेनेरियोस्थित सामारितानो अस्पतालका प्रवक्ता आन्द्रेसा फेइजोले हाभेलान्जेको मृत्यु भएको पुष्टि गरेका हुन् । जुलाईमा गम्भीर रूपमा बिरामी हुँदा पनि उनको यही अस्पतालमा उपचार भएको थियो ।

ब्राजिल फुटबल संघमा अध्यक्षका रूपमा १९५६ देखि १९७४ सम्म नेतृत्व गरेका हाभेलान्जे विश्व फुटबलको सर्वोच्च निकाय फिफामा १९७४ देखि १९९८ सम्म अध्यक्ष थिए । निरंकुश स्वभावका हाभेलान्जेको विशेष योगदानमा ब्राजिलले फिफा विश्वकप २०१४ र ओलम्पिक २०१६ को आयोजना अधिकार पाएको थियो ।

विश्व फुटबललाई आर्थिक रूपमा ठूलो सफलता दिलाउने श्रेय हाभेलान्जेलाई जान्छ । परम्परागत र सौखिन रूपमा रहेको विश्व फुटबललाई एउटा आकर्षक उद्योगमा स्थापित गर्ने क्रममा उनले यो खेलको लोकप्रियताका लागि थुप्रै काम गरेका थिए । उनकै कालबाट फुटबल विश्वव्यापी रूपमा ठूला प्रायोजक तान्न सफल भएको थियो । तर गम्भीर खालको भ्रष्टाचार काण्डमा मुछिँदा विश्व फुटबलमा उनको योगदान छायाँमा परेको थियो । घुस लिएको प्रमाणित भएपछि २०१३ मा उनले फिफाको मानार्थ अध्यक्ष पदबाट समेत राजीनामा गर्नुपरेको थियो । एएफपी

प्रकाशित: १ भाद्र २०७३ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App