ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।
बुधबार भएको खेलमा एपिएफले मछिन्द्रलाई १–० गोल अन्तरले हराएको हो। खेलको १४ औं मिनेटमा एपिएफले गरेको गोल नै निर्णायक बन्यो। मणि लामाको फ्रिकिक मछिन्द्रका पेर्रे म्याभीलाई लाग्दै गोलमा परिणत भएको थियो। लामाले प्रहार गरेको बल उनको टाउकोमा लाग्दै पोष्टको दिशा लिगेको थियो। खेलको सुरुवातीमै पछि परेको मछिन्द्रले निकै दवाव खेपेको थियो। खेलको ४२ औं मिनेटमा एपिएफले अग्रता दोब्बर पार्ने मौका गुमायो।
एपिएफको प्रहार बारमा लागेर बाहिरिएको थियो। ५५ औं मिनेटमा मछिन्द्रले बराबरी गोल गर्ने मौका खेर फाल्यो। टिम्बा टिम्बाको वान भर्सेस वान प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए। खेलको अन्तिमतिर मछिन्द्रका करिब आधा दर्जन प्रहारलाई एपिएफका गोलरक्षक श्रेष्ठले निष्तेज पारेका थिए। एपिएफका मणि लामा नै खेलको म्यान अफ द म्याच भए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। जारी प्रतियोगितामा बिहीबार भुट्निज स्पोर्टस् क्लव अमेरिका र हिमालयन शेर्पा क्लवबीच खेल हुनेछ। माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुँदै आएको हो। प्रतियोगिताको अघिल्लो संस्करण थ्रीस्टार क्ल्वले जितेको थियो।
प्रकाशित: २७ पुस २०७९ १२:३४ बुधबार





