२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

विराटनगरको प्लेअफ सम्भावना बलियो

फार वेस्टविरुद्ध ब्याटिङ विराटनगरका हुसेन तलत। तस्बिर सौजन्य: क्यान

क्यारेबियन बलर कियोन जोसेफले डेथ ओभरमा उत्कृष्ट बलिङ गरेपछि विराटनगर सुपर किङ्सले शुक्रबार फार वेस्ट युनाइटेडमाथि तीन रनको रोमाञ्चक जित निकाल्दै नेपाल ट्वान्टी-२० लिगको प्लेअफ सम्भावना बलियो बनाएको छ।

कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जितसँगै विराटनगरले ९ खेलबाट आठ अंक बटुल्दा प्लेअफ दौड पनि रोमाञ्चक बनेको छ। फार वेस्टलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक हुँदा जोसेफले दुई विकेट लिँदै २ रन मात्र खर्चदै विराटनगरलाई नाटकीय सफलता दिलाए। हारसँगै फार वेस्ट जारी लिगको प्लेअफ सम्भावनाबाट बाहिरिने पहिलो टोली बन्यो। कुल ६ फ्रेन्चाइज टोली सम्मिलित डबल लिगमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सले शीर्ष दुईमा रहँदै फाइनल यात्राका लागि प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ। यी दुवैले लिगमा १० खेल खेलिसकेका छन् ।

अब प्लेअफका दुई स्थानका लागि काठमाडौं नाइट्स, विराटनगर र पोखरा एभेन्जर्सको सम्भावना बाँकी छ। यता, पुछारको टोली फार वेस्ट भने शुक्रबार विराटनगरसँग स्तब्ध भएसँगै प्लेअफ सम्भावनाबाट बाहिरिएको हो। समान एक खेल बाँकी छँदा काठमाडौं र विराटनगरले समान आठ अंक बटुलेका छन् भने पोखराको ६ अंक छ। लिगमा एक खेल नै बाँकी रहेको फार वेस्टको भने चार अंक छ। शनिबार लिग चरणका अन्तिम खेल रोमाञ्चक हुनेछन्।

तेस्रो स्थानको काठमाडौंले विराटनगरलाई चुनौती प्रस्तुत गर्दा पोखरा पुछारको फार वेस्टलाई हराउँदै प्लेअफमा पुग्न चाहन्छ। प्लेअफमा पुग्न पोखरालाई जितको विकल्प हुने छैन। यता, काठमाडौं र विराटनगर भने हारले पनि प्लेअफमा पुग्न सक्छन्। तर, त्यसका लागि फार वेस्टले पोखरालाई हराउनुपर्नेछ। विराटनगरका बलर जोसफले १८औं र २०औं ओभरमा विकेटसँगै किफायती बलिङ गर्दै फार वेस्टविरुद्ध  महत्त्वपूर्ण जित दिलाउँदै प्लेअफ सम्भावना बलियो बनाएका हुन्। १८औं ओभरमा उनले करण केसीलाई आउट गर्दै पाँच रन मात्र खर्चिए।

अन्तिम ओभरमा पनि उनको बलिङ उत्कृष्ट रह्यो। राज नाननले तीन तथा सूर्य तामाङले दुई विकेट लिए। जोसेफ र नन्दन यादवको नाममा समान १/१ विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निकै खराब सुरुआत गर्दा पहिलो दुई ओभरमा नै ओपनरद्वय गौरान्सु शर्मालाई १ रन र प्रदीप ऐरीलाई ३ रनमा गुमायो। तर, पाकिस्तानी ब्याटर हुसेन तलतको आक्रामक अर्धशतकीय प्रेरणामा विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रनको मध्यम योगफल जोड्यो।

तलतले २९ बलमा ५० रन जोडे। कप्तान रोहित पौडेल २१ रन र ओपनर अर्जुन साउद २२ रनमा आउट हुँदा विराटनगरको इनिङ कमजोर थियो। तर, तल्लो क्रमका ब्याटर विवेक यादवले आक्रामक ब्याटिङ गर्दै इनिङलाई मध्यम योगफलतर्फ डोर्‍याए। २० बल खेल्दै उनी ३५ रनमा नटआउट रहे। उमेर अलीले दुई विकेट लिँदा करण केसी र दुर्गेश गुप्ताले समान एक विकेट निकाले।

ग्रिफिथको यादगार प्रदर्शन

कप्तान ट्रेभोन ग्रिफिथको अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले शुक्रबार लुम्बिनी अल स्टार्सलाई २३ रनले हराउँदै लिगमा सातौं जित निकाल्यो।

जनकपुर समयमा नै मैदान नआएपछि खेललाई १७ ओभरमा छोट्याइएको थियो, जहाँ १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेले पनि सात विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनायो। ग्रिफिथले सर्वाधिक तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। समिउल्लाह अन्सारीले दुई तथा असान प्रियन्जनले एक विकेट लिए। लुम्बिनीका अनिलकुमार शाहले सर्वाधिक ३५ रन बनाए पनि जित दिलाउन सकेनन्। उनले २१ बलमा एक चौका र तीन छक्का हिर्काए। ओपनर लाहिरू मिलान्थाले ३२ र सुनील धमलाले २० बलमा २७ रन जोडे।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो। राम्रो सुरुआत गरेको जनकपुरका लागि ग्रिफिथले आक्रामक ब्याटिङ गर्दै विशाल योगफलतर्फ डोर्‍याए। ग्रिफिथले ११ बलमा अविजित ४७ रन जोडे। उनको इनिङमा तीन चौका र पाँच छक्का रह्यो। जनकरपुरले बिनाविकेट पावर प्लेमा ४८ रन जोड्दै राम्रो सुरुआत गर्‍यो।

कप्तान ग्रिफिथले भने आक्रामक ब्याटिङ गर्दै उत्कृष्ट फिनिस गरे। जनकपुरका ओपनरद्वय सराफुद्दिन असरफले ३४ रन र खडक बोहोराले २२ रन जोडे। असरफले १८ बलमा ५ चौका र १ छक्का हिर्काए। खडकको इनिङमा एक चौका मात्र रह्यो। लुम्बिनीका सागर ढकालले चार ओभरमा दुई विकेट लिँदा १७ रन मात्र खर्चिए। कुशल भुर्तेलले दुई तथा प्याट ब्राउन र ईशान पाण्डेले १/१ विकेट लिए।  

प्रकाशित: २३ पुस २०७९ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App