११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

ओलम्पिकमा पहिलोपल्ट आमाछोरा

विलिसी- जर्जियाकी सुटिङ खेलाडी निनो सलुकभाड्जका लागि रियो आठौं ओलम्पिक यात्रा हो। तर यो ओलम्पिक उनका लागि थप विशेष बन्नेछ। किनकि ‘टिम मेट’ (आफ्नो छोरा) सँग पहिलोपल्ट सहभागी हुँदैछिन्।

ओलम्पिक इतिहासमा आमा र छोरासँगै प्रतिस्पर्धा गर्न लागको यो पहिलो भएको विश्वास गरिएको छ। ‘छोरासँग यस्तो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँदा म धेरै खुसी र गौरवान्वित छु। हामी आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयासमा छौं,’ ४७ वर्षीया सलुकभाड्जले भने।

१९८८ को सोल ओलम्पिकको महिला २५ मिटर स्पोर्टिङ पेस्तोलमा स्वर्ण र १० मिटर एयर पेस्तोलमा रजत जित्दा सालुकभाड्ज १९ वर्षकी थिइन्। त्यति बेला उनले तत्कालीन सोभियत संघबाट प्रतिनिधित्व गरेकी थिइन्।

२००८ को बेइजिङ ओलम्पिकमा उनले १० मिटर एयर पेस्तोलतर्फ जर्जियाबाट कांस्य पदक जितेकी थिइन्। सालुकभाड्जका १८ वर्षे छोरा सोट्ने माच्भरिनी युरोपियन च्यामिपयनसिपको १० मिटर एयर पेस्तोल व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेपछि ओलम्पिकमा स्थान बनाउन सफल भएका थिए।

‘मेरा लागि यो दोहोरो खुसीको क्षण हो। किनकि म पहिलोपल्ट ओलम्पिकमा सहभागी हुँदैछु र यो जीवनकै पहिलो हुनसक्छ कि म आमासँगै रियो जाँदैछु,’ माच्भरिनीले भने। सलुकभाड्जले पारिवारिक सम्बन्धले खेलमा कुनै फरक नपार्ने भन्दै त्यो खेलभावना विपरीत हुने बताए, ‘म उनकी आमा हुँ र रियोमा छोराको साथी पनि।’

प्रकाशित: ९ श्रावण २०७३ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App