१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एनभिए राष्ट्रिय भलिबल पुस २४ देखि

पुसको अन्तिम साता सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ। मंगलबार नेपाल भलिबल संघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता पुस २४ देखि माघ १ गतेसम्म आयोजना गर्ने जनाएको हो। प्रतियोगितामा महिलातर्फ ८ टोलीले सहभागिता जनाउनेछन् भने पुरुषतर्फ १४ टोलीले प्रतिस्पर्धा गर्ने संघले पत्रकार सम्मेलनमा जानकारी दियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, न्यु डायमन्ड स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब बुटवलको सहभागिता रहनेछ।

यस्तै पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, नेपाल एपिएफसहित  हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दाँवाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बाग्मती प्रदेश, बुढानीलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, मधेश प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताका लागि एक क्लबले तीन जना विदेशी खेलाडी राख्न पाउने आयोजकले जानकारी दियो।

लिग कम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद ४ लाख पाउनेछ भने उपविजेताले २  लाख र तेस्रो हुनेले १ लाख रूपैयाँ हात पार्नेछन्। नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि आयोजना हुन लागेको पहिलो प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबिबी-एनभिए क्लब लिग खेल्न पाउनेछन्।

आठ दिनसम्म सञ्चालन हुने च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रूपैयाँ पाउनेछन्। 

प्रकाशित: १३ पुस २०७९ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App