फुटबलको माध्यमबाट शान्तिको सन्देश दिने अभियानसहित बुधबार पोखरा रंगशालामा स्पेनिस फुटबल क्लब कासेरेन्योसँग गण्डकी-११ ले मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ। मैत्रीपूर्ण फुटबल प्रतियोगिताको लागि कासेरेन्योको टोली पोखरा आइपुगेको छ।
लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहयोगमा पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुनेछ। जनवरी ३ मा रियाल मड्रिडविरुद्ध उत्रिने तयारीमा रहेको कासेरेन्योले नेपालमा दुईवटा मैत्रीपूर्ण फुटबल खेल्नेछ। पहिलो खेल गण्डकी–११ र दोस्रो खेल काठमाडौं-११ सँग खेल्नेछ। लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोस भिलानोभाले विश्वमा फुटबलको माध्यमबाट शान्तिको अभियानसहित नेपालमा मैत्रीपूर्ण खेल खेल्न आइपुगेको पत्रकार सम्मेलनमा सुनाए। स्पेनिस टोली मंगलबार दिउँसो पोखरा आइपुगेको हो।
उनले मैत्रीपूर्ण फुटबल प्रतियोगिताले नेपालको फुटबलमा प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। कासेरेन्यो स्पेनको ‘बी’ डिभिजनको क्लब हो। उनले बुद्ध जन्मेको लुम्बिनीको देश नेपालबाट शान्तिका लागि फुटबल अभियान सुरु गरिएको स्पष्ट पारे। लुम्बिनी गार्डेन कासेरेन्योमा रहेको भन्दै उनले कासेरेन्यो क्लब नेपालमा मैत्रीपूर्ण फुटबलको लागि आएको बताए। ‘बुद्ध जन्मेको देश नेपालबाट शान्तिका लागि फुटबल अभिायनबाट विश्वमा शान्तिको सन्देश दिन चाहन्छौं,’ उनको भनाइ थियो।
अध्यक्ष भिलानोभाले मैत्रीपूर्ण खेलले नेपाली फुटबलमा नयाँ आयाम थपिने विश्वाससमेत व्यक्त गरे। उनले नेपालको फुटबल व्यवस्थित हुँदै गएको उल्लेख गर्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिताले दुई देशले फुटबलबाट केही सिक्ने अवसर पाउने दाबी गरे। स्पेनको राष्ट्रिय टोलीबाट सहभागिता समेत जनाइसकेका मिचेलले मैत्रीपूर्ण खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे। मिचेलले आफनो टिम बलियो रहेको उल्लेख गर्दै खेल जित्ने बताए।
गण्डकी-११ का प्रशिक्षक राजेन्द्र तामाङले आत्मबल बलियो बनाएर खेल्नुपर्नेमा जोड दिए। उनले गण्डकी प्रदेशकै खेलाडी समेटेर टोली तयार पारेको जनाउँदै उत्कृष्ट प्रदर्शन रहने बताए। गण्डकी-११ का कप्तान एवं नेपाली फुटबल राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका अनिल गुरुङले मैत्रीपूर्ण फुटबलबाट नेपाली टोली र खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर पाउने बताए।
प्रकाशित: १३ पुस २०७९ ०१:४९ बुधबार