६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालका राजवीर च्याम्पियन

नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न फाइनलमा राजवीरले हङकङका की छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे। पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट–१ मा भने राजवीर परीक्षा कारण सहभागी थिएनन्। नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सर्किट–१ मा भारतका भिभान मिर्धा फाइनलमा नेपालका आयुशमान हजुर घलेलाई हराउँदै पहिलो भए। गल्र्स सिंगल्सको फाइनलमा भारतकी तनिशा भत्नागरले फाइनलमा भारतकै सराह चौधरीलाई सीधा सेटमा ६–३ र ६–४ ले पाखा लगाइन्।  

सर्किट–१ मा भने नेपाली खेलाडीको वर्चस्व रह्यो। नेपालका शिभाली गुरुङ पहिलो, आद्या पौड्याल दोस्रो तथा प्रशंसा मोक्तान र स्वस्तिका विष्ट तेस्रो भए। सर्किट–१ कै डबल्समा पनि शिभालीले स्वर्ण हात पारेकी थिइन्। शुक्रबार सम्पन्न सर्किट–२ को ब्वाइज डबल्समा हङकङका ताङ र वान हिम दोनोभन यिमको जोडी पहिलो भएका थियो। गल्र्समा नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडीले शीर्ष स्थान हात पारेको थियो।  

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे। एसियाली टेनिस महासंघको स्वीकृतिमा भएको प्रतियोगिताअन्तर्गत ब्वाइजमा १७ तथा गल्र्समा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपालसहित १४ राष्ट्रका खेलाडीले सिंगल्स र डबल्स खेलेका थिए। मन जकयर टेनिस एकेडेमीले पहिलोपटक जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो। विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो।

प्रकाशित: १० पुस २०७९ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App