७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

शनिबारबाट नेपाल ट्वान्टी-२० लिग

‘काम गरेन निकम्मा भइन्छ, काम गर्‍यो भ्रष्टचारीको संज्ञा दिइन्छ,’ नेपाल ट्वान्टी–२० लिगको तयारी पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दिएका अभिव्यक्ति हुन्, यी।

शुक्रबार पत्रकार सम्मेलनमा चन्दले आफ्नो नेतृत्वमा रहेको क्यानले खेलाडीको हितमा काम गर्न लाग्दा वाधाअवरोध भइरहेको उल्लेख गर्दै उक्त भनाइ राखेका हुन्। साथै चन्दले एसिसीको साधारसभामा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले दिएको एक अभिव्यक्तिको प्रसंग पनि त्यहाँ कोट्याए। ‘त्यो साधारण सभामा राजाले दक्षिण एसियामा क्रिकेट चलाउन देशको सरकार चलाउनुभन्दा कठिन भएको छ। अहिले मैले पनि सोही अफ्ठ्यारो स्थिति सामना गरेको छु,’ दुखित हुँदै चन्दले भने, ‘राम्रो नियतले काम गर्न खोज्दा अवरोध भइरहेको छ। काम गरेन निकम्मा भइन्छ, काम गर्‍यो भ्रष्टाचारी बनाइन्छ।’

शुक्रबार भने क्यानले यस पटक लिग निर्धारित मितिमा नै हुने आश्वस्त पार्न पत्रकार सम्मेलन गरेको थियो। सेभेन थ्रीसँग सम्झौता नवीकरण भएपछि क्यानको यो दोस्रो पत्रकार सम्मेलन पनि हो। विवादमा परेपछि क्यानले सार्वजनिक कार्यक्रम गरिरहेको छैन। यसअघि तीन पटकसम्म नेपाल ट्वान्टी–२० लिग सरेको थियो। शुक्रबारबाट नै सुरु हुनुपर्ने लिग क्यानले श्रम स्वीकृति समयमा नहुँदा र अन्य प्राविधिक कारणले एक दिन पछाडि सारेको थियो। शुक्रबार क्यानले पत्रकार सम्मेलन गर्दै यस पटक नसर्ने र देशको प्रचलित कानुन मान्दै जाँदा श्रम स्वीकृतिको प्रक्रियामा केही ढिलाई भएको प्रतिक्रिया दिएका थिए।

सोही अवसरमा उनले केही खराब व्यक्तिले क्यानको गतिविधिमा अवरोध पुर्‍याउने प्रयास गरिरहेको प्रतिक्रिया दिएका हुन्। लामो समयदेखि तयारी गरिरहेको नेपाल ट्वान्टी–२० लिग विवादमा फस्नु र आयोजना मिति सरिरहँदा नेपाली क्रिकेट चर्चाको विषय बन्दै आइरहेको छ। क्यानमा चतुरबहादुर चन्दको नेतृत्व निर्वाचित हुनेबितिक्कै सो कार्यसमितिले आफ्ना भावी योजनामध्ये एक फ्रेन्चाइज क्रिकेटलाई अगाडि बढाउने लक्ष्य राखेका थिए। तर, उनीहरूले उक्त लक्ष्यअनुरूप काम गर्न भने सकेनन्। त्यसका विभिन्न कारण पनि होलान्।

यद्यपि, लामो समयको प्रतीक्षापछि चन्दको नेतृत्वको क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोटर््सको सहायतामा आफ्नो लक्ष्य अगाडि बढायो। त्यसका लागि सेभेन थ्रीसँग १० वर्षको सम्झौता पनि गर्‍यो। तर, त्यो निर्णयसँगै क्यानले चौतर्फी घेराबन्दीका साथै आलोचना पनि खेप्यो। सम्झौता अनुसार काम हुन नसकेको भन्दै क्यानले उक्त भारतीय कम्पनीसँग सम्झौता पनि तोड्यो। तथापि, एक्कासी क्यानले सम्झौतामा परिमार्जन गर्दै ८ वर्षका लागि उक्त कम्पनीलाई कमर्सियल अधिकार ३३ करोड भारुमा बेच्यो।

क्यानको त्यो निर्णयका कारण सबैभन्दा ठूलो क्षति त्यसअघि सञ्चालन हुँदै आएको एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई परेको थियो। किनकि क्यानले नेपाल ट्वान्टी–२० लिगलाई मात्र अधिकारिता प्रदान गर्ने निर्णय गर्‍यो। पूर्वक्रिकेटर आमिर अख्तरको एउटा कम्पनीले इपिएल आयोजना गर्दै आइरहेको थियो। त्यस कारण पनि इपिएल त्यो निर्णयविरुद्ध उत्रियो। त्यस दिनदेखि इपिएलले शृंखलाबद्ध रूपमा क्यानविरुद्ध पत्रकार सम्मेलन गर्दै आइरह्यो। क्यानको त्यो निर्णयविरुद्ध इपिएलले अदालत मुद्दा दायर गर्‍यो, जुन अहिले पनि विचाराधीन छ।

क्यानका अध्यक्ष चन्दले शुक्रबार नेपाल ट्वान्टी–२० लिगको तयारी पूरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इपिएल र उनै आमिरलाई इंगित गर्दै भनेका थिए,‘केही व्यक्तिले क्यानविरुद्ध सरकार, देशका प्रशासन, राजनीतिक पार्टी, खेलकुदका निकाय मात्र नभई विभिन्न देशका क्रिकेट संघलाई गलत सन्देश दिइरहेका छन्। यस्तो प्रवृत्तिका कारण नेपालको क्रिकेटमा समस्या भइरहेको छ।’ पत्रकारले व्यक्तिको नाम सार्वजनिक गर्न आग्रह गरे पनि उनले पत्रकार आफैंले बुझेको भन्दै नाम भने उच्चारण गरेनन्।

विजेताले ५५ लाख पाउने

क्यानको आयोजनामा शनिबारदेखि सुरु हुने नेपाल ट्वान्टी–२० लिगको विजेताले ५५ लाख रूपैयाँ पाउने भएको छ। लिगको तयारीबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्यानले पुरस्कार राशि सार्वजनिक गरेको हो। उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३० लाख, १० लाख र पाँच लाख रूपैयाँ पाउनेछन्। लिगको उत्कृष्ट खेलाडीले पाँच लाख र इमर्जिङ प्लेयरले एक लाख ८० हजार रूपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्ने क्यानले जनाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने पहिलो संस्करणको नेपाल ट्वान्टी–२० लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्स र लुम्बिनी अल स्टार गरी ६ फ्रेन्चाइज टोली छन्। क्यानका चन्दले पछिल्ला केही दिनहरूमा धेरै अन्योलका बीच लिग शनिबारदेखि सुरु हुने बताए। ‘पछिल्ला समय धेरै अन्योलपूर्ण अवस्था रह्यो। नेपाल ट्वान्टी–२० लिग हुने या नहुने अन्योलका बीच शनिबारबाट हामीले सुरु गर्नेर्छौं,’ उनले भने,‘घोषणा गरेकै दिन सही नियतले खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर गरिएको निर्णय थियो। यस्तो आयोजना गर्न क्रिकेटका एसोसिएट राष्ट्रले ठूलो चुनौती सामना गर्नुपर्ने रहेछ।’

सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन आलुवालियाले यहाँसम्म आइपुग्न निकै कठिन यात्रा तय गर्नुपरेको बताए। ‘हामीले विश्वस्तरीय क्रिकेट आयोजना गर्न र सोही स्तरका खेलाडी, प्रशिक्षक र प्राविधिक टोली ल्याउन खोजेका हौं,’ आलुवालियाले भने, ‘नेपालमा सम्भावना छ, सन् १९९३ को भारतीय टोली जस्तै छ। नेपाल एक दिन विश्वकप जित्न सक्ने टिम छ। तर, त्यसका लागि लगानी र भौतिक संरचना र व्यावसायिकता चाहिन्छ। त्यसैले हामी यहाँ आएका हौं।’

उनले यो लिगबाट चार पक्ष लाभान्वित हुने दाबी गरे। तीमध्ये मुख्य थिए, खेलाडी, क्यान र अर्थतन्त्र। लिगको युरो स्पोर्ट्स, फ्यानकोडले भारतमा इन्टरनेट र मोबाइल एपमा प्रत्यक्ष प्रसारण गर्ने उनले उल्लेख गरे। लिगको टाइटल स्पोन्सर वान् एक्स ब्याट कम्पनी रहेको छ। त्यसका लागि आइसिसीसँग स्वीकृति लिएको उनको दाबी छ। स्पोर्ट्स इन्टिग्रिटी सम्बन्धी कम्पनी स्पोर्ट्स राडारले खेलमा हुन सक्ने मिलेमतो जस्ता कुरामा निगरानी राख्ने आलुवालियाले जानकारी दिए।  

प्रकाशित: ९ पुस २०७९ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App