४ वैशाख २०८१ मंगलबार
खेल

गोल्डेन बुटको रोचक भिडन्त

प्लेयर्स टु वाच

अर्जेन्टिना र फ्रान्सबीच आइतबार लुसेल स्टेडियममा हुने फाइनलले कतार विश्वकप २०२२ को विजेता टुङ्गो लाग्नेछ।

डिफेन्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिना एसियाली भूमिमा सफलता प्राप्त गर्दै तेस्रो पटक विश्व विजेता बन्ने लक्ष्यमा छन्। दुवै राष्ट्रले समान दुई पटक विश्वकप उपाधि उचालिसकेका छन्। अब तेस्रो उपाधि जित्दै सर्वाधिक विश्वकप विजेताको सूचीमा तेस्रो स्थानमा बस्ने यी दुई राष्ट्रको लक्ष्य छ। उपाधि भिडन्तजस्तै रोचक बनेको छ, सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको प्रतिस्पर्धा। गोल्डेन बुटको दौडमा फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसी पाँच गोलसहित शीर्ष स्थानमा छन्। फ्रान्सकै ओलिभर जिरौड र अर्जेन्टिनाका युलियन अल्भारेज समान चार गोलसहित उनीहरूलाई पछ्याइरहेका छन्।

लियोनल मेसी (अर्जेन्टिना)

अर्जेन्टिनाका कप्तान मेसीले आइतबार हुने विश्वकप फाइनल आफ्ना लागि विश्वकपको अन्तिम खेल हुने बताइसकेका छन्। सन् २०१४ मा उपाधि संघारमा पुगे पनि जर्मनीसँग निराश भएको अर्जेन्टिना यस पटक उपाधि जित्न चाहन्छ। सो उपाधिले मेसीलाई म्याराडोना र पेलेसँगै सर्वकालीन खेलाडीका रूपमा उभ्याउनेछ। सर्वाधिक गोलकर्तासहित गोल्डेन बुट जितेमा मेसीका लागि त्यो विशेष क्षण पनि हुनेछ। मेसीले जारी विश्वकपमा पाँच गोल गर्नुका साथै तीन पटक गोलका लागि अवसर सिर्जना गरेका छन्। मेसीसँगै अर्जेन्टिनाका युलियन अल्भारेज पनि गोल्डेन बुटको दौडमा रहेका छन्। उनले चार गोल गरेका छन्। क्रोएसियाविरुद्धको सेमिफाइनलमा नै उनले दुई गोल गरेका थिए।

केलियन एमबाप्पे (फ्रान्स)

फ्रान्स १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा छ। फ्रान्सको सो लक्ष्यमा स्ट्राइकर केलियन एमबाप्पे सबैभन्दा प्रमुख खेलाडीका रूपमा देखा परेका छन्। एमबाप्पेले जारी विश्वकपमा ५ गोल गर्नुका साथै २ गोलका लागि अवसर सिर्जना गरेका छन्। उनले रूस विश्वकप २०१८ मा ४ गोल गरेका थिए। एमबाप्पेसँगै फ्रान्सकै स्ट्राइकर ओलिभर जिरौड पनि गोल्डेन बुटका दाबेदार हुन्। उनले पनि ४ गोल गरिसकेका छन्।

 

प्लेयर्स टु वाच:

लियोनल मेसी (अर्जेन्टिना)

फ्रान्ससँग उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाका लियोनल मेसीको विश्वकपमा २६औं खेल हुनेछ। मेसीले आफ्ना लागि यो विश्वकप अन्तिम हुने बताइसकेका छन्। उनले आफ्नो करियरमा विश्वकप उपाधि मात्र जित्न सकेका छैनन्। सन् २०१४ को विश्वकप अर्जेन्टिनालाई फाइनलमा पु¥याए पनि उनी उपाधि दिलाउन असफल रहे। यस पटक यो अवसर सदुपयोग गर्दै उनी जीवनकै सबैभन्दा ठूलो सफलता प्राप्त गर्न चाहन्छन्।

जारी विश्वकपमा पाँच गोलका साथै तीन एसिस्ट गरेका मेसी सबैको नजरमा पर्ने खेलाडी हुन् भने फ्रान्सको रक्षापंक्तिका लागि चुनौती पनि। अर्जेन्टिनाबाट एक सय ७१ खेल खेलेका मेसीले ९६ गोल पूरा गरेका छन्। अर्जेन्टिनाले पछिल्लो पटक कोपा अमेरिकाको उपाधि उचाल्दाका नायक हुन्, उनी। त्यतिबेला मेसीले सात खेलबाट चार गोल र पाँच गोलका लागि अवसर सिर्जना गरेका थिए। विश्वकपमा उनले ११ गोल पूरा गरिसकेका छन्। उच्च लयमा रहेका मेसी कतारमा विश्वकप उपाधि जित्दै आफ्नो यादगार करियरलाई पूर्णता बनाउने लक्ष्यमा छन्।

त्यसका लागि उनले आफ्नो व्यावसायिक क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) का सहकर्मी एमबाप्पेको टोली फ्रान्सलाई फाइनलमा हराउनुपर्नेछ।

केलियन एमबाप्पे (फ्रान्स)

लगातार दोस्रोपटक विश्वकप उपाधि जित्ने फ्रान्सको लक्ष्यमा केलियन एमबाप्पेको भूमिका अग्रपंक्तिमा हुनेछ। मेसीसँगै गोल्डन बुटको होडमा रहेका एमबाप्पे र उनको टोली फ्रान्स फाइनलमा अर्जेन्टिनालाई स्तब्ध बनाउँदै विश्वकप उपाधि रक्षा गर्ने दाउमा छन्। यसपल्ट ६० वर्षपछि पहिलोपटक विश्वकप उपाधि रक्षाका लागि भिडन्त हुँदै छ।

अघिल्लो संस्करण क्रोएसियाविरुद्ध फाइनलमा एमबाप्पेले विजयी गोल गरेका थिए। गत संस्करण फ्रान्सलाई उपाधि दिलाउन उनको भूमिका महत्त्वपूर्ण थियो। कतारमा पनि उनी लयमा छन्। जारी विश्वकपमा एमबाप्पेले पाँच गोल र दुई एसिस्ट गरेका छन्। त्यसैले एमबाप्पेलाई रोक्न दक्षिण अमेरिकी टोली अर्जेन्टिनाका लागि चुनौती हुनेछ। फ्रान्सले फाइनलसम्म यात्रा तय गर्दा एमबाप्पेको उपस्थिति टोलीमा निकै प्रभावकारी साबित भइरहेको छ।

विश्वकपका पछिल्ला दुई संस्करणमा अनुभव लिइसकेका एमबाप्पेले कुल ९ गोल पूरा गरिसकेका छन्। सन् २०१८ मा एमबाप्पेलाई पेलेसँग तुलना गरिएको थियो, यस पटक उपाधि दिलाउन सके उनी पेलेको विश्वकप सफलतानजिक पुग्नेछन्। पेलेले ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए। 

प्रकाशित: ३ पुस २०७९ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App