१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

३६ वर्षदेखि अर्जेन्टिनाकै समर्थक

३६ वर्षदेखि निरन्तर अर्जेन्टिनाका समर्थक, बायाँबाट क्रमशः अभयेन्द्र, ज्ञानदास र ज्ञानकृष्ण। तस्बिर: नागरिक

सन् १९८६ मा मेक्सिकोमा विश्वकप हुँदा भक्तपुर थिमिका अभयेन्द्र रन्जित अर्जेन्टिनाको समर्थन गर्दै छिमेकीको घरमा श्यामश्वेत टेलिभिजनमा फुटबल हेर्थे। २० वर्षको उमेरमा म्याराडोनाका समर्थक रहेका रन्जित अहिले ५३ वर्षको उमेरमा पनि त्यही अर्जेन्टिनाकै समर्थन गर्दै आफ्नै घरको रंगीन टेलिभिजनमा खेल हेर्दै छन्। ‘समय फेरियो, खेलाडी फेरिए,’ उनले भने, ‘तर मेरो मन परेको टिम कहिल्यै फेरिएन।’ उतिबेला म्याराडोनाका फ्यान रहेका रन्जित अहिले मेस्सीको फ्यान रहेको सुनाउँछन्। ‘यी दुवै खेलाडी टिममा हुँदा अर्जेन्टिनालाई कसैले हराउँछ जस्तो लाग्दैन,’ उनले भने, ‘म जहिले पनि अर्जेन्टिनाले विश्वकप जित्छ भन्ने आशाका साथ खेल हेर्ने गर्छु।’

मेक्सिकोमा खेल हुँदा म्याराडोनाले हानेको ‘हातेगोल’बारे पनि उनलाई याद छ। ‘हामीले त धेरै पछि मात्र त्यो हातले छोएको भन्ने थाहा पायौं,’ उनले भने, ‘मन परेको टिमले अलिअलि झेल गरेको पनि मन पर्दोरहेछ।’ म्याराडोना र मेस्सीका कारण अर्जेन्टिनाप्रति धेरै विश्वास गरे पनि कतिपय खेलमा साना टिमसँग पनि हार बेहोरेको देख्दा निकै दुःख लाग्ने गरेको उनले सुनाए। ‘सन् १९९० मा पहिलो म्याचमा क्यामरुनले र अहिले साउदी अरेबियाले अर्जेन्टिनालाई हराउँदा निकै दुःख लागेको थियो,’ उनी भन्छन्, ‘तर फेरि खेलमा फर्कने उनीहरूको शैली भने निकै लोभलाग्दो छ।’

तीनै पुस्ता अर्जेन्टिनका ‘फ्यान’

उनले अर्जेन्टिनाको समर्थनमा बोलिरहँदा सँगै रहेका ज्ञानदास प्रजापति मुस्कुराइरहेका थिए। ‘मेरो घरमा त म मात्रै होइन, छोरानाति सबै अर्जेन्टिनाका समर्थक छन्,’ उनले भने, ‘१० वर्षीय नातिले अर्जेन्टिनाको जर्सी लगाउँदै बुवाको काखमा बसेर मेस्सी–मेस्सी भनेर कराउँदा निकै खुसी लाग्छ।’ सन् १९८६ देखि नै फुटबल हेर्दै आएका उनले अर्जेन्टिनाको खेल र खेलाडीको स्वाभावका कारण आफू निरन्तर उसैको समर्थनमा रहेको सुनाए। ‘एकपटक मन परेपछि मन परिरहँदो रहेछ,’ उनले भने, ‘यसबीचमा अन्य देशमा राम्रा खेलाडी आए पनि अर्जेन्टिना मन पर्न भने छाडेन।’  

उनको कुरामा ज्ञानकृष्ण प्रजापतिले पनि सहमति जनाए। सन् १९८६ देखि नै फुटबल हेर्न थालेका ज्ञानकृष्णले खेल सबैको हेर्ने तर पक्ष भने अर्जेन्टिनाकै लिने गरेको सुनाए। ‘म्याराडोना र मेस्सी निकै मन पर्छ,’ उनले भने, ‘सायद हामी त पछिसम्म पनि अर्जेन्टिनाकै पक्षमा रहनेछौं।’ अर्जेन्टिनाको पराजयपछि भने अन्य टिमको समर्थन गर्ने गरेको उनले सुनाए। ‘खेल हो, एउटा नभए अर्को टिमको समर्थन गरिहालिन्छ नि,’ उनले भने, ‘तर मन परेको टिमको समर्थन गर्न पाउनुको मज्जा भने बेग्लै हुन्छ।’

निरन्तर अर्जेन्टिनाको विपक्षमा  

अभयेन्द्र, ज्ञानदास र ज्ञानकृष्ण अर्जेन्टिनाको समर्थनमा रहेजस्तै सन् १९८६ देखि नै काठमाडौंको कमलादीका विनय कंसाकार भने उक्त देशको विपक्षमा रहँदै आएको सुनाउँछन्। ‘धेरै नेपालीले अर्जेन्टिनाको पक्ष लिएर हो कि के हो, म भने जहिले पनि अर्जेन्टिनाविरुद्ध उभिएँ,’ यसपटक आफू ब्राजिलको समर्थक रहेको बताउँदै उनले भने, ‘बरु स्पेनको समर्थन लिएँ तर अर्जेन्टिनाको लिइनँ।’  

सन् १९८६ को म्याच भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा हेरेका कंसाकारले त्यसयताका म्याच भने नेपाल टेलिभिजनमा हेर्दै आएको सुनाए। नेपाल टेलिभिजनले सन् १९८६ का केही म्याच रेकर्डेड देखाए पनि सन् १९९० बाट भने फिफासँग अधिकार नै लिएर प्रत्यक्ष प्रसारण देखाउन थालेको उनले बताए।  

‘बुस्टर र एन्टेनाको सहाराले नेपालमा पनि दूरदर्शन टेलिभिजन हेर्ने चलन थियो,’ उनले भने, ‘त्यसैले केहीले नेपाल टेलिभिजनमार्फत हेरे पनि धेरैले त्यही च्यानलमार्फत फुटबल हेरे।’ २०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजनले निकै कोसिस गरेर मेक्सिकोमा भएको खेललाई आंशिक रूपमा भए पनि नेपालमा देखाएको थियो। फुटबलले जहिले पनि खुसी दिने कंसारकारको अनुभव छ। ‘जुनसुकै देशको पक्ष लिए पनि फुटबलले अन्ततः खुसी दिन्छ,’ उनले भने, ‘जुनसुकै देशमा आयोजना भए पनि हरेक विश्वकपले प्रत्येक चार वर्षमा संसारभर खुसी छरेर जान्छ।’

प्रकाशित: २२ मंसिर २०७९ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App