१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

साउदीमा पूर्ण आत्मविश्वास

साउदी अरेबियाले यसै हप्ता कतार विश्वकपमा अर्जेन्टिनासँग भेट हुँदा अप्रत्याशित नतिजा निकालेका कारण दोस्रो खेलमा एसियन राष्ट्र पूर्ण आत्मविश्वासका साथ खेल्ने अनुमान गरिएको छ।

हेर्भे रेनार्डको टोली साउदीले आफ्नो दुई प्रहारमा नै सफलता प्र्राप्त गर्दै दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई २–१ को अप्रत्याशित हार सामना गर्न बाध्य बनाएको थियो। सोही साउदी अरेबियाले शनिबार पोल्यान्डविरुद्ध खेल्दै छ। साउदीले विश्वकपका १० मध्ये युरोपियन राष्ट्रसँग ९ खेल गुमाएको छ। त्यसमा पनि लगातार आठ खेलमा हारको शृंखला छ। यो सूचीमा सन् २००२ मा जर्मनीसँग ८-० को लज्जास्पद हार पनि समावेश छ। यद्यपि, आफ्नो टोली यस पटक अलि फरक नै रहेको साउदीका फरवार्ड सालेह अल सेरीको विश्वास छ।

‘२० वर्षअगाडिको साउदी त्यस्तो थियो होला? तर, अहिले २०२२ हो। हामी कतारमा इतिहास रच्न चाहन्छौं। त्यो अवसर अझै आउनेछन्,’ सेरीले भने। १–० ले पछि परेको अवस्थामा साउदी अरेबियाले उत्कृष्ट पुनरागमन गरेको थियो। जहाँ, उनै सेरीले बराबरी गोल फर्काएका थिए। सोही गोल प्रेरणाका कारण साउदीले विश्वकपमा लगातार दोस्रो जित निकाल्यो।

यसअघि सन् २०१८ को विश्वकपमा साउदीले इजिप्टलाई २–१ ले स्तब्ध बनाएको थियो। विश्वकपका १५ खेलमा साउदीले जितेको यही दुई खेल हो। साउदीले विश्वकपमा लगातार दोस्रो खेलमा दुई गोल पनि गर्न सफल भएको छ।

त्यसैले पछिल्लो समय लयमा रहेको साउदीलाई हराउन पोल्यान्डका लागि सहज छैन। पोल्यान्ड विश्वकपमा लगातार तेस्रो क्लिन सिट राख्ने लक्ष्यमा छ। यो सफलता पोल्यान्डले सन् १९७४ र १९७८ को विश्वकपमा निकालेको थियो। डिफेन्समा पोल्यान्ड मजबुत रहे पनि अट्याकमा भने कमजोर देखिएको छ। पोल्यान्डले पहिलो खेलमा मेक्सिकोविरुद्ध ६ पटक प्रहार गरे पनि गोलरहित बराबरीको नतिजा सामना गरेको थियो। साउदीले त्यसको फाइदा लिएमा पोल्यान्डको नकआउट यात्रा कठिन बन्नेछ।

डेनमार्कका डिफेन्डर आन्द्रेस क्रिस्टिनसेन विश्वकप विजेता फ्रान्ससँगको दोस्रो खेलका लागि चिन्तित छैनन्। फ्रान्स शनिबार ९७४ स्टेडियममा डेनमार्कमाथि जित निकाल्दै नक आउट चरणको यात्रा तय गर्न चाहन्छ। चोटका कारण एन्गोलो कान्टे, पाउल पोग्बा र क्रिस्टोफर एनकुन्कुलाई गुमाएको फ्रान्समा अझै पनि क्षमतावान् अट्याकिङ विकल्पहरू छन्।

डिडियर डेसच्याम्पको टोली फ्रान्सले विश्वकप उद्घाटनको अघिल्लो दिन मात्र बालोन डी’ओर विजेता करिम बेन्जिमालाई गुमाएको थियो। तर, पनि समूह ‘डी’ को फ्रान्सले आफ्नो पहिलो खेलमा पछाडि परेको अवस्थामा ४-१ को फराकिलो जित निकाल्यो। उक्त खेलमा ओलिभर जिरौडले दुई गोल गर्दै थिएरी हेनरीको नाममा रहेको राष्ट्रिय टोलीबाट ५१ गोलको रेकर्ड बराबरी गरेका थिए।

सो खेलमा किलियन एम्बाप्पे, एन्टोइन ग्रिजमेन र ओसामाने डेम्बेलेको प्रदर्शन उत्कृष्ट रह्यो। त्यसैले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको डेनमार्कले बलियो फ्रान्सविरुद्ध जित निकाल्न कठिन हुनेछ। अस्ट्रेलियालाई हराउँदै फ्रान्स सन् २००६ पछि पहिलो खेलमा जित निकाल्ने डिफेन्डिङ च्याम्पियन पनि बन्यो। अहिलेसम्म चार डिफेन्डिङ च्याम्पियनले मात्र विश्वकपमा सुखद सुरुआत गरेको इतिहास छ।

अस्ट्रेलिया र ट्युनिसिया शनिबार अल जानौब स्टेडियममा भेट हुँदा आफ्नो समूहको दोस्रो खेलमा जित निकाल्दै नकआउट चरणको आशा जीवन्त राख्न चाहन्छन्। फ्रान्ससँग ४-१ को हारबाट कतार विश्वकपको यात्रा सुरु गरेको अस्ट्रेलियाले शनिबार ट्युनिसियाविरुद्ध खेल्दै छ, जसले पहिलो खेलमा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलिस्ट डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको थियो। त्यो नतिजासँगै ६ वटा विश्वकप खेलेको ट्युनिसियाले विश्वकपका १६ खेलमा दोस्रो क्लिन सिट राख्दै पहिलो पटक नकआउट चरणको आशा बनायो। ‘हाम्रो मुख्य लक्ष्य दोस्रो चरणसम्म पुग्नु हो,’ ट्युनिसियाका प्रशिक्षक जलिल काद्रीले भने।

यता, एसियाबाट प्रतिनिधित्व गरेको अस्ट्रेलियाले भने फ्रान्सविरुद्ध अग्रताका बावजुद खेल जोगाउन सकेको थिएन। अस्ट्रेलियाले विश्वकपका १७ खेलमध्ये ११ खेलमा हार बहोरेको छ। पछिल्ला सात खेलमा अस्ट्रेलिया जितविहीन छ। अस्ट्रेलियाका मिडफिल्डर ज्याक्सन इर्भिनले फ्रान्ससँगको हारबाट पाठ सिक्दै अगाडि बढ्ने लक्ष्य रहेको बताएका छन्। फ्रान्सको तुलनामा ट्युनिसियासँगको खेल फरक हुनेमा उनी विश्वस्त छन्।

यता अर्जेन्टिना गोलकिपर इमिलियानो मार्टिनेजले मेक्सिकोसँग समूह ‘सी’ को दोस्रो खेल आफ्नो राष्ट्रका लागि विश्वकप फाइनलजस्तै रहेको प्रतिक्रिया दिएका छन्। साउदीसँग अप्रत्याशित हारपश्चात् दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका अर्जेन्टिनाका गोलकिपरले सो किसिमको प्रतिक्रिया दिएका हुन्। त्यो हारसँगै अर्जेन्टिनाको अपराजित ३६ खेलको यात्रा पनि रोकिएको थियो। विश्वकप दाबेदारकै रूपमा हेरिएको अर्जेन्टिना शनिबार मेक्सिकोविरुद्ध जित निकाल्दै सो आकलनलाई जीवन्त राख्ने लक्ष्यमा छ। साउदीसँग हार बेहोरेकै मैदानमा अर्जेन्टिना दोस्रो खेल खेल्दै छ।

‘हामी विश्वकप फाइनलजस्तै गरेर खेल्छौं। साउदीविरुद्ध पहिलो गोल गरेपछि ढुक्क भएर खेल्यौं र त्यसकै क्षति पनि बेहोर्नुपर्‍यो। शनिबार त्यो गल्ती दोहोरिँदैन,’ मार्टिनेजले भने। अर्जेन्टिनाले मेक्सिको विरुद्ध पछिल्ला १० खेलमा नै जित दर्ता गरेको छ। अट्याकिङमा समस्या रहेको मेक्सिकोले आफ्ना पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन। जुन खराब लय जितको भोको रहेको अर्जेन्टिनाविरुद्ध तोड्नु्पर्छ। तब मात्र विश्वकपको नकआउट चरणको सम्भावना जीवन्त रहन सक्छ। 

प्रकाशित: १० मंसिर २०७९ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App