coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कतार विश्वकप २०२२ सुरु

विश्वकप २०२२ उद्घाटन कार्यक्रममा कतारको अल खोरस्थित बायट रंगशालामा प्रस्तुति दिँदै कलाकार। तस्बिर: एपी

अनेकौं चुनौती पार गर्दै मध्यपूर्वी एसियाली राष्ट्रमा पहिलोपटक आयोजना भएको विश्वकप २०२२ सुरु भएको छ। आइतबार औपचारिक उद्घाटन कार्यक्रममा कतारका अमिर सेख तामिम विन हमाद अल–तानीले एक दशकभन्दा लामो समयको आलोचना पार गर्दै सुरु भएको विश्वकप २०२२ ले विश्वभर सभ्य संवादको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

‘विभिन्न राष्ट्रका मानिसहरू कतारमा जम्मा भएका छन्, जसको धर्म, भाषा र संस्कृति भिन्न छ तर फुटबलको भावनाले उनीहरूलाई एकै ठाउँमा उभ्याएको छ,’ अल तानीले भने, ‘आशा छ, प्रतियोगिताले विश्वभर सभ्य संवादको सन्देश प्रवाह गर्नेछ ।’

उनले सन् २०१० मा कतारले विश्वकप २०२२ को आयोजनाका लागि अधिकार पाएदेखि नै पश्चिमा राष्ट्रहरू कठोर बनेको र केही समयको अन्तरालमा खाडी मुलुकले समेत उनीहरूलाई नै साथ दिएको संकेत गरे।

उद्घाटन सत्रमा अल-तानीसँगै फिफा अध्यक्ष जियानी इन्फान्टिनो र साउदी अरेबियाका राजकुमार मोहम्मद विन सलमान उपस्थित थिए। विश्वकप २०२२ को सफल आयोजनासँगै कतारले आफूमाथि लाग्दै आएको भ्रष्टाचार र मानवअधिकार उल्लंघनको आरोप गलत प्रमाणित गर्न चाहेको छ।

अल बयात रंगशालामा सम्पन्न उद्घाटन सत्रमा हलिउड सुपरस्टार मोर्गान फ्रिम्यानले विविधतामा एकताको सन्देश प्रवाह हुने प्रस्तुति दिएका थिए, जहाँ कतारका अभियन्ता जियामिम अल मुफ्ता फ्रिम्यानसँगै स्टेजमा उपस्थित भएका थिए। त्यहाँबाट ‘सबैलाई स्वागत छ’ भन्ने सन्देश दिइएको थियो।

सुरुआती दिनमा विश्वकप आयोजनाका लागि आर्थिक अनियमितता गरेको, आप्रवासी कामदारप्रति कठोर व्यवहार गरेको भन्दै मानव अधिकारवादी संस्थाहरूले कतारलाई प्रदान गरिएको विश्वकप आयोजनाको अधिकार खोस्न दबाब दिएका थिए। तर फिफा आफ्नो अडानमा कायम रह्यो।

निरन्तर युरोपियन राष्ट्रहरूको दबाबमा परेको कतारमाथि आतंकवादलाई समर्थन गरेको भन्दै केही खाडी मुलुकले समेत कूटनीतिक प्रतिबन्ध लगाएका थिए। गत वर्ष मात्र साउदी अरेबिया, युएई, बहराइन र इजिप्टले कतारसँगको तीन वर्षदेखिको कूटनीतिक नाकाबन्दी अन्त्य भएको घोषणा गरेका थिए।

विश्वकपका लागि छनोटमा परेका केही राष्ट्रका पूर्वखेलाडीले कतारले मानवअधिकार उल्लंघन गरेको भन्दै खेल हेर्न नजाने  सार्वजनिक घोषणा गरेका थिए।

विश्वकपको पूर्वसन्ध्यामा केही राष्ट्रले ‘मानवअधिकारको उचित सम्मान गर’ भन्ने नारासहितको जर्सी प्रशिक्षण दौरान प्रयोग गर्नुपर्ने माग गरेका थिए। जसलाई फिफाले अस्वीकार गरिदिएको थियो। फिफाले सहभागी ३२ राष्ट्रलाई नै पत्राचार गर्दै राजनीतिक विषयमा भन्दा पनि फुटबलमा केन्द्रित हुन आग्रह गरेको थियो।

फिफाको आग्रहको सम्मानमा साबिकको विजेता फ्रान्सका कप्तान ह्युगो लोरिसले सबैलाई फुटबलमा मात्र केन्द्रित हुन र कतारले गरेको मानवअधिकार उल्लंघनको घटनालाई प्रतियोगितापछि उठाउन सकिने भन्दै त्यहाँको कानुन पूर्ण रूपमा पालना गर्ने बताएका थिए। शुक्रबार रंगशालामा मादक पदार्थ बिक्री तथा सेवनमा रोक लगाएपछि कतार पुनः विवादमा तानिएको थियो।  

प्रकाशित: ५ मंसिर २०७९ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App