रौतहटको गरुडा नगरपालिका ९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षकले छात्रालाई जिस्क्याए भन्दै विद्यालय तोडफोड गरिएको छ।
आइतबार शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्क्याए भन्दै विद्यालय तोडफोड गरिएको हो।
शिक्षक शाहलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजकुमार दास तत्माका अनुसार तोडफोडले विद्यालयमा रहेको मोटरसाइकलमा क्षति पुगेको छ।
शिक्षकले छात्राको जन्म दिनको अवसरमा ‘हैपी बथ डे मेरी जान’ लेखेर पठाएको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि आक्रमण गरेका थिए।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटेको टोली उक्त स्थानमा पुगेको थियो। प्रहरीले भिडलाई नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस पनि प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए।
अहिले घटनास्थलबाट सबै विद्यार्थी र शिक्षकलाई प्रहरीले घर पठाइसकेको र स्थिति सामान्य भएको डिएसपी कार्कीले बताए।
प्रकाशित: २९ असार २०८२ १२:४४ आइतबार





