३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

रौतहटमा ‘ड्रोन’ बाट वनक्षेत्रको निगरानी

पछिल्लो समय रौतहटको वनजङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जङ्गल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो ।

विगत तीन महिनादेखि सो क्षेत्रको वनजङ्गलमा ड्रोनबाट नै निगरानी गरिँदै आएको छ । ड्रोनबाट वनजङ्गलको निगरानी गर्न थालेपछि काठ, दाउरा, नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आएको सबडिभिजन वन कार्यालय जङ्गल सहियाका वन अधिकृत विनोद जेठराले बताए।

ड्रोनको सहायताले १० किलोमिटर वनक्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठूलो टेवा पुगेको वन अधिकृत जेठराको भनाइ रहेको छ । ड्रोनको प्रयोगले तस्कर पक्राउ गर्न पनि सहज भएको उनले बताए।  

ड्रोनका कारण धन्सारखोलाबाट हुने ढुङ्गागिट्टीको तस्करी पनि नियन्त्रणमा आएको जेठराले बताए। सो क्षेत्रका दाउराका नाममा सयौँ साइकलहरू जङ्गलमा गएर सालको लाथ्रा काटेर लाने गर्दै आएका थिए । ती दाउराहरू रौतहटका विभिन्न इँटाभट्टाहरूमा पुग्ने गरेका छन् ।

ड्रोनबाट रौतहटको जङ्गल सहिया, चोचा, धन्सार तथा गैडाटार वनक्षेत्रको निगरानी गरिरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। अहिले एउटा मात्र ड्रोनले निगरानी गरेको र आउँदो आर्थिक वर्षमा अरू पनि ड्रोन क्यामेरा माग गरेको उनले जानकारी दिए। ड्रोनबाट काठ तस्करी नियन्त्रण ढुङ्गागिट्टी तस्करी नियन्त्रण जस्तामा प्रभावकारी रहेको डिभिजन वन अधिकृत साहले बताए।

मधेश प्रदेशको कुल वन क्षेत्रको २५ प्रतिशत र नेपालको कुल वन क्षेत्रको ३ दशमलव ९६ प्रतिशत वन रौतहट जिल्लामा पर्ने जानकारी दिँदै प्रमुख वन अधिकृत साहले यसको संरक्षणका लागि कुनै कसुर बाँकी नराखेको बताए।  

रौतहटमा ३० हजार १७० हेक्टर वन क्षेत्र छ । जसमा सरकारद्वारा व्यवस्थित वन आठ हजार २३१ हेक्टर, तीनवटा साझेदारी वनद्वारा ११ हजार ९२७ हेक्टर, ब्लक फरेष्ट व्यवस्थापन एक हजार ५२ हेक्टर, ४३ वटा सामुदायिक वनद्वरा आठ हजार २५७ हेक्टर, चारवटा धार्मिक वनद्वारा ५१ हेक्टर र निजी वनद्वारा ६५६ हेक्टर वन क्षेत्रको संरक्षण गरिँदै आएको उनले जानकारी दिए।

चालु आर्थिक वर्षभित्र जिल्लाका विभिन्न स्थानका १२ हेक्टरभन्दा बढी जङ्गलको अतिक्रमण भूभाग क्षेत्र हटाई वृक्षरोपण गरेको उनले जानकारी दिए।

यसैबीच डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्षमा आठ लाख १८ हजार ७८ वटा विभिन्न जातको बिरुवा उत्पादन गरेको समेत वन अधिकृत साहले जानकारी दिए।  रासस

प्रकाशित: ३० असार २०८२ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App