४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

दुर्गा भगवती गाउँपालिकाले हटायो सबै ज्यालादार कर्मचारी

तस्बिर : दुर्गा भगवती गाउँपालिकाको नक्सा

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सबै ज्यालादारी तथा स्वयंसेवक कर्मचारी र कामदारलाई कामबाट हटाएको छ।

गाउँपालिकाको कार्यपालिका निर्णयअनुसार गाउँपालिका अन्तर्गतका विभिन्न शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालय र अस्पतालमा दैनिक ज्यालादारी, डोर हाजिरी, स्वयंसेवकका रूपमा कार्यरत कर्मचारी तथा कामदारलाई साउन १ गतेदेखि काममा हटाउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नीव कुमार श्रीवास्तवले जानकारी गराए।  

दैनिक ज्यालादारी तथा स्वयंसेवक कर्मचारीहरूको म्याद २०८२ असार मसान्तसँगै सकिने भएकोले कसैको लिखित वा मौखिक आदेशको आधारमा खटिएका गाउँपालिकाको कार्यपालिका, शिक्षा समिति, स्वास्थ्यकर्मी सबैलाई हटाउने निर्णय भएको कार्यालय प्रमुख श्रीवास्तवको भनाइ छ।  

कार्यपालिकाको निर्णयविपरीत कुनै शाखा, वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा कसैले कसैलाई खटाएको तथा काममा लगाएको पाइएमा सम्बन्धित संस्था तथा कार्यालयको प्रमुख नै व्यक्तिगत रूपमा जिम्मेवार हुने गाउँपालिकाको कार्यालयले जनाएको छ।  

गाउँपालिकाका कतिपय डोर कर्मचारी तथा दैनिक ज्यालादारीका कर्मचारी र मौखिक आदेशका भरमा कार्यालयहरूमा काम गर्ने कर्मचारीले सन्तोषजनक काम नगरेको गुनासो बढेपछि कार्यपालिकाले निर्णय गरेको हो। गाउँपालिकामा सयको संख्यामा यस प्रकृतिका कर्मचारीहरू भएको अनुमान गरिएको छ।  

तलबमा गाउँपालिकाको ठूलो रकम गएको तर सन्तोषजनक सेवा र सुविधा हुन नसकेको गुनासो बढेपछि कार्यपालिकाले निर्णय गरेको जनाएको छ। स्थानीयवासीले कार्यपालिकाको यो निर्णयलाई साहसी भनी प्रशंसा गरिरहेका छन्।

प्रकाशित: ३२ असार २०८२ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App