२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका अनुसार रु २० लाख बजेटमा जोमसोम-धार्काजुङसम्मको करिब आठ किलोमिटर लम्बाइको साइकल ट्रेल निर्माण गरिएको हो।

मुस्ताङको पर्यटन विकास, पर्यटन प्रवर्द्धनका साथै पर्यटकको बसाइँ लम्ब्याउनका लागि साइकल ट्रेल निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेलले जानकारी दिए।

साविकको पुरानो बाटोको स्तरोन्नति र नयाँ दुई किमी सडकमा ट्रयाक ओपन गरी ट्रेल निर्माण गरिएको हो। ट्रेल निर्माणका लागि सुक्खावाल, ग्याविन वालका साथै जोमसोम–धार्काजुङ ट्रेलमा दुई वटा फलामे पुल बनाइएको छ।

साहसिक पर्वतीय हाइअल्टिच्युड साइकल ट्रेल निर्माणसँगै यहाँ साइक्लिङ गर्न आउने पर्यटकले जोमसोम–कागबेनी सडकमार्ग प्रयोग नगरी धार्काजुङ हुँदै मुस्ताङ–डोल्पासम्मको छोटो यात्रा गर्न सक्ने छन्।

'समुन्द्री सतहको करिब चार हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल ट्रेल गर्ने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र पर्वतीय उच्च उचाइमा बेग्लै अनुभव गर्न सक्ने छन्,' पौडेलले भने। उनका अनुसार ढल्केडाँडा पुग्ने पर्यटकले उपल्लो मुस्ताङ, नेपाल–चीन सिमाना, तल्लो मुस्ताङ र मध्य मुस्ताङको विभिन्न क्षेत्रको दृष्यावलोकन गर्न सक्ने छन्।

साइकल ट्रेलमा यात्रा गर्नेले ढल्केडाँडाबाट नीलगिरि र धौलागिरि हिमाल, कालीगण्डकी करिडोर, स्याउ बगैँचा र जोमसोलगायत बस्ती पनि हेर्न सक्ने छन्। रासस

प्रकाशित: १ श्रावण २०८२ २०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App