९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

तिहारमा फुल र माला नपाएपछि निराश हुँदै रित्तो हात फर्किए ग्राहक

देशका धैरै जसो ठाउँमा तिहारको अघिल्लो दिनमै फूल सकिएपछि ग्राहक निराश बनेका छन्। कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ। यस्तै कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ।

टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए। 'घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो', उनले भने, 'डेढ विघामा खेती गरेको छु। उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो।'

४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लगेका छन्। सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यवसायिक खेती गरेका छन्। तिहारमा बजारमा फुलका माला तिहारको दुई दिनमै सकिएका ब्यापारीहरु बताउँछन्।

जानकी गाउँपालिका ४ कि समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आइन्। मखमली फुलका माला किन्न आएकी समिरा माला नपाएपछि रित्तो हात फर्किन्। 'मखमली फुलका माला लगाउने हाम्रो चलन, बजारमा तयार पाइन्छन् भनेर ढुक्क भए, यहाँ त सकिएका रहेछन्', उनले भनिन्, 'फुलका माला नपाएपछि प्लाष्टिकका माला लिएर जादैछु। के गर्नु प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ।'

टीकापुर ३ कि रमिता विकले पनि बजारमा माला पाइनन्। उहाँ पनि माला किन्न बजारसम्म पुगेकी थिइन्। 'माला नपाएपछि गाउँमै फुल खोज्न थालेकी छु', उनले भनिन्, 'विगतमा गाउँमा फालाफाल फुल हुन्थे, घरघरमा फुल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फुल पाउन कठिन छ।'

कैलालीमा फुल खेतीका लागि जग्गा अभाव छैन। हरेक नागरिकका घर २/४ कठ्ठा जमीनमा छन्। एक कठ्ठा जग्गा नभएका निकै कम छन्। यसरी घर वरिपरि जग्गा हुँदा पनि मानिस २ बोट फुल रोप्दैनन्। घरमै फुल रोपेको भए आज फुल र माला अभाव नहुने जेष्ठ नागरिक धौली न्यौपाने बताउँछन्।

'हाम्रा पालामा घर वरिपरि फुलैफुल हुन्थे, कहिल्यै माला, फुल खोज्न, किन्न परेन', उनी भन्छन्, 'हामी फुलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फुल बजार गएर किन्छन्। मानिस कति अल्छी भएका हुन्।'

तिहार सौन्दर्यताको पर्व पनि हो। तिहारमा झिलिमिली बनाउने, घर आँगन रंगाउने, पूजाआजा गर्ने गरिन्छ। यसबेला अन्य समयभन्दा बढी फुल प्रयोग गरिन्छ। बजारमा माला र फुल अभिाव भएपछि प्लाष्टिकका मालाको ब्यापार पनि राम्रो भएको छ। ब्यापारी शिव चौधरी फुलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका माला किन्न आएका बताए।

संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिना हरेक मानिसले घरघरमै फुलबारी बनाउन आवश्यक रहेको बताउँछन्। 'घरमा थोरै भए पनि फुलबारी चाहिन्छ, फुलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्', उनी भन्छन्, 'घरघरमै २/४ बोट फुल लगाएका भए अहिले अभाव हुने थिएन। वरिपरि जग्गा भएर पनि फुल किन्ने हामी नेपालीको बानी अनौँठो छ। यहाँको फुल सकिएपछि भारतबाट आएको फुल बिक्री भएको छ।'

प्रकाशित: १० कार्तिक २०७९ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App