२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

जलमग्न धनगढी

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी डुबानमा परेको छ। डुबानले मुख्य बजारलगायत बस्तीहरू जलमग्न भएका छन्। सामान्य वर्षामा पनि नगरवासीले डुबानको सास्ती झेल्नुपरेको अवस्थामा लगातारको वर्षाले झनै कष्टकर बनेको छ यहाँको जनजीवन। घर र पसलभित्र पानी पसेर सामान नष्ट हुनुका साथै स्थानीयले केही दिन विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ।  

अविरल वर्षाले धनगढी जलमग्न भएर यहाँका बासिन्दाको बेहाल भएको छ। धनगढी डुबानको मुख्य कारण उत्तरतिरबाट दक्षिततर्फ बग्ने आधा दर्जन खोलानाला अतिक्रमण भएको स्थानीय बताउँछन्। यी खोलानाला अतिक्रमण गरेर संरचना निर्माण भएकाले खोलाको पानी थुनिएर बस्ती र नगर डुबानमा पर्ने गरेको हो। तीन दशकअघिसम्म खोला रहेको रातो पुलको अहिले नामोनिसान छैन। ठूलो नाला रहेको रातोपुल नाला अतिक्रमण चपेटामा परेको हो। नाला अतिक्रमण गरेर घर निर्माण गरिएपछि पछिल्लो समयमा रातोपुल, सन्तोषीटोल, बैयाबेहडी, उत्तरबेहडी र रातोपुल क्षेत्र डुबानमा पर्ने गरेको स्थानीय सहवीर चौधरीले बताए। ‘पहिले ठूलो नाला थियो,’ उनले भने, ‘हरेक वर्ष साँघुरिँदै अहिले नाला नै नामेट भइसक्यो।’  

यसैगरी धनगढीकै कैलाली पुलमा ७५ प्रतिशत नाला अतिक्रमण भई संरचना बनिसकेको छ। पुलको आधा बढी भागमा संरचना बनेका छन्। कैलाली नालामा अतिक्रमण हुँदा तारानगर र उत्तरबेहडी डुबानमा पर्ने गरेको हो। जिल्ला प्रहरी कार्यालयनजिकै भएर बग्ने नाला पनि वर्षौंदेखि अतिक्रमणमा परेको छ। धनगढीकै सेतोपुल नाला पनि अतिक्रमण हुँदा शिवनगर, क्याम्पसरोड, गाउँधनगढी, नवदुर्गाटोल डुबानमा पर्ने गरेका छन्। वर्षौंअघिसम्म यी क्षेत्रमा डुबान नहुने भए पनि पछिल्ला वर्षमा घरभित्रै पानी पस्न थालेको स्थानीय बताउँछन्। घरभित्र पानी पस्नुको मुख्य कारण चौडा रहेको नाला पछिल्लो समय अतिक्रमण भएकाले हो। अढाई दशकपहिला खोलानाला रहेको जमिन अतिक्रमण गरेर नगरविकास समितिका पदाधिकारी, राजनीतिक दलका केही नेता, नापी र मालपोतका कर्मचारीको संलग्नतामा व्यक्तिका नाममा लालपुर्जा बनाइसकेका छन्। नालाको जमिन व्यक्तिले लालपुर्जा बनाई संरचना निर्माण गरेपछि पछिल्ला दिनमा धनगढी डुबानमा पर्ने गरेको नागरिक समाजका अगुवा हरि रेग्मीले बताए।

थोरै वर्षाले धनगढी उप–महानगरपालिकाका विभिन्न भू–भाग डुबानमा पर्ने गरेका छन्। वर्षाले सबैभन्दा बढी धनगढीको चटकपुर, मिलनचोक, शिवनगर, विशालनगर, उत्तरबेहडी, तारानगर, एलएनचौक क्षेत्र डुबानमा पर्ने गरेका छन्। यी ठाउँमा पानीको सहज निकास नहुँदा डुबान हुने गरेको हो। यस्तै ६ लेन सडक अग्लो भएपछि धनगढीको विशालनगर क्षेत्रको पानी बग्न नपाउँदा सो क्षेत्र डुबानमा पर्ने गरेको छ। ६ लेन सडक अग्लो भएकाले होचा स्थानमा पानी जमेर विशालनगर, चौराहपछाडिको भाग, विद्युत् क्षेत्र, र रिङरोडआपासको बस्ती डुबानमा परेको छ।  

प्रकाशित: २३ आश्विन २०७९ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App