१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटका दुई नगर प्रमुखले लिए 'नवरात्रा व्रत'

रौतहटका दुई नगर प्रमुखहरु नवरात्रा व्रत बसेका छन्। घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म फलाहार बसेर विधिपूर्वक मूल यज्ञकर्ताको रुपमा पूजा गर्नेहरुले नवरात्रा बस्ने गर्दछन्।

रौतहटको गढीमाई र गरुडा नगरपालिकाका नगर प्रमुखहरु सार्वजनिक पूजामा नवरात्रा बसेका हुन्। गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार सार्वजनिक दुर्गापूजामा नवरात्रा बसेका हुन्।

गढीमाई नगर प्रमुख यादव छैटौँपटक नवरात्रा व्रत बसेका हुन्। प्रथम कार्यकालको लागि निर्वाचित भएदेखि लगातार हरेक वर्ष नवरात्रा व्रत गर्दै आएका नगर प्रमुख यादवले यस वर्ष पनि व्रत बसेका हुन्। गढीमाई ९ मलाही बजारमा सार्वजनिक दुर्गा प्रतिमा बनाएर नगर प्रमुख यादवले नवरात्राको अवधिभर विधिपूर्वक बिहान र बेलुकी पूजा तथा आरती गर्ने गर्दछन्।

यसै गरी गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले पनि हरेक वर्ष नवरात्रा व्रत बस्ने गरेका छन्। गरुडा बजारमै रहेको प्रसिद्ध दुर्गा मन्दिरमा हरेक वर्ष विधिपूर्वक घटस्थापना गरी नगर प्रमुख कलवारले मूलपूजा गर्दै आएका छन्। गत वैशाखमा नगर प्रमुखमा निर्वाचित कलवार विगत सात वर्षदेखि नवरात्रा व्रत गर्दै आएका हुन्।

नवरात्रा व्रत गर्ने व्रतालुले बिहान र साँझ पूजा तथा आरती गरेपछि फलाहार भोजन गर्ने चलन छ। नून नखाने र कुनै पनि अन्न नखाने चलन रहेको नवरात्राभर पूजा तथा अर्चनामा ध्यान दिनुपर्ने परम्परा रहेको छ।  

रौतहटको सबै बजार तथा सहरमा भव्यतापूर्वक नवरात्रा धार्मिक विधिअनुसार मनाइने गरिन्छ। नवरात्रासँगै दुर्गापूजा मेला भव्यतापूर्वक लगाइने चलन छ। नवरात्रा हुने ठाउँमा सर्वसाधारणले स्वतः माछा मासु खरिद बिक्री तथा सेवन रोक्दछन्।

रौतहटको गरुडामा पहिलोचोटि घटस्थापनादेखि फुलपातीसम्म माछा र मासु बिक्रीमा नगरपालिकाले रोक लगाएको थियो।

प्रकाशित: १६ आश्विन २०७९ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App