१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दशैँको मौका छोपेर भारतबाट सामान तस्करी

बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरीस्थित नेपाल–भारत अवैध नाकामा तस्करसँग सशस्त्र प्रहरी।

शुक्रबार अपरान्ह ४ः३० बजे। सशस्त्र प्रहरीका एक जना सुरक्षाकर्मी सिमानाकामै ड्युटी बसेका छन्। सिमापारी भारततर्फबाट साईकलमा अबैध सामान ल्याएको एउटा हुल एकैछिनमा आइपुग्छ। सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले सिमापारी झाडीमा सामान लुकाउँछन्।

त्यसपछि सशस्त्र प्रहरी कहाँ आएर सामान पास गराउन बार्गेनिङ सुरु गर्छन्। सशस्त्र प्रहरी र तस्करबीच केहीबेरसम्म पैसामा बार्गेनिङ चल्छ। त्यसपछि सशस्त्र प्रहरीले वरपरको ‘साईड क्लियर’ गर्छन् र तस्करीलाई सामानसहित नेपाल प्रवेश गर्न अनुमति दिन्छन्।

यो दृश्य थियो, शुक्रबार बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरीस्थित नेपाल–भारत अवैध नाकाको। यहाँका स्थानीय बासिन्दाका अनुसार उक्त नाकाबाट यसरी नै दैनिक रुपमा सशस्त्र प्रहरीकै सेटिङमा बिना भन्सार कराडौंको सामान नेपाल भित्रिन्छ। स्थानीयका अनुसार उक्त नाकामा सशस्त्र प्रहरीले मात्र आफ्ना कर्मचारीलाई ड्युटीमा खटाउने गरेको छ।

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्। ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन्। दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ।

यो त एउटा उदाहरण मात्र हो। शिवपुरी नाका जस्तै जिल्लाका विभिन्न अवैध नाकाबाट पनि भन्सार छलेर सामान तस्करी हुने गरेको छ। नेपाल–भारत सिमा नाकाबाट सामान तस्करी भइरहँदा पनि रोकिएको छैन। अधिकांश स्थानमा सिमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीले नै तस्करलाई पहरा दिने गरेको स्थानीयको भनाइ छ। सरकारले सिमा र भन्सार सुरक्षा गस्ती गर्न सशस्त्र प्रहरीलाई खटाएको छ।

तर, बाँकेका सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले नै तस्करीलाई मलजल गरिरहेको स्थानीय बताउँछन्। ‘सिमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी कै मिलेमतोमा खुलेआम सामान तस्करी भइरहेको छ, तस्करी रोक्ने अब कस्ले?’ हिरमिनियाका एक स्थानीयले भने। सशस्त्र प्रहरीले नेपाल–भारत जमुनाहा नाकामा मात्र नभएर अन्य थुप्रै अवैध नाकाबाट दिनहुँजसो नेपालतर्फ सामान भित्र्याउन तस्करलाई सहयोग गरिरहेको प्रत्यक्षदर्शी बताउँछन्।

तस्करसँग सेटिङ मिलाएर सशस्त्र प्रहरीका उच्च अधिकारीको मिलेमतोमा सामान निर्वाध रुपमा भित्रिरहेको प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ। त्यसरी सामान सप्लाई गरिदिए वापत सशस्त्र प्रहरीका जुनियरदेखी सिनियर अधिकारीलाई तस्करले मासिक रुपमा रकम बुझाउने गरेको स्रोतले जानकारी दियो।

‘सरकारले विश्वास गरेर सुरक्षा गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ, तर यिनीहरु नै इमान्दार भएनन्, जसले गर्दा राज्यलाई करोडौंको राजश्व घाटा भइरहेको छ,’ स्थानीय भन्छन्। सिमा क्षेत्रमा तस्करी बढिरहँदा सुरक्षा अधिकारीहरु भने आरोप अस्वीकार गर्छन्। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) जनकराज बस्नेत तस्करी नभएको, बरु रोकिएको दाबी गर्छन्।

सिमापारी भारतीय बजारबाट मालबाहक सवारी साधन, साइकल, मोटरसाइकल, अटोरिक्सा, लगायत सवारी साधनमार्फत तस्करले खाद्यान्न, लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान, मोटर पार्ट्स लगायत भन्सार छलेर भित्र्याउने गर्छन्। ‘सुरक्षाकर्मीले नै पहरा दिएर तस्करहरुको सामान नेपालतर्फ प्रवेश गराउँछन्, कहिले काही बार्गेनिङ नमिलेपछि सामान बरामद गरेको भनि प्रचार गर्छन्,’ स्थानीयले भने।

प्रकाशित: १४ आश्विन २०७९ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App