नेपालमा पनि बर्सेनि मुटुरोगीको संख्या बढ्दै छ । उनीहरू सबै चिकित्सकले सुझाएको अवधिभित्र अस्पताल पुग्न सक्ने सुविधामा छन् त ?
'छैनन्,' धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू भन्छन्, 'मुस्किलले १० प्रतिशत जनसंख्या मात्र उपचार पहुँचमा होलान् ।'
विश्वमै मृत्युको पहिलो कारण बनिसकेको मुटुरोग नेपालमा अधिकको ज्यान लिने सूचीमा छैटौं नम्बरमा पर्छ । यसैलाई ध्यानमा राखी चिकित्सक र पूर्वाधार थपिए पनि उनीहरू पूरै सहरकेन्द्रित हुँदा दूरदराजका पीडित तीव्र जोखिममा छन् ।
विशेषज्ञका अनुसार हृदयघात भएको अवस्थामा जति छिटो उपचार थाल्यो, मुटुको मसलमा हुने क्षति उति कम गर्न सकिन्छ । पीडितको ज्यान जोगाउन सजिलो पर्ने यो अवधिलाई चिकित्सक 'सुनौलो क्षण' का रूपमा लिन्छन् । तर, अधिकांश नेपाली मुटुमा आक्रमणपछि आधा वा एक घन्टामै सुविधासम्पन्न अस्पताल पुग्न सक्ने स्थानमा छैनन् ।
मुटुरोग उपचार क्षेत्रमा विकास भएका प्रविधि र ज्ञान आदानप्रदानका लागि शनिबार धुलिखेलमा ७० भन्दा बढी विशेषज्ञ जम्मा भए । गाउँप्रेमी चिकित्सकको छवि बनाएका काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूले प्रश्न तेस्र्याए, '१० प्रतिशत जनसंख्या (उपत्यकावासी) का लागि ९० प्रतिशत विशेषज्ञ र सेवासुविधा छ, यही हो त हामी चिकित्सकको धर्म ?'
विश्व स्वास्थ्य संगठनको ग्लोबल बर्डेन अफ डिजिजसम्बन्धी रिपोर्टअनुसार मुटुरोगको जोखिम विश्वमै पहिलो स्थानमा । नेपालमा सन् १९९० सम्म जोखिमको १७औं नम्बर सूचीमा रहेको मुटुरोग सन् २०१० यता छैटौं स्थानमा दर्ज छ ।
सामुदायिक प्रयासमा धुलिखेलमा नमुना संस्था बनाएका नामी चिकित्सक डा. माकजूले 'कलर, कल्चर र इनकम' का आधारमा सेवाकेन्द्रित हुन नहुने विचार राख्दा त्यहाँ उपस्थित युवा चिकित्सक तरंगित त भए । तर, चिकित्सकहरू सहरकेन्द्रित हुने प्रवृत्तिले मुटुरोग उपचारमा रहेको असन्तुलित तथ्यांक र पेरिफेरीमा भएका साना प्रयासमै चित्त बुझाउनुपरेको छ । कोरिया र जापानबाट आएका वरिष्ठ चिकित्सकले मुटुरोग उपचारमा भएका प्रयासबारे मीठा सपना देखाइरहे पनि यहाँको सुस्त गति तथ्यांकले बोलिरहेकै थियो ।
चिकित्सक कोजूका अनुसार मुटुरोगका प्रमुख कारण मानिएका उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह, मोटोपनको समस्या ग्रामीण क्षेत्रमा समेत बढ्दै छ । उपत्यकाबाहिर धरान, विराटनगर, चितवन, पोखरामा मात्र उपचारसेवा छ । भैरहवा र वीरगन्जमा सेवा सुरु गरे पनि निरन्तरता छैन । सिंगो पश्चिम नेपालको उपचारकेन्द्रका रूपमा हेरिने नेपालगन्जमा अहिलेसम्म मुटुरोग उपचार सुरु भएको छैन ।
मुटुमा आउने आकस्मिक समस्या पहिचान गर्ने पद्धति एन्जियोग्राम र त्यसलाई हटाउने विधि एन्जियोप्लास्टी हो । उपत्यकाबाहिरका अधिकांश ठाउँमा यस्ता सेवा चिकित्सकको उपलब्धता हेरेर मात्र छ । एन्जियोप्लास्टी आवश्यक पर्दा बिरामी आइपुग्नासाथ सेवा दिने व्यवस्था (पिपिसिआई) भने उपत्यकाबाहिर धुलिखेलमा मात्र छ, त्यो पनि दिउँसो मात्रै । उपत्यकामा पनि गंगालाल, मनमोहन कार्डियोथोरासिस सेन्टर र निजीमा नर्भिकमा मात्र छ । मुटु उपचारमा कहलिएका निजी क्षेत्रका ग्रान्डी र वयोधामा पनि न्यून जनशक्ति मात्र भएकाले चौबीसै घन्टा सम्भव छैन ।
मुटुको जाँच तथा उपचारका लागि अत्यावश्यक क्याथल्याब देशभर १२ ठाउँमा मात्र रहेकोमा ६ वटा उपत्यकामै छन् । बाँकी ६ वटा धुलिखेल, चितवन, विराटनगर, धरान र पोखरामा छन् ।
मुटुमा भल्ब राख्ने, जन्मजात हुने प्वाल टाल्न गरिने जटिलखाले शल्यक्रियाको सुविधा गंगालाल र मनमोहनमा मात्र नियमित उपलब्ध हुन्छ । नर्भिक र ग्रान्डीले कहिलेकहिले मात्र यस्ता शल्यक्रिया गर्छन्, धुलिखेलमा भर्खरै सुरु भएको छ । चितवनमा दुई मेडिकल कलेजले काठमाडौंबाट चिकित्सक बोलाएर शल्यक्रिया गराउँछन् ।
विशेषज्ञ उपलब्धताका आधारमा यो अवस्था अझै भयावह छ । कार्डियाक सोसाइटी अफ नेपालमा हालसम्म १ सय ४० विशेषज्ञ (मुटुरोग विशेष र सर्जन) सहित दर्ता छन् । जसमा ११ जना मात्र सर्जन छन् । सर्जन सबै काठमाडांैमै छन् ।
मुटुरोग विशेषज्ञमध्ये चितवनमा डा. श्यामराज रेग्मी, डा. लक्ष्मण दुवे, विराटनगरमा डा. निकेश श्रेष्ठ, डा. राजेश नेपाल छन् । चितवन र पोखराका भारतीय लगानीका मेडिकल कलेजमा भारतीय नै चिकित्सक छन् । तीबाहेक धरानमा एक चिकित्सक छन् ।
डा. कोजुका अनुसार नेपालमा चिकित्सकको उपलब्धताका आधारमा हेर्दा मुटुरोगी अवस्था भयावह छ । मुटुरोगको प्रमुख कारण मानिने उच्च रक्तचाप एक तिहाइ वयष्क नेपालीमा छ । तीमध्ये एक तिहाइको मात्र रक्तचाप नियन्त्रणमा छ । त्यसै गरी एक तिहाइ वयष्क नेपालीमा कोलेस्टोरल, त्यति नै संख्यामा मोटोपन तथा बढी तौलको समस्या, ४० प्रतिशतमा धूमपान लत र ६ प्रतिशतमा सुगर छ । 'यी सबै मुटुरोगका कारक हुन्,' डा. कोजुले थपे, 'यस आधारमा मृत्युको जोखिम पालेर बसेका नेपालीका सहारा छैनन् भने पनि हुन्छ ।'
सोसाइटीका अध्यक्ष डा.यादवदेव भट्टले सेवा विस्तार नहुनुको कारण जनशक्ति अभाव मात्र नरहेको बताए । 'क्याथल्याब र पूरै टिम नभई विशेषज्ञले मात्र केही गर्न सक्दैनन्,' उनले भने । चिकित्सकका अनुसार एउटा क्याथल्याब बनाउन कम्तीमा ५ करोड खर्च हुन्छ । 'निजी क्षेत्रले महँगो पूर्वाधार बनाएपछि त्यसैअनुसार फाइदा खोज्छ,' डा. कोजुले भने, 'यसलाई सहज पार्न सरकारी प्रयास र लगानी जरुरी छ ।'
सबैभन्दा ठूलो सरकारी अस्पताल वीरमा स्थापित क्याथल्याब प्रयोगमै छैन । त्यसबाहेक सरकारीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्र क्याथल्याब छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत पछिल्लो समय १२ जना मुटुरोग विशेषज्ञको दरबन्दी रहेकामा ४ काठमाडौंमा र पाँच काठमाडौंबाहिर सहरी क्षेत्रमा छन् ।
एकातिर प्राप्त उपचारलाई गुणस्तरीय बनाउनु र अर्कातिर सेवाको पहुँच बढाउनुपर्ने चुनौतीबीच विशेषज्ञले शुक्रबार र शनिबार धुलिखेलमा जम्मा भएर 'कार्डियाक कन्फरेन्स एन्ड इन्टरभेन्सनल सर्जिकल वर्कसप' गरे । वरिष्ठ मुटुरोग विशेषज्ञसहित रेजिडेन्टलगायत चिकित्सा विषयका विद्यार्थीसमेत उपस्थित रहेको सम्मेलनमा मुटुरोग उपचारका क्षेत्रमा विकास भएका प्रविधि र पद्धतिबारे नेपालसहित कोरिया, जापानलगायत देशका विशेषज्ञले अनुभव र प्रस्तुति राखेका थिए । सम्मेलनको पहिलो दिन विभिन्न जिल्लामा कार्यरत चिकित्सकलाई मुटुरोगका विभिन्न 'प्रस्युजिअर' सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको थियो।
प्रकाशित: १९ वैशाख २०७३ १९:०० आइतबार