६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विद्यालय, खानेपानी संस्था र सडक डेकेन्द्रको नामबाट राख्न माग

पत्रकार डेकेन्द्रराज थापाको शालिकमा माल्यार्पण गर्दै पत्रकारहरु।

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १८ वर्ष पुगेको छ। साउन २७ गते हत्या भएको दिनलाई दैलेखका पत्रकारहरु स्मृतिमा विभिन्न कार्यक्रम गरिएको हो।  

नेपाल पत्रकार महासंघ दैलेखको आयोजनामा सदरमुकाम बीच बजारमा रहेको डेकेन्द्र चोकमा शुक्रबार बिहान माल्यापर्ण कार्यक्रम गरिएको थियो। त्यस्तै उनको सम्झनामा  दैलेखको समृद्धि र सञ्चार विषयक अन्र्तक्रिया गरिएको छ। साँझमा डेकेन्द्रराज थापाको सम्झनामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। 

दैलेख सदरमुकाममा वितरण हुने खानेपानी ५२ दिनसम्म माओवादीले अवरुद्ध गरेपछि वार्ताका लागि पुगेका पत्रकार थापालाई अपहरणपछि माओवादीले हत्या गरेका थिए। जनतालाई पानी खुवाउने वचन दिएर माओवादीसँग वार्ता गर्न हिँडेका पत्रकार थापाको हत्या भएका कारण दैलेखमा वितरण भएको खानेपानी संस्था, हत्या गरिएको विद्यालय र नौमुले दैलेख सडक खण्डको पत्रकार डेकेन्द्रको नामबाट नामाकरण गर्नुपर्ने स्थानीयहरुले बताएका छन्। साझा रुपमा पत्रकार डेकेन्द्रराज थापाको नाममा विद्यालय, खानेपानी संस्था र सडकको नामाकरण हुनुपर्ने पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए। कार्यक्रममा दैलेख क्षेत्र नम्बर १ का संघीय सांसद रविन्द्रराज शर्मा, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुखहरु, जिल्लास्थित सरकारी, गैरसरकारी कार्यालयका प्रमुखहरु, पत्रकारहरुले डेकेन्द्रराज थापाले आफ्नो ज्यान गुमाएर दिएको योगदान सम्झनुपर्ने बताए।  

०६९ पौष २० गते ५ जना आरोपीलाई पहिलो पटक दैलेख प्रहरीले  पक्राउ गरेर कानुनी प्रकृया थालेको थियो। पत्रकार डेकेन्द्रराज थापा हत्या कसुरमा अदातलले ती आरोपितहरु पक्राउ परेपछि मुद्दा प्रकृया अघि बढ्ने गरि मुल्तबीमा राखिएको छ। हत्यामा संलग्नहरुले कानुनी सजाय भोगीसकेका छन्। मुख्य अभियुक्त बमबहादुर खड्का (मुक्ती) पक्रन बाँकी रहेको छ। तत्कालिन सशस्त्र माओवादी कार्यकर्ताले ०६१ साउन २७ गते नौमुले गाउँपालिका तत्कालिन द्धारी गाविस १ मा कुटपिट गरी जिउँदै खाल्डोमा पुरेर हत्या गरेका थिए। पत्रकार थापाको शव ४ वर्षपछि उत्खनन् गरी परिवारले दाहसंस्कार गरेका थिए।

प्रकाशित: २७ श्रावण २०७९ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App