४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

फोहोर बोकेका गाडी तोडफोड व्यवस्थापनमा थप अन्योल

बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ। राजधानीको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा जाँदै गरेका गाडी तोडफोड गरिएको हो।  

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोकेका गाडी तोडफोड गरेर समस्या थप जटिल बनाउन खोजेको देखिएको बताएका छन्। उनले गाडी पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड हुनु फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिने षड्यन्त्र भएको जनाएका छन्। ‘फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौं,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौं नागरिक तथा २१ वटा पालिकाको फोहोर अव्यवस्थित र असरल्ल पार्न सकिँदैन।’  

उनले फोहोर बोक्ने गाडी तोडफोड गर्नु जघन्य अपराध भएको उल्लेख गर्दै कानुनबमोजिम दोषीलाई कडाभन्दा कडा कारबाही गरिनेसमेत बताएका छन्।  

काठमाडौं महानगरपालिका नगर प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले सोमबार राति १४ वटा फोहोरका गाडी, दुईवटा डोजर र एउटा स्काभेटर तोडफोड भएको जानकारी दिए। उनका अनुसार तोडफोड गर्ने समूह पत्ता नलागेको र खोजीका लागि सुरक्षा निकायलाई पत्राचार गरिएको छ।  

राजधानीमा थुप्रिएको फोहोरको अवस्थाबारे मंगलबार संसद्मा समेत आवाज उठेको छ। नेकपा एकीकृत समाजवादीकी सांसद निरादेवी जैरुलले काठमाडौंको फोहोर व्यवस्थापन हुन नसके बस्न नसक्ने अवस्था आउने बताइन्। फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारका सम्बन्धित मन्त्रालयले पनि जिम्मेवारी लिनुपर्ने उनले बताइन्। ‘फोहोर व्यवस्थापनको जिम्मा मेयरलाई मात्र दिएर हुन्छ ? संसद्मा उनले भनिन्, ‘संघका सम्बन्धित मन्त्रालय बसेर समस्याको समाधान यथाशीघ्र गरिएन भने फोहोर कोरोनाभन्दा ठूलो समस्या भएर निस्किने डर छ।’

सहरी विकास मन्त्रालयका सहसचिव तथा बन्चरे डाँडा आयोजनाका प्रमुख रवीन्द्र बोहरा महानगरको लापरबाहीका कारण समस्या थपिएको सुनाउँछन्। ‘हाम्रो मन्त्रालयले आफ्नो तर्फबाट पूर्वाधार निर्माणको काम गरिरहेको छ,’ उनले भने, ‘महानगरले फोहोर विसर्जनपछि उक्त स्थानमा गर्नुपर्ने काममा केही लापरबाही देखिएको छ।’ महानगरको यही लापरबाहीका कारण विभिन्न समूहले फेरि चलखेल गर्ने मौका पाएको उनको बुझाइ छ। विसर्जनपछि गन्ध नआओस् भनेर स्प्रे गर्ने, सडकमा फोहोर खस्न नदिनेलगायत वाचाबाट महानगर चुकेको उनले बताए।  

जस्तोसुकै समस्या पनि वार्ताबाट समाधान हुने भएकाले सरोकारवाला टेबुलमा बस्नुपर्नेमा उनले जोड दिए। ‘त्यहाँ फोहोरको विषयमा श्रीराम ढुंगानालगायतका विभिन्न समूह छन्,’ उनले भने, ‘पछिल्लो तोडफोडको घटनाचाहिँ ढुंगाना समूहभन्दा फरकले गरेको हो।’ अबको समस्या समाधान महानगर, नेपाल सरकार ‐गृह मन्त्रालय) र तोडफोड गर्ने समूहबीचको वार्ताबाट हुनुपर्ने उनले सुनाए।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर वर्षाको समय भएकाले उक्त ठाउँ सोचे जति सफा गर्न नसकिएको स्विकार्छन्। ‘पानी मिसिएकाले लैजाँदै गर्दा बाटोमा केही खस्ने पनि गरेको छ,’ उनले भने, ‘त्यसलाई पखाल्ने योजना पनि हामीले बनाएका थियौं।’ तर आक्रोशित समूहले एक्कासि आक्रमण गरेकाले समस्या बल्झेको उनले सुनाए।  

बारम्बार उक्त ठाउँमा समस्या आएकाले विकल्प खोज्नुपर्ने उनी बताउँछन्। जनप्रतिनिधिसँग वार्ता गरेर काम अगाडि बढाइरहेको समयमा विभिन्न समूह आएर अवरोध गर्न थालेपछि विकल्प खोज्न जरुरी भएको मानन्धर बताउँछन्।  

महानगरले पर्याप्त तयारी नगरीकनै राजधानीको फोहोर राजधानीमै व्यवस्थापन गर्ने भनेकाले पनि समस्या आएको कतिपयको बुझाइ छ। बन्चरेडाँडाका स्थानीयसँग गरेका वाचा पूरा नहुनु र महानगरले आफैं फोहोर व्यवस्थापन गर्ने भनेकाले विश्वासको वातावरण बिग्रेको संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना बताउँछन्। ‘एकातिर हाम्रो माग पूरा गर्न ढिलाइ भइरहेको छ, अर्कोतिर राजधानीमै व्यवस्थापन गर्ने कुरा आइरहेको छ,’ उनले भने, ‘महानगरको दुईथरी कुराले हाम्रा माग पूरा नहोलान् भन्ने शंका पैदा गराएको छ।’  

संघर्ष समितिका संयोजक ढुंगानाले सोमबारको तोडफोडमा आफ्नो पक्षको संलग्नता नरहेको बताएका छन्। महानगरले आफ्नो वाचा पूरा नगरेकाले आफूहरूले भदौ १ गतेदेखि शान्तिपूर्ण बन्दको आयोजना गर्दै फोहार फाल्न नदिने निर्णय गरेको उनले सुनाए। ‘हामीले यसअघि नै भदौ १ गतेदेखि फोेहोर फाल्न नदिने भनेका छौं,’ उनले भने, ‘अन्तिम समयसम्म समाधान निस्कनेमा आशावादी छौं।’ 

प्रकाशित: २५ श्रावण २०७९ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App