५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

के मा प्रयोग हुन्छ करोडौँका यी भवन !

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीमा निर्माण भएको सुविधा सम्पन्न भवन। तस्बिर : नरहरि/नागरिक

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीमा करिब १५ करोड लगानीमा तीनवटा ठुला भवन निर्माण भएको छ।छ रोपनी ११ आना जग्गामा श्याम सुन्दर निर्माण सेवाले भवन निर्माण गरेको हो। भवन निर्माण अन्तिम चरणमा पुगेकाे बेला ति भवन केमा प्रयोग हुन्छ भन्ने अन्यौल छ।  

‘काम ९० प्रतिशत सकिएको छ, निर्माण अन्तिम चरणमा छ’ शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई कास्कीका सव इन्जिनियर पुरुषोत्तम पङ्गेनीले भने ‘करिब एक करोडको मात्रै काम बाँकी छ।’  

निर्माण कम्पनीले यस अघि पटक पटक थप गरेको म्याद आउँदो भदौ मसान्तसम्म बाँकी छ। त्यसपछि पनि कम्पनीले थप्न चाहेको खण्डमा खरिद नियमावलीको १२ औँ शंसोधनका कारण थप एक वर्ष निर्माण कम्पनीले म्याद पाउने देखिन्छ। निर्माण कम्पनीका प्रतिनिधि बिरेन्द्र बिसुवालले आउँदो दशैँ सम्ममा काम सक्ने दावी गरे। ‘सम्झौता भएको २२ महिनामा सक्नुपर्ने थियो, तर कोरोनाका कारण र काम रोकिएका कारण समयमै सकिएन’ उनले भने ‘दशैँ सम्म सबै सक्छौँ ।’ थोरै काम रहेको र अहिले पनि धमाधम भईरहेको उनले बताए।  

ठूलाठूला तीनवटा ब्लकमा भवन निर्माण भएको छ। राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई गोरखाले सुरु गरेको काम उक्त कार्यालय खारेज भएसँगै संघीय आयोजना कार्यन्वयन इकाईले जिम्मा लिएको हो। विसं २०७४ मा निर्माण सुरु भएको उक्त भवन पुरा गरी निर्माण कम्पनीले २०७६ मा अर्थात २२ महिना भित्र कार्यालयलाई बुझाउनुपथ्र्यो।  

भवन निर्माणका क्रममा जगको काम सकेपछि राष्ट्रिय पुन निर्माण प्राधिकरणले तत्काल काम रोक्न निर्देशन गर्‍यो । तत्कालिन समयमा २२ महिना काम रोकिएपछि पुन सुरु गर्दा ढिलो भएको दावी निर्माण कम्पनीको छ। उक्त भवन भूमिहिन सुकुम्बासी भूकम्प पीडित ३० घर परिवारलाई राख्ने उद्देश्यले निर्माण भएको थियो। सबै भूकम्प पीडितले राज्यले दिएको तीन लाख अनुदान लिएर र भूमिहिनले थप दुई लाखसहित घर बनाएर बसिसकेपछि अब त्यो भबन के मा प्रयोग हुन्छ भन्ने अन्यौल बढेको हो।  

स्थानीय पूर्णिमा कुमालले घर नजिकै बनेको ठूलो भवनमा अस्पताल कि क्याम्पस भए सहज हुने बताइन। ‘छोराछोरी पढाउन सजिलो हुन्थ्यो, अहिले अन्यत्र पढ्न जाँदा धेरै खर्च लागेको छ’ उनले भनिन् ‘कि अस्पताल बन्यो भनेपनि उपचारका लागि सजिलो हुन्थ्यो।’ भूकम्प पीडितकालागि भनेर बनाएको भवन प्रयोग बिहिन हुने हो कि भन्ने चिन्ता स्थानीयलाई छ।  

स्थानीय बलबहादुर कुमालले के बनेको भन्ने थाहा नभएको बताए। जे को लागि बनाएको भएपनि अब अस्पताल हुने हो भने उपचारका लागि काठमाण्डौँ, चितवन जाने पैसाले गाउँमै सुविधा हुने उनले बताए। ‘राज्यले यति धेरै खर्च गरेको छ यो यसै खेर जान त भएनन नि!’  

निर्माण व्यवसायि पनि आफैँले बनाउँदै गरेको भवन केका लागि राज्यले प्रयोग गर्छ भन्नेमा अनविज्ञ छन्। पहिले सुकुम्बासी भुकम्प पीडितलाई राख्ने उद्देश्यले ठेक्का सम्झौता भएको भवन काम सुरु भएपछि डिजाईन परिर्वतन भयो। अहिले खुल्ला कोठाहरु बनाइएको छ। भवन सुविधा सम्पन्न छ। हरेक कोठामा बरण्डा छ। कम्पाउण्ड गरिएको छ। विद्युत, फ्यान, पानीको लाईन सबै जोडिएका छन्। सुविधा सम्पन्न यो भवनको प्रयोगबारे कुनै जानकारी नभएको र आफूले निर्माण सकेर बुझाउने कम्पनीका प्रतिनिधि बिरेन्द्र बिसुवालले बताए।  

निर्माण कम्पनीले संघीय आयोजना कार्यन्वयन इकाई कास्की र उक्त इकाईले पालुङटार नगरपालिकालाई भवन हस्तान्तरण गर्नेछ। भवन हस्तान्तरण गरेपछि त्यसलाई कुनै न कुनै रुपमा प्रयोग गरिने नगर प्रमुख बिबस चिन्तन बताउँछन्। ‘हामीसँग योजना छ, भवन हस्तान्तरण भएपछि निर्णय गरेर योजना अनुसार के सकिन्छ त्यो गछौँ’ उनले भने । दुई तीनवटा विकल्पका विषयमा छलफल भईरहेको छ। ‘कृषि क्याम्पस, अस्पताल, बिजनेस कम्प्लेक्स यी मध्ये कुनै रुपमा पनि प्रयोग गर्न सकिन्छ, धेरै विकल्प छन्’ उनले भने। हस्तान्तरण भएपछि प्रयोगमा ल्याउने गरी अघि बढ्ने उनले बताए। निर्माणको अन्तिम चरणमा रहेको उक्त भवन प्रयोग बिहिन हुने हो कि भन्ने चिन्ता स्थानीयलाई छ 

प्रकाशित: २४ श्रावण २०७९ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App