९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

वन्यजन्तु पीडितले पाए ३ करोड बढी राहत रकम

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ती तथा वनक्षेत्रमा वन्यजन्तुले मानव, पशु तथा भौतिक क्षती पुर्‍याएका परिवारलाई ३ करोड ४ लाख ७३ हजार ३८७ रुपैयाँ राहत वितरण गरेको छ।

निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा धादिङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सस्ता पश्चिम) र चितवनमा वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति पुर्‍याएका परिवारलाई सो रकम वितरण गरिएको हो। यस क्षेत्रमा वन्यजन्तुले ७२४ वटा घटना घटाएका थिए।

एक वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन्। मृत्यु भएका परिवारले १० लाख रुपैयाँ प्राप्त गर्दछन्। घाइतेका हकमा उपचार खर्च निकुञ्जले नै व्यहोर्ने गरेको छ। मृतक परिवारले १० लाखका दरले २ करोड २० लाख रुपैयाँ प्रदान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

उनका अनुसार एक बर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट २९ जना सामान्य घाइते भएका थिए। उनीहरुलाई ५३ लाख ३७ हजार ९५४ रुपैयाँ प्रदान गरिएको छ। त्यस्तै, गम्भीर घाइते भएका २४ जनाका परिवारलाई २९ लाख ११ हजर ७७३ रुपैयाँ वितरण गरिएको छ। आव २०७८/०७९मा वन्यजन्तुबाट १४८ वटा पशु आक्रमण परेका छन्।

त्यसवापत निकुञ्जले १७ लाख ८२ हजार रुपैयाँ राहत दिएको छ। अन्नबालि क्षति वापत ३० लाख ३९ हजार ९ सय रुपैयाँ उपलब्ध गराएको छ। घरगोठ क्षतिको १ लाख ४७ हजार, भण्डारण गरेको अन्नको क्षति स्वरुप ५४ हजार ४४० रुपैयाँ प्रदान गरिएको छ। मानव वस्ती तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले मानवीय र भौतिक क्षति पुर्‍याएमा पीडित पक्षलाई राहतदिने व्यवस्था छ।

निकुञ्ज भित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख रुपैयाँ दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ। त्यस्तै सामान्य घाइतेको अवस्थामा २० हजार, गम्भीर घाइतेको न्यूनतम दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ।

जंगली जनावरले अन्नबालीमा क्षति पुर्‍याएमा बढीमा १० हजार, घरगोठ भत्काएमा १० हजार र पशुधनको क्षति गरेमा ३० हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ। राहत पाउन घटना भएको ३५ दिनभित्र आवश्यक कागज पत्रसहित निकुञ्जमा निवेदन दिनुपर्ने हुन्छ। 

प्रकाशित: ११ श्रावण २०७९ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App