२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

करार निस्कासनविरुद्ध खोटाङको जन्तेढुंगामा एमालेले गर्‍यो तालाबन्दी

करार कर्मचारी निस्कासनको विरोधमा रहेको खोटाङ एमालेले जिल्लाको जन्तेढुंगा गाउँपालिकामा पुनः ताला लगाएको छ। गाउँपालिकाले ८१ जना करार कर्मचारीको म्याद नथप्ने निर्णयविरुद्ध सातादिनदेखि तालाबन्दीमा उत्रिएको एमालेले आइतबार फेरि ताला लगाएको हो।

२०७४ मा निर्वाचित एमाले जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारी हटाएको विरोधमा तालाबन्दी गर्न पुगेको उसले साउन १ गतेदेखि म्याद थप नगर्ने निर्णयविरुद्ध वडा र गाउँपालिका कार्यालयमा ताला लगाएको थियो। तर, सेवा अवरुद्ध भएको भन्दै प्रहरीको सहयोगमा जनप्रतिनिधिले ताला तोडेर काम सुचारु गरेपछि माग पुरा नगरी ताला तोडेको भन्दै आइतबार दोस्रो पटक ताला लगाएको हो।

एमालेले ५ नं. वडास्थित चिसापानीमा रहेको गाउँपालिका कार्यालय र वडा कार्यालयमा ताला लगाएको हो। करार हटाएको विरोधमा साउन २ र ३ गते विभिन्न वडामा यसरी नै एमालेले लगाएको ताला प्रहरीले तोडेर काम सुचारु गरेपछि पुनः दोस्रो पटक तालाबन्दी गर्नु परेको जनाएको छ।

माग सुनुवाई नगरी ताला खोलेकाले पुनः ताला लगाएको निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला सदस्य शंखर राईले बताए। उनका अनुसार पहिलेको ताला कुनै वार्ता र छलफल नगरी खोलेकाले दोस्रो चरण ताला लगाउनु परेको हो। जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले कर्मचारी हटाएको विषयलाई लिएर एमालेले ताला लगाएको तर, जनताको दबावपछि खोलेर कार्यालय सुचारु भएको बताइन्।

पूर्व जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारीको म्याद नथप्ने निर्णय गाउँपालिकाले गरेको विरोधमा ताला लगाएर जनतालाई सेवा प्रवाहमा अवरोध गरेको भन्दै उनले सेवाग्राहीहरु आफैंले ताला खोलेर काम लिन थालेको अध्यक्ष राईले बताइन्। उनका अनुसार आइतबार लगाइएको ताला सोमबार जनता स्वयंले खोलेपछि सेवा सुचारु हुन थालेको छ।

साउन २ गते विभिन्न वडामा लगाइएको मध्ये ४ नं. वडा डम्बर्खु शिवालयको ताला भने अझै नखुलेको अध्यक्ष राईले बताइन्। उनले ४ नं. वडाध्यक्ष स्वयं एमालेबाट निर्वाचित भएकाले कार्यालय नखोलेको हुनसक्ने बताएकी छिन्। त्यहाँको ताला नखुलेका कारण साता दिनदेखि ४ नं. वडाबासीले सेवा पाउन नसकेको र आफूले ताला खोलेर सेवा सुचारु गर्न आग्रह गरेको पनि अध्यक्ष राईले बताइन्।

वडाध्यक्ष बिदुर राईले माग पुरा नगरेसम्म ताला नखोल्ने पार्टीको निर्णय भएकाले सोही अनुसार ताला नखोलिएको बताए। वडा सचिव एक मात्र स्थायी कर्मचारी पनि गाउँपालिकामा कार्यरत रहेको र अन्य करारका कर्मचारी कसैको म्याद नथपिएकाले काम गर्ने जनशक्ति कोही नभएकाले पनि कार्यालय खोल्नुको कुनै महत्व नरहेको वडाध्यक्ष राईले बताए।

गाउँपालिकाको आन्तरिक आयबाट तलबभत्ता खुवाउने गरी अघिल्लो कार्यकालका जनप्रतिनिधिले करार नियुक्त गरेका कर्मचारीको साउनदेखि म्याद नथप्ने निर्णय भएपछि एमालेले लगातार बिरोध गर्दै आएको छ। सो निर्णयविरुद्ध एमालेले गाउँपालिका, वडा कार्यालयहरु, कृषि तथा पशु शाखा, सामुदायिक स्वास्थ्य इकाई, स्वास्थ्यलगायत विभिन्न विषयगत कार्यालयमा तालाबन्दी गरेको थियो।

जन्तेढुंगामा २०७४ को स्थानीय तह चुनावमा अध्यक्ष, उपाध्यक्षलगायत बहुमत वडाध्यक्ष एमालेले जितेको थियो। एमालेले कार्यापालिका बैठकबाट पार्टी कार्यकर्ता भर्ती गरेको आरोप लाग्दै आएका बेला ०७९ को चुनावबाट निर्वाचित गठबन्धन सरकारले करारको म्याद नथप्ने निर्णय गरेको हो।

असार ३१ गतेको कार्यपालिका बैठकले करारको म्याद नथप्ने गरेको निर्णयलाई एमालेले पूर्वाग्रहको आरोप लगाउँदै पूर्व जनप्रतिनिधिकै उक्साहटमा कार्यालयमा तालाबन्दी गर्ने अव्यवहारिक काम भएको स्थानीयको गुनासो छ। गाउँपालिकाको बजेटबाट सेवा सुविधा पाउने गरी नियुक्त सबै करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको अध्यक्ष राईले बताएकी छिन्।

गाउँपालिकाको स्रोतले तलब खुवाउन नपुग्ने भएकाले आवश्यक कर्मचारी पुनः नियुक्त गर्नेगरी सबै करार हटाइएको उनको भनाइ छ। उनले नयाँ कर्मचारी नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी भइरहेको पनि बताएकी छिन्।

प्रकाशित: ९ श्रावण २०७९ ११:४६ सोमबार

जन्तेढुंगा गाउँपालिका एमाले