१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कर्मचारी धर्नाले त्रियुगा नगरको कामकाज साता दिनदेखि ठप्प

त्रियुगा नगरपालिकामा धर्ना बसेका निस्कासित कर्मचारी।

करार अवधिको म्याद नथप्ने निर्णयविरुद्ध आन्दोलित कर्मचारीको आन्दोलनका कारण साता दिनयता रोकिएको त्रियुगा नगरपालिकाको कामकाज अझै सुचारु भएको छैन। साउन १ गतेदेखि लागू हुने गरी ५९ करारको म्याद नथप्ने नगरपालिकाको निर्णयविरुद्ध निस्कासित कर्मचारीको धर्नाका कारण सबै कामकाज रोकिन पुगेको हो।

साउन १ गते सूचना पाटीमा टाँस भएपनि प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले असार ३१ गतेको मितिमा हस्ताक्षर गरेको ५९ कर्मचारीको म्याद नथप्ने सूचना पछि सोही दिनदेखि निस्कासनमा परेका कर्मचारी आन्दोलित भएका थिए। उनीहरुले सोही दिन नगरप्रमुख बसन्त बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै निर्णय पुनारावलोकन गर्न आग्रह गरेका थिए।

निस्कासन गर्नुको स्पष्ट कारण माग्दै आन्दोलित कर्मचारीको मागप्रति बेवास्ता गर्दै मेयर बस्नेत आफ्नो निर्णयबाट पछि नहट्ने जनाएपछि आन्दोलन लम्बिएको हो। दोस्रो दिन उपप्रमुख महेश्वरी राई र बहुमत वडाध्यक्षसहित कार्यपालिका सदस्यलाई पनि सोही बेहोराको ज्ञापनपत्र बुझाउँदै निर्णय पुनरावलोकन गर्न उनीहरुले आग्रह गरे।

उपप्रमुख राईले लगत्तै बोलाएको बहुमत कार्यपालिका सदस्यसहितको बैठकमा कर्मचारीसँग छलफल गरी समस्याको गाँठो नगरप्रमुख बस्नेतलाई कार्यपालिका बैठक बोलाएर फुकाउने आश्वासन दिइन्। उपमेयरको आश्वासनपछि आन्दोलनकारीले कार्यालय आंशिक खोलेर सेवा प्रवाह गर्न दिए। तर, भोलिपल्ट बस्ने भनिएको कार्यपालिका बैठक मेयर बस्नेतले नराखेपछि पुनः उनीहरु धर्ना बस्न थालेपछि सेवाग्राही मारमा परेका छन्।

भोलिपल्ट बस्ने भनिएको बैठक मेयर बस्नेतले छलेको भन्दै ३ दिनदेखि कार्यालय समयावधिभर धर्ना बस्ने क्रम चलिरहेको छ। धर्नाले कर्मचारी र जनप्रतिनिधि कार्यालय छिर्न नपाएपछि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प हुन पुगेको हो। आन्दोलनकारीले नगर परिसर प्रवेशद्वार र कार्यालय प्रवेशद्वार (कैची गेट) दुवैमा ताला लगाएपछि कार्यालय पूर्णरुपमा बन्द हुन पुगेको छ।

बुधबार र बिहीबार कार्यालय समय (१०–४ बजे) सम्म मात्र धर्ना बसेका कर्मचारीहरु राति कार्यालय पसेर काम गर्ने गरेको जानकारी आएको भन्दै शुक्रबारदेखि राति पनि काम गर्न नदिने बताएका छन्। बिहान १० बजेदेखि कार्यालय समयावधिसम्म मात्र धर्ना बस्ने गरेकोमा आफूहरु हिडेपछि ताला खोलेर रातभर काम गर्ने गरेको जानकारी आएपछि अब राति पनि धर्ना बस्ने तयारी गरेको उनीहरुले बताए।

‘दिनभर गेटमै धर्ना बसेर ४ बजे छाडेर हिड्ने गरेका थियौँ’ निस्कासनमा परेका न्याय समितिका कानुनी परामर्श विज्ञ अधिवक्ता कृपाराम चौधरीले भने ‘हामी हिडेपछि ताला खोलेर रातभर काम गर्छन् भन्ने सुनियो। अब राति पनि धर्ना बस्ने योजना बनाएका छौँ।’

मेयर बस्नेतले भने निर्णय पुनरावलोकन नगर्ने अडान लिएका छन्। पहिलो चरणमा ५९ करारको म्याद नथप्ने सूचना निकालिएको तर, विस्तारै कुनै पनि करारको म्याद नथपिने उनले बताए। नगरपालिकालाई अनावश्यक आर्थिक व्ययभार पर्ने जनशक्ति सबैलाई बिदा दिने योजना सुनाउँदै मेयर बस्नेतले जनताको करबाट संकलित रकम अनावश्यक कर्मचारीलाई खुवाएर राख्ने आफ्नो सोचाइ नभएको बताए।

आफ्नो ५ वर्षे अवधिमा जनगरपालिकाको २० करोड रकम बचाएर भौतिक पूर्वाधार र विकासमा लगाउने योजना अनुसार कदम चालेको भन्दै उनले राम्रो काम भएकाले सबैले साथ दिने अपेक्षा गरेका छन्। त्रियुगामा कार्यरत ३ सय ८६ कर्मचारीमध्ये ७६ जना मात्र स्थायी रहेको बाँकी ३ सय २० जना करार कसैको पनि म्याद आफुले नथपेको उनले बताएका छन्।

बाहिरबाट हेर्दा ५९ जनाको म्याद नथपेको देखिएको तर, आफूले कुनै पनि करार कर्मचारीको म्याद अहिलेसम्म नथपेको बस्नेतले बताए। सबै करारलाई हटाएपछि एउटा अध्ययन समिति बनाएर बस्तुगत ढंगले छानविन गरी आवश्यक पर्ने कर्मचारी भर्ना गर्न नयाँ विज्ञापन खोल्ने योजना उनले सुनाए।

प्रकाशित: ७ श्रावण २०७९ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App