जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुक्किल पर्ने गरेको छ। विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका छन्। सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्गभङ्गसमेत हुने गरेको छ।
सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ। यहाँ स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ। ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्णरुपमा बन्द छ। स्टेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता हुँदा समयमा उपचार नपाएर ज्यान जाने पनि गरेको पाइन्छ।
प्रायः ग्रामीण भेगका जनता सडक बिग्रेका कारण र समयमै सदरमुकामका अस्पताल पुग्न नसकदा उपचार गर्न उनीहरुलाई समस्या हुनाका साथै अन्य ठाउँका सुविधा सम्पन्न अस्पताल जान कठिन हुँदै आएको छ। यस्तो अवस्थामा सर्पको टोकाइको उपचार तथा अन्य सामान्य सेवाबाट उनीहरु बञ्चित हुँदै आएका छन् भने समयमै उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाएका घटना पनि छन्।
सर्पको टोकाइको सामान्य उपचार मात्र जिल्ला अस्पतालमा गर्न सकिने भोजपुरजिल्ला अस्पतालका प्रमुख वीरेन्द्र दास बताउँछन्। धेरै विषालु सर्पले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
प्रमुख दास भन्छन्,'जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ। जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन्। त्यस्ता बिरामी आएमा प्राथमिक उपचारपश्चात् बाहिर रिफर गछौँ।' सर्पको टोकाइको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका निवासी एकराज विष्ट भन्छन्, 'यो समयमा ग्रामीण भेगमा धेरै समस्या छन्। खेतबारीमा काम गर्नै पर्यो। काम गर्ने क्रममा ख्याल नगर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ तर यसको उपचार पाउन मुस्किल छ। हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि त तीनदेखि चार घण्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ।'
नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्यांक छ। तीमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ। विज्ञका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ। पहिलो वर्ग अन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ। यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ।
विषमा रहेको न्युरोटाक्सिनले स्नायुलाई क्षतिग्रस्त बनाउँछ र कार्डियोटक्सिनले सिधा मुटुमा असर पार्नाका साथै शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुन्छ। केही हदसम्म सावधानी अपनाउनसके सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरुले बताएका छन्। सर्पको टोकाइको सिकार बढी किसाननै हुने गरेका छन्।
त्यसपछि बालबालिका र वृद्धवृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन्। सर्पदंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्। केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनााका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ।
स्थानीयस्तरमा सचेतना जगाउन सकियो भने र सर्प पक्रनका लागि तालिम प्राप्त मानिस उत्पादन भएमा धेरै सहजता हुने देखिन्छ। सर्प संकलन गरिसकेपछि त्यसबाट विभिन्न तत्व संकलन गरेर सर्पदंशको उपचारमा प्रयोग गरिन्छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार करिब ६०० प्रजातिका सर्प विषालु हुने र त्यस्ता सर्पको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ।
विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ। असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ। मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन्। करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ। गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ।
गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ। तर यो उपयुक्त विधि होइन। यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुने चिकित्सककोे सल्लाह छ। सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धाँमीझाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हुँदा मानिसको अकालमा मृत्युसमेत हुने गरेको उनीहरुको भनाइ छ।
प्रकाशित: २५ असार २०७९ ०८:२७ शनिबार