८ वैशाख २०८१ शनिबार
समाज

धनगढी उपमहानगरपालिका: नगर सभामा कुर्सी फालाफाल

बैठकमा विवादपछि मुखामुख गर्दै नगर सभा सदस्यहरु। तस्बिर/नागरिक

धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ।

नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो। सभा बैठकमा बोल्दै आफूसँग मेयर गोपाल हमालले समन्वय नगरेको बताउँदै उपमेयर रानाले गुनासो पोखिन्।

उपमेयरको गुनासो लगत्तै बैठक स्थलमा कुर्सी फालाफाल हुनुका साथै हो–हल्ला भएर एकछि न बैठक अवरुद्ध भएको थियो। उपमेयरको गुनासोको जवाफ मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले दिए पनि आफूलाई चित्त बुझ्दो जवाफ नपाएको भन्दै रानाले भनिन्,‘सन्तोषजनक उत्तर पाएको भए, म बोल्दिन थें। मेयर सापको धम्की दिने बानी अहिलेसम्म पनि सुध्रिएको छैन।’

आफू द्वन्द्व गर्न नआएको बताउँदै उपमेयर रानाले भनिन्,‘हामी सहज वातावरण मिलाउन आएका हौँ। तर, उहाँले (मेयर) फेरि पनि धम्की दिँदै द्वन्द्व गर्नुहुन्छ भने तयार छु भन्नुभयो।’ धनगढी बनाउनका लागि सँगसँगै सहकार्य गरेर जानुपर्ने उनले बताइन्। उनले बैठकमा भनिन्,‘मैले मेयरबाट धेरै पीडा सहेँ, तर उपमेयरको कुनै सुनुवाई भएन।’

उपमेयर रानाले गुनासो गर्दैगर्दा एकाएक बैठक स्थल कोलाहल मय बनेको थियो। नगर सभा सदस्यहरुले उपमेयर रानाको गुनासो लगत्तै कुर्सी फालाफाल गरेका थिए। रानाले उठाएका प्रश्नको जवाफमा मेयर हमालले योजना शाखाका विज्ञहरुले बजेट र योजना निर्माण गरेको बताएका थिए। 

‘यसमा मेरो कुनै संलग्नता र स्वार्थ छैन,’ मेयर हमालले भने। धनगढी उपमहानगरपालिकामा मेयर हमालले स्वतन्त्रबाट जितेका थिए भने नेकपा एमालेबाट उम्मेदवार बनेकी रानाले उपमेयरमा जितेकी थिइन्।

प्रकाशित: २० असार २०७९ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App