देशमा गणतन्त्रसँगै जनताका घरछेउमा सरकार आयो तर विपन्न दलितका लागि कागलाई बेलजस्तै भएको छ। राज्यले दिएको आरक्षण कोटामा सरकारी जागिर र राजनीतिक पदमा पुग्ने उनै दलितले समेत आफ्नो वर्गको पीडा कहिल्यै हेरेनन् भन्ने जनगुनासो छ।
आरक्षण कोटाबाट महत्वको पद वा जागिरमा छिरेपछि सबै भुलेको पनि देखिन्छ। यतिबेला रोल्पा सदरमुकाम लिवाङमा एक दलित बालकको दर्दले भरिएको कथा फेरि बाहिरिएको छ। स्थानीय स्यामलाल सुनारका सातबर्से छोरा विकास हिजोआज दिनभर कोठामा थुनिन्छन्।
कुपोषणका सिकारले अपांगतासमेत रहेका उनी दिनभर बुवा खाना लिएर आउने आशामा झ्यालबाट बाहिर चियाइरहेका भेटिन्छन्। भोकै–प्यासै दिन कट्ने अबोध अपांगता भएका दलित बालकको अवस्थाबारेमा कसैले खैखबरसमेत गर्दैन। बिहानै ८ बजेतिर खाना खुवाएर मजदुरीमा निस्किने स्यामलालका छोरालाई स्थानीय तहको निःशुल्क र अनिवार्य शिक्षाले छोएको छैन।
गरिबीले नेटो काटेको स्यामलालका घरमा खाने कुरा त हुँदैन नै; पानी अभावमा आँसु चुहाउँदै बुवा आउने आशामा दैनिक १२ घन्टा उनी कोठामा थुनिन्छन्। ‘यसको खुट्टा लाग्दैन। सँगै लगे पनि काम गर्न दिँदैन। म काममा गइनँ भने खानेकुरा नै हुँदैन’, स्यामलाल भन्छन्, ‘दिनभर छोरा सम्झँदै काम गर्छु अनि पाएको पैसाले खानेकुरा ल्याउँछु।’
प्रकाशित: २४ जेष्ठ २०७९ ०६:०६ मंगलबार