coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जहाजबारे कुनै संकेत छैन (अपडेट)

पोखराबाट जोमसोम जाने क्रममा बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको हवाईजहाजबारे आइतबार बेलुकीसम्म कुनै संकेत फेला नपरेको मुस्ताङ प्रशासनले बताएको छ। मौसम खराबी हुँदा हेलिकप्टरबाट खोजी सम्भव नभएको र स्थलमार्गबाट खोज्न जानुपर्दा थप समस्या भएको मुस्ताङ प्रशासनले बताएको छ।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले बेलुकी ६ बजेसम्म कुनै पनि आधिकारीक सुचना नआएको बताए। ‘अहिलेसम्म हवाई जहाजबारे कतै संकेत पाएका छैनौ। मौसम अनुकुल नहुँदा हवाईमाध्यमबाट खोजी पनि रोकिएको छ,’ शर्माले भने, ‘स्थलमार्गबाट गएर खोज्दा कति सम्भव हुन्छ, त्यो प्रयास भईरहन्छ।’  

शर्माका अनुसार सेना र निजी गरेर अहिले चारवटा हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिकास्थित कोबाङमा रहेपनि बेलुकी दुइवटा हेलिकप्टर (सेनाको र फिस्टेलको एकएकवटा) सदरमुकाम गएका छन् भने अरु पोखरा फर्केका छन्। स्थलमार्गको टोली भने खोजीका लागि गएपनि फेला पार्ने सम्भावना कम रहेको उनले बताए।  

थासाङ गाउँपालिका–२ का अध्यक्ष गौतम शेरचनका अनुसार घटनास्थल आशंका गरिएको ठाउँसम्म पुग्न कम्तिमा ५ घण्टा उकालो हिड्नुपर्छ। त्यहाँ मौसम पनि खराब छ ।चार हजार ५ सय मिटर उचाईको क्षेत्रमा दुर्घटना भएको आशंका भएपनि यकिन नभएको उनले बताए। ‘गाउँका चारजना युवाहरु उकालो लागेका छन। उनीहरु पनि गोठमा बस्नेगरि गएका छन्। यार्सागुम्बा टिप्न गएको समुह पनि ३५ सय मिटरमा रहेकोले खोजीमा मिसिनेछ,’ शेरचनले भने, ‘तर, सहज छैन र यकिन पनि छैन। मौसम खराबी छ। आइतबार बिहान पानीपरेको थियो। दिउँसोदेखि खुलेको भएपनि हिमालतिर खुलेन।’ मानापाथी हिमालको फेँदमा दुर्घटनास्थल आशंका गरेपनि यकिन नभएकोले खोजी गर्न पनि जान नसकेको उनले बताए।  

कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले पनि ठाउँ यकिन नहुँदा खोजीकार्य चूनौतीपूर्ण रहेको बताए। उनका अनुसार हवाईमार्गबाट खोजी रोकिएको छ भने स्थालमार्गको टोलीलाई पनि अघि बढ्न समस्या छ। ‘घटनास्थलबारे यकिन नभएसम्म खोजीका लागि कता जाने भन्ने नै भएन। अनुमानको भरमा खोज्न गएर मात्र हुँदैन। मौसम पनि राम्रो छैन,’ थापाले भने।  

प्रकाशित: १५ जेष्ठ २०७९ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App