१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सहिद सेतुकै बस्तीको छैन लालपुर्जा

सहिद सेतु विकको गाउँ। तस्बिर/नागरिक

बाँकेको खजुरा गाउँपालिका–३ ‘क’ सहिद सेतु विकको गाउँ हो। सहित विकको परिवारका सदस्य त्यहीं बस्छन्। तर बस्दै आएको जमिन उनीहरूको नाममा छैन अर्थात् जमिनको लालपुर्जा छैन। गाउँलेहरू सबै आफू बसेको जमिनको लालपुर्जा आफ्ना नाममा नहुँदा चिन्तित छन्।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध २०६२ चैत २२ देखि २०६३ वैशाख ११ सम्म नेपाली जनताको व्यापक सहभागितामा जनआन्दोलन भएको थियो। आन्दोलनका क्रममा देशभरि २० जनाले सहादत पाए। तीमध्ये एक थिइन्– खजुराकी सेतु विक। सरकारले सेतु विकको सम्मानका लागि भन्दै उनको गाउँमा प्रवेशद्वार निर्माण गर्नुका साथै सडकलाई पनि सेतु मार्ग नाम दिएको छ।

नेपालगन्जको एउटा चोकको नाम पनि सेतु विक राखिएको छ, उनको सालिक पनि राखिएको छ। तर सेतु विकका गाउँवासीले अहिलेसम्म आफू बसेको जमिनको लालपुर्जा पाएका छैनन्। उक्त गाउँका लालबहादुर थापा भन्छन्, ‘सहिदको सम्मान गर्ने हो भने हाम्रो गास, बास र कपासको ग्यारेन्टी गर्नुपर्छ। बस्दै आएको जमिनको लालपुर्जा नपाएरै जिन्दगी जालाजस्तो छ।’

रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका सेतुका पति शेरबहादुर भन्छन्, ‘सेतुको गाउँ नै रहेन भने हाम्रो के अस्तित्व रह्यो र ? सालिक बनाएर मात्रै उसको सम्मान कसरी हुन्छ ?’ अधिकांश दलित समुदायको बसोबास रहेको सेतु विकको गाउँमा करिब ४० घरधुरी छन्। २०३५ सालदेखि उनीहरूले भोगचलन गरिरहेको ऐलानी जमिन एकजना व्यक्तिले षड्यन्त्रपूर्वक आफ्नो नाममा गराएका थिए।

ती व्यक्तिले लामो समय गाउँलेलाई त्रसित बनाएर राखे। पटकपटक बस्ती उठाइदिने धम्की दिए। डोजर लगाएर बस्ती हटाउने प्रयास गरियो। डम्मर विक (तुफान) त्यतिबेला आन्दोलनको नेतृत्वकर्ता थिए। अहिले उनी खजुरा गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका छन्। तुफानका अनुसार अहिले ती व्यक्तिका नामको जग्गा सरकारको नाममा आइसकेको बताए।

उनले भने, ‘हामीले लामो संघर्ष गरेर उक्त जग्गा सरकारको नाममा ल्याउन सफल भएका छौं। अब सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगले प्रक्रिया पूरा गरेर स्थानीयलाई जग्गा उपलब्ध गराउँछ।’ तुफानले आफ्नो कार्यकालमा स्थानीयलाई लालपुर्जा दिलाउने बताएका छन्। यस्तो आश्वासन स्थानीयले सुन्दै आएको वर्षाैं भइसकेको छ।

त्यहाँका स्थानीय अहिले लालपुर्जाको आसमा छन्। आन्दोलनको बलमा सरकारमा गएकाले अहिलेसम्म उनीहरूको पक्षमा काम गरेनन्। विभिन्न बहानामा सहिद बस्तीका बासिन्दाले लालपुर्जा पाउन सकेनन्। आफू लालपुर्जाविहीन भए पनि सन्तती लालपुर्जाविहीन नहोउन भन्ने स्थानीयको भनाइ छ।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App