२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीकै मिलेमतोमा सर्लाहीमा व्यापक तस्करी

सर्लाहीको नेपालभारत सीमा वारपार व्यापक मात्रामा तस्करी फस्टाएको छ। सशस्त्र प्रहरी बल सर्लाहीको मिलेमतोमा सर्लाहीमा सीमा वारपार तस्करी फस्टाएको हो।

सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलोमतो र सर्लाही सशस्त्र प्रहरी बल प्रमुखको संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले नै एक रातमा लाखौँको सामान बरामद गरेपछि पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल सर्लाहीको संलग्नतामा सर्लाहीमा व्यापक तस्करी भइरहेको गुनासो बढेपछि मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरले वास्तविकता बुझ्न बाहिनी बाटै सशस्त्र प्रहरीको टोली परिचालन गरेपछि एकै रातमा २० लाख मूल्य बराबरको कपडा बरामद भएको छ। बाहिनीबाट आएको सशस्त्र प्रहरीको टोलीले सर्लाहीको विभिन्न नाकाबाट एक रातमा लाखौँको कपडा बरामद गरेपछि सर्लाहीका सशस्त्र प्रहरी प्रमुख र मातहतका युनिटको संलग्नतामा कपडा र अन्य सामानको तस्करी भइरहेको रहस्य खुलेको हो।

सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रमुख एसपि भरत खनिया, छतौना बेसका इन्चार्ज सशस्त्रप्रहरी निरीक्षक सन्जीव तिवारी तथा बलरा उधोरण अर्नाहाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फणिन्द्र गोलेको मिलेमतोमा सर्लाहीको विभिन्न नाकाबाट तस्करी फस्टाएको हो।

सर्लाहीको बलरा, फेनहरा, अर्नाहा, मधुवनी, त्रिभुवननगर, बहादुरपुर लगातको नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी भइरहेको छ। भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ। बाहिनीबाट आएको सशस्त्रको टोलीले शुक्रबार रातिदुई बजेको समयमा १३ पोका कपडा र थप १५ लाखमूल्य बराबरका अन्य सामग्री बरामद गरेको छ।

लामो समयसम्म एउटै युनिटमा इन्चार्ज भएर बसेका सशस्त्र प्रहरी निरीक्षकहरुको नेपाल र भारत दुवै तिरका तस्करहरु सित उठबस हुने गरेको पाइएको छ। बलरा उधोरणका सशस्त्र प्रहरी निरीक्षक फणिन्द्र गोले गत तिस महिना देखी एउटै बिओपीमा इन्चार्ज रहेका छन्। यसै गरी छतौना बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्जीव तिवारी पनि २२ महिना देखि एकै ठाउँमा कार्यरत छन्।

सर्लाहीका स्थानीय तस्करहरु राम ईश्वर यादव, प्रभन्स साह कलावर, नागेन्द्र महतोसित सशस्त्र प्रहरी बलका इन्चार्जहरुको मिलोमतो रहेको छ। मासिक लाखौँ रुपैयाँ सशस्त्र प्रहरीलाई बुझाएर सर्लाहीका तस्करहरुले खुलेआम तस्करी गरिरहेका छन्।

सर्लाहीको बलरा नाकाबाट प्रभन्स साह, हिरालाल साह, रामेश्वर यादव, नागेन्द्र महतोले कपडाको कारोबार गर्ने गरेका छन् । यसै गरी बलाको उधोरण अर्नाहा नाकाबाट रोशनयादव र ममता बैठाको महिलाको समूहका साथै फेनहारा नाकाबाट सरोज यादव, लखिन्दर यादव, सुरेश यादवले पनि कपडाकै तस्करी गर्ने गरेका छन्।

सशस्त्र प्रहरीको संलग्नतामा नेपाल भारत सीमामा सर्लाही नाका भएर व्यापक मात्रामा तस्करी भइरहेको बारे सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रमुख एसपि भरत खनियालाई बुझ्दा तस्करी बारे अनभिज्ञता प्रकट गर्दै आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

यसै बिच छतौना बेसका सशस्त्रप्रहरी निरीक्षक सन्जिव तिवारीलाई तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी मधेस प्रदेश कार्यालय बर्दिबासमा तानिएको छ।

तस्करहरुले सर्लाहीको बलरा र अर्नाहा नाका भएर तस्करीको माल समान बरहथवा बजार सम्म ओसार पसार गर्दा नेपाल प्रहरीको बलरा, अर्नाहा, गडहिया डुमरिया हरकठवा र इप्रका बरहथवाको एसरियामा समेत स्थानीय सुरक्षाकर्मीलाइ मिलाएर तस्करीको माल समान निर्वाध रुपमा ढुवानी गरिरहेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७९ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App