७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

२५ सय ६६ औँ बुद्धजयन्तीको तयारी पूरा

२५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन  विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन्।

बुद्धजयन्तीका कार्यक्रमको तयारी पूरा भएको लुम्बिनी  विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिएका छन्। उनका अनुसार मायादेवी मन्दिरको सरसफाइ, रङरोगन गरी चिटिक्क बनाइएको छ। अन्य क्षेत्रमा सौन्दर्यकरणको काम गरिएको छ।

ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशिलका नयाँ तुल व्यानार टाँसिएको छ। आगन्तुकलाई स्वागतका लागि बाहिर नै गेट बनाइएको छ। अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेषरुपमा सजाउने काम गरिएको छ। कोरोना महामारिका कारण अघिल्लो बुद्ध जयन्ती मनाउन नपाएका कारण पनि यो वर्ष विशेष तयारी गरिएको विकास कोषले जनाएको छ।  

लुम्बिनीमै बनेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्धजयन्तीका दिन शुभारम्भ गर्ने कार्यक्रम छ। राष्ट्रिय गौरवको योजना अन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधा सहितको सभाहल चार वर्षमा पूरा भएको छ। सो सभाहलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्ने कार्यक्रम रहेको बताइएको छ।  

तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभाहल कोरोना महामारीका कारण एक वर्ष ढिलो सम्पन्न भएको हो। पाँच हजार सिट क्षमताको सभाहलको मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो। विसं २०७५ वैशाख १७ गते २५६२ औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी थिईन्।

सभाहलकै नजिक ७५ लाखको लागतमा चारवटा हेलिप्याड निर्माणको कामसमेत सम्पन्न भएको  विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिएका छन्। 'लुम्बिनी गुरुयोजना अनुसार कोषको बाटो पार्कसहित तीनवटा हेलिप्याड निर्माणका लागि ठेक्कमा दिएका थियौँ तर, अहिले डिजाइनमा सामान्य परिवर्तन गरी चारवटा हेलिप्याड बनायौँ,'उनले भने।  

यस पटक बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिएका छन्।  

उनका अनुसार बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज  गौतमबुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिने छ। जेठ दुई गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुने छ।  बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउन सो कोषले  एक करोड बजेट व्यवस्थापन गरेको संयोजक भट्टराईले बताएका छन्।  

यस्तै बुद्ध जयन्तीको अवसरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदैछन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। त्यस कारण अहिले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा गरिएको छ। 

प्रकाशित: १ जेष्ठ २०७९ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App