भारी वर्षासँगै पहिरो जाँदा डोटीको डौड र तोलेनी गाविसमा करिब ७० ठाउँ पहिरो गएका छन् । डौडमा एकै परिवारका ५ जनासहित ६ जनाको मृत्यु भएको हो । ३२ भन्दा बढी परिवार विस्थापित छन् ।
डौड–३, भल्माका डम्बरबहादुर विष्टको घर पहिरोले पुर्दा उनकी श्रीमती र छोराछोरीसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर चन्दले जानकारी दिए ।
विष्टकी ३७ वर्षीया श्रीमती देवादेवी विष्ट, दुई छोरा १३ वर्षीय हर्क विष्ट र वीरेन्द्र विष्ट, दुई छोरी आठ वर्षीया सरु विष्ट र आठ महिनाकी भावना विष्टको मृत्यु भएको हो । घाइते डम्बरबहादुरको डौड स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
सोही गाविसको वडा नम्बर १ मा पहिरोले घर पुर्दा ८३ वर्षीया चन्द्रकलादेवी सिंहको पनि मृत्यु भएको छ । डौड र तोलेनी गाविस सचिव लालबहादुर बोगटीका अनुसार दुवै गाविसमा रहेका तीन लघुजलविद्युत आयोजनामा पनि पहिरोबाट ठूलो क्षति पुगेको छ । तोलेनीमा रहेको साइँलीगाड लघुविद्युत आयोजना (तेस्रो) को पावरहाउस पुरिएको छ । डौडकै साइँलीगाड (पहिलो) र (दोस्रो) को पनि नहर तथा प्रसारण लाइन बिग्रेका छन् । साइँलीगाडमै रहेको दुवै गाविस जोड्ने झोलुंगे पुलमा पनि बाढीले क्षति पु¥याएको छ ।
‘दुवै गाविसमा दर्जनौं पशुचौपाया पनि मरे,’ गाविस सचिव बोगटीले भने, ‘खेतीयोग्य जमिन बगेको छ, क्षतिको विस्तृत विवरण आउन केही समय लाग्छ ।’
उनका अनुसार दर्जनभन्दा बढी घर पहिरोमा पुरिएका छन् । थुप्रै घर भत्किएका छन् । बाटाघाटामा पनि व्यापक क्षति पुगेको छ । ‘दुवै गाविसमा ठूलो भौतिक क्षति भएको छ, धेरै परिवार घरबारविहीन भए,’ उनले भने ।
उद्धार रहेकाले भौतिक क्षतिको विवरण पूर्ण रुपमा आइनसकेको प्रहरीले जनाएको छ । घटनाको खबरपछि बिहान आठ बजे र ११ बजे जिल्ला सदरमुकामबाट ११÷११ जनाको दुई प्रहरी टोली उक्त क्षेत्रमा पठाइएको छ । यसबाहेक नेपाली सेनाको सिलगढीस्थित शिवदल गणबाट पनि २३ जना नेपाली सेनाको टोली पनि घटनास्थलतर्फ लागेको छ ।
रेडक्रसको टोली पनि राहत सामग्री लिएर घटनास्थलतर्फ लागेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यसबाहेक, नेपाली कांग्रेस, डोटीका कार्यवाहक सभापति रामप्रसाद उपाध्याय नेतृत्वको टोली पनि उद्धारका लागि राहत सामग्री लिएर घटनास्थलतर्फ परिचालित भएको कांग्रेस, डोटीले जनाएको छ ।
जिल्लाबाट उद्धार तथा राहतका लागि परिचालित टोलीहरु साँझ घटनास्थल पुगेर उद्धार थालेका छन् । पहिरोको उच्च जोखिममा रहेका डौड गाविसका वडा नम्बर १ र ३ का ३२ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।
घटनास्थलमा खटिएका डौड प्रहरीचौकीका इन्चार्ज असई नवराज अवस्थीले बाढीपहिरो निरन्तर आइरहेकाले उद्धारमा कठिनाइ भइरहेको नागरिकसँग बताए । उनका अनुसार दिनभर पटक–पटक वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । गाविसभरि ६०÷७० भन्दा बढी साना÷ठूला पहिरो गएका छन् । ‘ती पहिरोमा कति क्षति भयो, अहिल्यै भन्न सकिँदैन,’ उनले भने, ‘अझै पनि पहिरो जाने क्रम रोकिएको छैन, घर बगिरहेका छन् । खोलाहरु अत्यधिक बढेका छन्, सबै घटनास्थलमा पुग्न सकिएको छैन ।’
स्थानीयका अनुसार अचानक राति ११ बजेबाट ठूलो पानी परेको थियो । ‘आधा रातमा एकाएक ठूलो मेघसहित पानी पर्न थाल्यो,’ स्थानीय भक्तबहादुर सिंहले भने, ‘बिहान त धेरै ठाउँमा पहिरो गएको देखियो ।’
गुहार नपाउँदा मृत्यु
एकान्त जंगलछेउको घर माथिबाट आएको पहिरोले पुरिँदा गुहार माग्दा पनि नपाई गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
सोमबार राति भारी वर्षासँगै माथितिरबाट झरेको पहिरोमा घरै पुरिएर दिबु्रङको गल्छेँडामा एकै घरका तीन जनाको ज्यान गएको हो । प्रहरी निरीक्षक रामप्रसाद पौडेलका अनुसार सोमबार राति (मंगलबार बिहानपख) दिबुु्रङ–३ का खड्कबहादुर सार्कीको घर पहिरोले पुरिँदा उनकी ४० वर्षीया श्रीमती आशा, १० वर्षको छोरो गगन र चार वर्षकी छोरी इन्दुको मृत्यु भएको हो ।
निम्न वर्गको यो परिवार जंगलछेउ सामान्य घरमा बस्दै आएको थियो । केही वर्षपहिले आगलागीले कमजोर बनाएको घरमाथि सोमबार राति एउटा ढुंगोसहितको सामान्य पहिरो झर्दा आमासहित दुई सन्तानको एकै चिहान भयो । पहिरोले घर भत्काउँदा घरको दलिनले च्यापिएर आशाको मृत्यु भएको थियो भने गारोको ढुंगाले च्यापिएर इन्दु र गगनको मृत्यु भएको छ ।
पहिरोमा च्यापिएपछि गगनले चिच्याएर गुहार मागेका थिए । ‘बाबुले गुहार मागेको थियो,’ खड्कबहादुरका भाइ डोबबहादुरले भने, ‘पानी परिरहेको थियो, बत्तीको समस्याले फटाफट उद्धार गर्न सकिएन ।’ थाम जंगलको नजिकै खड्कबहादुर र डोबबहादुरको दुइटा परिवार बस्दै आएका थिए । उक्त ठाउँबाट नजिकैको बस्तीमा पुग्न कम्तीमा ३५ देखि ४५ मिनेटसम्म लाग्ने स्थानीय एमाओवादी नेता हिमाल पुनले बताए ।
‘बिहान झिसमिसेपछि मात्रै गुहारेहरू जुटे, बस्तीको नजिकै भएको भए सबैको ज्यान नजान पनि सक्थ्यो,’ उनले भने, ‘४÷५ मिटर मात्रै लामो पहिरोले पुरिएर उनीहरूको मृत्यु भयो ।’
खड्कबहादुरका छोरी १३ वर्षीया सुष्मा, ११ वर्षीय रेनु भागेर बाँच्न सफल भएका छन् । उनीहरूले पनि गुहार मागे पनि समयमा उद्धार हुन नसक्दा ज्यान गयो । गाविसका सामाजिक परिचालक घनश्याम खरेलले एकान्तमा हुँदा समयमा उद्धार नपाएर दुखद घटना भएको बताए ।
त्यसो त घरमा आगो लागेपछि नै गाउँका जान्नेबुझ्नेले उनीहरूलाई त्यहाँबाट सर्न अनुरोध गरेका थिए । तर आर्थिक अभावले सर्न सकेका थिएनन् ।
दोलखामा एकको मृत्यु
दोलखा संवाददाता रमेश खतिवडाका अनुसार अविरल वर्षापछि पहिरोमा एक जनाको ज्यान गएको छ । विभिन्न स्थानमा गएको पहिरो र बाढीका कारण यातायात अवरुद्ध छ ।
सोमबार राति भीषण वर्षासँगै गएको पहिरोले घर बगाउ“दा डाँडाखर्कका १४ वर्षीय रिजु गिरीको ज्यान गएको हो । माथिबाट आएको पहिरोले घरसँगै गिरी पुरिएका जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी निरीक्षक शान्तबहादुर लामाले जानकारी दिए ।
पहिरोमा परी रिजुकी आमा ४५ वर्षीया निलाकुमारीसहित चार जना घाइतेलाई उपचारका लागि राजधानी पठाइएको निरीक्षक लामाले जानकारी दिए । पहिरो गएको खबरपछि दुर्गम गाउ“ आलम्पुको क्यात्रातर्फ पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले बताएको छ ।
सोमबार निरन्तर वर्षापछिको बाढीले बगाएको पुष्पलालमार्गस्थित चरङ्गे खोलामा अस्थायी डाइभर्सन बनाएपछि मंगलबार साँझदेखि यातायात सुचारु भएको छ । त्यसैगरी, पुष्पलाल मार्गको मिल्ती खोलाको पुल बगाएपछि राजधानी जोड्ने वैकल्पिक मार्ग पनि अवरुद्ध भएको छ ।
प्रकाशित: २६ श्रावण २०७२ २२:५७ मंगलबार