शुक्रबार दिउँसो ३९.५ डिग्री सेल्सियस तापक्रमको उखरमाउलो गर्मी। कोहलपुरस्थित चौराहमा मुजा परेका गाला, उमेरले ६५ वर्ष नाघेकी वृद्धा पानी बिक्री गर्दै गरेकी देखिइन्।
एक हातमा पानीका बोतल, अर्काे हातले पसिना पुछ्दै प्रत्येक गाडीमा पुगेर भन्दै थिइन्, ‘पानी खानु, पानी।’ कसैले प्यासले त कसैले उनको दया मायाले पनि पानी किनिदिन्थ्ये। केहिले भने वास्तै गरेनन्। दैलेख दुल्लीस्थित बडलम्जीकी ६५ वर्षीया ललिता नेपाली परियारको दैनिकी यसरी नै बित्छ।
दैनिक बिहान १० बजेतिर साँझ ४ बजेसम्म उनी यसैगरी पानी बिक्री गर्छिन्। वृद्धा अवस्थासम्म पनि उनी किन पानी बेच्दै हिँड्छिन्, यहीनेर उनको फिल्म कहानी जस्तै वास्तविक कथा छ। तीन छोरीकी आमा ललितालाई खासै दुःख थिएन। श्रीमान्ले कमाइ गर्ने र आफू घरायसी काम गर्थिन्। उनले सोचेकी थिइनन्, ‘म श्रीमान्बाट टाढा हुनुपर्छ र श्रीमान्ले दोस्रो विवाह गर्छन्।’ तर, भइदियो त्यस्तै।
२०५५ सालमा उनका श्रीमान्ले दोस्रो विवाह गरे। ललिताको लालनपालनमा उनले वास्ता गर्न छाडी दिए। उल्टै ललिताको मञ्जुरबिनै भएको सबै सम्पत्ती बिक्री गरेर २०६२ सालतिर तराई झरे। ‘उहाँ (श्रीमान्) घरबास सबै बिक्री गरेर तराई झर्नुभयो,’ उनले भनिन्, ‘मेरो बस्ने बाससमेत भएन।’
पछि प्रहरीको सहयोगमा घरमात्र फिर्ता पाएको उनी बताउँछिन्। उनको जीवनमा पीडादायी अवस्था यतिमै रोकिँदैन। हरेकक्षण पीडामा दुःख थपिन्छ। खेतबारी सबै बिक्री भएपछि उनलाई खानपानमा समेत समस्या पर्न थाल्यो। जेनतेन छोरा र आफ्नो रेखदेख गरेकी थिइन्।
दोस्रो विवाह गरेर २०६२ सालमा तराई झरेका उनै श्रीमान् पुनः दैलेख पुगेर ललिता बस्दै आएको घर बन्धकीमा राखे। पछि साहुँ आएर उनको घरमा ताला लगाइ दिए। उनी घरबारविहीन भइन्। त्यसपछि उनी २०६६ सालमा कोहलपुर झरिन्।
२०६७ सालमा कामका लागि काठमाडौंसम्म पुगिन्। काठमाडौंमा उनले झाँडु लगाउने काम गर्थिन्। काम गरेको ज्यालावापत मासिक ६ हजार पारिश्रमिक थियो। त्यसले छोराको जगतको पढाइ र आफ्नो दैनिक खर्च टार्न मुस्किल भयो।
‘काठमाडौंमा दैनिक गुजारा गर्नै समस्या भएपछि दुई वर्षमा पुनः कोहलपुर फर्किए,’ उनले भनिन्, ‘कोहलपुर–११ स्थित शान्तिनगरमा ऐलानी जग्गा रहेछ। त्यहाँ माटोको ढिस्कोले एउटा झुपडी बनाए।’ उक्त झुपडीमा उनले ठूलो संघर्ष गरिनन्। भित्ता भत्किन्छ टाल्छिन्। छानो चुहिन्छ टाल्छिन्।
जस्तो उनको मन पीडाले चिराचिरा भएको छ, त्यसैगरी झुपडी पनि बेलाबेला चिरिन्थ्यो। ज्यालादारी काम गरेर उनले न भत्किने घर बनाउनै सकिनन्। गत वर्ष भने छोरी ज्वाइले दुई कोठे इटाको घर बनाइ दिए। अहिले बस्नलाई केही सजिलो भएको छ। त्यही घरमा उनले आफ्नो दुःख बिसाउँछिन्। मन बहकाउँछिन्।
पानी बिक्रीबाट उनले दैनिक एक सय रुपैयाँ जति आम्दानी गर्छिन्। पानी बिक्री गर्ने उनी मात्र छैनन्। उनीजस्ता धेरै छन्। उमेरले गर्दा पनि उनी सुरुमै गाडी रोकिएको ठाउँमा पुग्न सक्दैनिन्। ‘म नजाँदै अरु गएर पानी बिक्री गरिहाल्छन्,’ उनी भन्छिन्, ‘म पानी बिक्री गर्नै पाउँदैन।’ दैनिक आम्दानी भएको एक सय रुपैयाँले कुनै दिन एक किलो चामल, कहिले तेल, तरकारीलगायतका सामान किन्छिन्।
जसले गर्दा पैसा बचत नै हुँदैन। ‘हिजो चामल किनेको थिए। आजको पैसाले तेल किन्छुँ,’ उनले भनिन्, ‘पर्सीसम्म चामल सकिहाल्छ।’ मिठो मसिनो र मासु खान उनलाई चाहेको बेला हुँदैन। घरमा थोरै सामान जम्मा भएको दिनअर्थात सामान किन्न नपर्ने दिन कुर्नुपर्छ। त्यो भनेको तीन/चार महिनामा एक दिन हो। उनको छोरा १८ वर्षीय जगत अहिले एसइई परीक्षामा सहभागी छन्।
आर्थिक अभावकै कारण पढाइमा समेत उनले राम्रो गर्न सकेका छैनन्। उनी अब आमाको दुःख सहन नसकेर काममा जाने योजना बनाएका छन् तर ललिताले आफ्ना हात खुट्टा चल्दासम्म पढाउने अठोट लिएकी छिन्। समय बदलियो। अहिले उनका गाला चाउरी परेका छन्। हिजो पहाडमा थिइन् अहिले तराईमा छिन् तर, ललिताका दुःख उस्तै छन्। संघर्षरत उनका दुःख बिसाउन समयले पर्खिरहेको छैन।
प्रकाशित: १७ वैशाख २०७९ ०८:१७ शनिबार