१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अग्निपीडित दलित बस्तीमा बेहाल

सर्लाहीको धनकौल गाउँपालिका ६ हरकठवाको दलित बस्ती।

सर्लाहीको धनकौल गाउँपालिका ६ हरकठवाको दलित बस्तीमा गत शनिबार बिजुली सर्ट भएर १४ घर खरानी भयो। आगोले १४ घर खरानी बनाएको भएपनि २९ परिवारको उठिबास भएको छ। १४ ओटा छाप्रोमा २९ दलित परिवार गुजारा गर्दै आएका थिए।

करिब डेढ सयको सङ्ख्यामा रहेका दलितहरुको बस्तीमा अधिकांश पासवान परिवार छन्। आगलागी भएको दलित परिवारको सर्वस्व स्वाहा भएको छ। सारा सम्पत्ति जलेको आगलागी पीडित दलित बस्तीमा अब मानवीय समस्या पनि सुरु भएको छ।

स्थानीय प्रदिप हजराको घरबाट सल्केको आगोले क्षण भरमै बस्ती स्वाहा भयो। प्रदिप परिवार अहिले रोडमा छन्। रेडक्रस सोसाइटी र बागमती सेवा समाजले उपलब्ध गराएको राहत सामग्रीको भरमा जीवनयापन गरिरहेका छन्। आगजनी भएकै दिन सोही गाउँका प्रदेश सरकारका युवा बालबालिका महिला तथा खेलकुद मन्त्री बिरेन्द्र सिहले त्रिपाल, भाँडाकुँडा र खाद्यान्न सामग्री उपलब्ध गराएका थिए। हेर्दा हेर्दै आँखा अगाडि नै घरलाई आगोले खरानी बनाएको प्रदिप हजराको १० जनाको परिवार पशु चौपायासंगै त्रिपालमै बस्नु परेको छ। अरु कुनै उपाय नभएकोले त्रिपालमा पशु चौपायासँगै बस्नुपर्ने बाध्यता हजरा परिवारको छ।

दुई दिनदेखि बादल लागेपछि वर्षा र असिनाको डरले रातभर उनीहरु सुत्दैनन्। कथंकदाचित असिना वा पानी आइहाल्यो भने हुने दुर्दशाको कल्पना मात्रले पनि त्रिपालभित्र कसैको आँखामा निद्रा लाग्दैन। दुधे बालक, सुत्केरी महिला र लालाबालासहित राति अँध्यारोमा कहाँ कसरी लुक्न जाने? एक दलित महिला मलिनो अनुहारले प्रश्न गर्छिन्। दैव लागेपछि कसको के लाग्छ र?

मध्य चैतको घामले अग्नि पीडितलाई दिउँसै सताउन थालेको छ। प्लास्टिकको त्रिपालमा दिउँसो एक छिन पनि बस्न सकिँदैन। आगोले पोलेको भन्दा बढ्ता पीडा हुन्छ। बालबालिकाहरुलाई त झनै पीडा भएको छ। कठिन अवस्थामा दिन बिताउनु परेको पीडित दलित परिवारहरु दुखेसो पोख्छन्।

दिउँसो घामले बस्न सकिँदैन। साँझ पर्नासाथ लामखुट्टेले त्यतिकै दुख दिन्छ। रातको असुरक्षित बसाईँ छ। खानपानको अनिश्चितता छ। समस्यै समस्याको पहाडले थिचिएर दलित बस्ती आफ्नो कर्म र भाग्यलाई दोष दिइरहेको छ।

त्रिपालमा पशु चौपायासंगै बस्नु पर्ने बाध्यताले अग्नि पीडितमा धेरै रोग देखा परेको छ। ज्वरो, रुघा खोकी र पाखालाको समस्याले उनीहरुलाई पीडा थपेको छ। बस्तिमा रहेका १० भन्दा बढी सुत्केरी महिलाको अवस्था कहालीलाग्दो दयनीय रहेको स्थानीय मान्ति देवी बताउँछिन्।

त्रिपालमुनि असह्य गर्मीमा बस्नुपर्ने बाध्यता र कसैले राहत स्वरुप उपलब्ध गराइदिएको भुजा–चिउरा खाएर छाक टार्नुपर्ने विपद्पूर्ण परिवेशले सुत्केरी महिलाको समेत बिजोग भएको छ। पोषीलो खानाको कमीले सुत्केरीहरुले नवजात शिशुलाई दुध चुसाउन समेत समस्या भएको मान्ति देवी बताउँछिन्।

'गतशनिवारदेखि राहतमा पाएको चाउचाउ र चिउरा खाँदाखाँदै आफूलाई खानाको स्वाद नै बिर्सिएको जस्तो भएको र छातीमा दूध रसाउन छोडेपछि एक वर्षको छोरामा स्वास्थ्य समस्या देखिएको छ' अग्निी पीडित सुत्केरी रेखा देबीले भनिन्। न आफूलाई खानलाई केही छ न त बच्चालाई नै खानदिनको लागि केही छ भन्दै सुत्केरी रेखा देवी गहभरि आँशु पार्दै थप्छिन्, 'यो सानो बालकले पेट भर्न नपाएको पनि तिनदिन नाघिसक्यो। बिरामी छ र अब म पनि बिरामी पर्न थालेको छु।'

आगोले सखाप बनाएको दलित बस्तीमा मानवीय समस्या देखा पर्न थाले पनि स्थानीय सरकारले खासै केही नगरेको गुनासो पीडितहरुको छ। नगरपालिकाका कुनै पनि स्वास्थ्यकर्मीले अहिलेसम्म अग्नि पीडित टोलको स्वास्थ्यबारे बुझ्नसम्म नआएको गुनासो पीडितहरुको छ। अग्नि  पीडित दलित बस्तीका मानिसहरु मानवीय समस्यामा पर्दै गएकाले सम्बन्धित निकायको ध्यान तुरुन्त आकर्षित हुनुपर्ने बुद्धिजीवीहरु बताउँछन्।

प्रकाशित: १७ चैत्र २०७८ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App