गुरुङ बाहुल्य भएको ठूलो गाउँका ३ सय ७५ घरमध्ये चारवटा मात्र जोगिएका छन्। 'बाँकी ध्वस्त भए,' अम्बरले भने, 'आँखैअगाडि गाउँ नै खत्तम भो नि। जता हेर्योय, उतै ध्वस्त!' गुमेका आफन्तमध्ये ६ वर्षीया नातिनी शकिलाको अनुहार सम्भि्कनेबित्तिकै अम्बर आफूलाई सम्हाल्न सक्दैनन्। 'त्यो पुतलीजस्ती राम्री थिई,' उनले भने, 'गाउँभरिकै प्यारी थिई। जोसँग पनि झ्यामिन्थी, लुटपुटिन्थे। सारा गाउँले माया गर्थेे उसलाई। छोरीसँगै उसलाई पनि तल बारीमा गाड्यौं।'
गाउँका बारीभरि शव गाडिएका छन्। 'एउटै खाल्डोमा चारजनासम्मलाई गाड्यौं,' स्थानीय भीमबहादुर गुरुङले भने, 'मेरै आमाबालाई एउटै खाल्डोमा गाडेँ।'
३२ वर्षीय खेम गुरुङले श्रीमती गुमाए। मलेसियामा चार वर्ष काम गरेर आठ महिनाअघि देश फर्किएका उनले श्रीमती र दुई छोरीको खुसीका लागि अनेक योजना बनाएका थिए। भुइँचालाले सबै तहसनहस पारिदियो। घरनजिकै ससुरालीमा खेम र उनकी श्रीमती मकै गोड्न गएका थिए। 'ससुरालीमा साली, उसकी मितिनी आमा र अर्काे एकजना आफन्त आएका थिए,' उनले सम्भि्कए, 'ससुराले कुखुरा काटेपछि भुत्लाएर मासु काट्न मलाई दिनुभयो। खुकुरी के उचालेको थिएँ, जमिन हल्लाइहाल्यो। बुढी जिरा पिस्दै थिई। मैले चिच्याएर बाहिर बोलाएँ। ऊ ढोकामा के आइपुगेकी थिई, घर ढल्यो। सँघारमा अचानो परी। ऐया भन्न पनि पाइन। दुई सेकेन्डले उसको ज्यान गयो।'
खेम बेला–बेला मुर्च्छा पर्ने गर्छन्। 'म त रोएर थाकेको मान्छे,' उनले भने, 'तामाका मुनाजस्ता दुई छोरीका लागि पनि बाँच्नुपर्छ मैले। तर, के गर्ने, कहाँ जाने, औडाहा भइराख्छ।'
श्रीमती बिते पनि उनले हारगुहार गरेर घरमा च्यापिएका तीन महिलालाई बचाउन सफल भए। 'श्रीमतीलाई बचाउन नसके पनि अरूलाई बचाएँ,' उनले भने।
२१ वर्षीय सन्त गुरुङले गाउँका तन्नेरीका प्रयत्नले धेरैको ज्यान जोगिएको बताए। उनीसँगै टुक गुरुङ, उमेश गुरुङ, शिशिर गुरुङ, विनोद गुरुङ घरमा च्यापिएकाको उद्धारमा तुरुन्तै खटिए। 'हाम्रो त नारा नै थियो– आफू पनि बाँचौं, गाउँ पनि बचाऔँ,' उनले भने, 'घरमा च्यापिएकामध्ये सास बाँकी भएका सबैलाई हामीले बचायौँ। जति जमिन हल्लाए पनि खटेका खट्यै गर्यौँत। ठूलो गाउँले ठूलै साहस देखायो।'
शिशिर गुरुङले गाउँका युवाले ज्यानको पर्वाह नगरी धेरैलाई उद्धार गरेको बताए। 'हामी भागेनौं,' उनले भने, 'केही गाउँमा भुइँचालो गएपछि घरमा च्यापिएकाहरूलाई यत्तिकै छोडेर युवाहरू भागे भन्ने सुनियो। हामीले 'बचाऊ' भन्ने कसैलाई अलपत्र छाडेनौँ।'
स्थानीय सुशान्त गुरुङका अनुसार गाउँका तन्नेरीका कारण धेरैको ज्यान जोगियो। 'यो गाउँका युवाहरू तत्काल बल र बुद्धि लगाएर नखटेका भए धेरै मानवीय क्षति हुन सक्थ्यो,' उनले भने।
महाभूकम्प आउनु दुई दिनअघि मात्रै तेजराज गुरुङले श्रीमती र छोरीलाई फोन गरेका थिए। 'छोरीले ठूलो टिभी लिएर घर आउनू भनेकी थिई,' उनले सम्भि्कए, 'मैले टीभी अर्डर पनि गरिसकेको थिएँ।' महाभूकम्पले श्रीमती र छोरीलाई शिकार बनाएको खबर उनले दुई दिनपछि मात्र पाए। 'हाँस्दै–रमाउँदै घर फर्कुंला भन्ने थियो,' उनले भने, 'रुँदै–रुँदै आउनुपर्योए। श्रीमती र छोरीको अनुहार हेर्न पनि पाइनँ।' उनकी श्रीमती अनिष्का गाउँको नागरिक सचेतना केन्द्रकी सचिव थिइन्। छिमेकीको घरमा बैठक थियो। 'त्यहीँ आमाछोरीले बही बुझाए छन्,' तेजराजले भने। आफ्नो दिमागै ठीक ठाउँमा नभएको उनले बताए। 'भत्केको घरलाई हेरेर टोलाइराख्छु,' उनले भने, 'एउटा, दुइटा ढुंगा उठाउँछु, फेरि त्यहीँ राख्छु। केही गर्ने जोस, जाँगरै छैन। नौनाडी गलेर आउँछ।'
ठूलो गाउँमा अहिले वैदेशिक रोजगारीबाट फर्कने युवा थुप्रै छन्। जति फर्केका छन्, उनीहरू कुनै न कुनै तोड र शोकले देश फर्केका छन्।
नौ दिनअघि मात्रै कतारबाट घर फिरेका हुन्, आकाश लामा। उनले श्रीमती र दुई छोरा गुमाए। 'भुइँचालो जानु १५ मिनेटअघिमात्रै श्रीमतीसँग कुरा गरेको थिएँ,' उनले भने, 'जेठमा घर आउँछु भन्दा ऊ कस्तो खुसी भएकी थिई। भूकम्प गएको ११ घण्टापछि उता कतारमा मेरो परिवारै सिद्धिएको खबर सुन्नुपर्यो।'
ठूलो गाउँमा चलेको शोक र वियोगको सिलसिलाले २४ वर्षीय समिन गुरुङलाई पनि निलेको छ। ६ महिनाअघि मलेसियाबाट फर्केका उनी आमा र श्रीमतीसँग जग्गा जोड्नेबारे सल्लाह गरिरहेका थिए। 'अब आमा पनि रहनुभएन, श्रीमती पनि रहिन,' उनले भने, 'कसका लागि के जोड्नु?'
रसुवाका गाउँ–गाउँमा महाभूकम्पमा परेर घरविहीन भएका परिवारहरू बसाइँ जान थालेका छन्। कच्ची सडकमा चौपायासहित बालबच्चा बोकेर हिँडिरहेका परिवार भेटिन्छन्। ठूलो गाउँवासी भने गाउँ छाड्ने विचारमा छैनन्। 'धर्ती नै भासिन्छ भने पनि, पहिरोमा पुरिएर मरिन्छ भने पनि गाउँ छोडिन्नँ,' अम्बरले भने, 'जहाँ गए पनि दुःख उही त हो।'
प्रकाशित: २७ वैशाख २०७२ २२:२४ आइतबार