१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

समृद्धिको यात्रामा गुठिचौर

जुम्लाको गुठिचौर गाउँपालिकाले पहिलो वर्ष सडक वर्षको रुपमा मनायो। प्रत्येक वस्तीमा सडक पुर्‍याउने तरिकाले योजना बनायो। अहिले हरेक वस्तीमा सडक खनिएको छ। ट्रयाक खुलेर सवारीसाधन गुडिरहेका छन्।

दोस्रो वर्षमा विद्युत् वर्षका रुपमा मनायो। हरेक वस्ती बिजुलीले झलमल्ल नै बनायो। गाउँपालिका उज्यालो कार्यक्रम सञ्चालन गरेर जंगलको दियालो बाल्न स्थानीयलाई छुटकरा मिल्यो।  शिक्षा, स्वास्थ्य र सरसफाईदेखि सामाजिक विकृती अन्त्यको लागि दह्रो कदम चाल्यो। फलस्वरुप स्थानीयतहको वार्षिक कार्य सम्पादन मुल्यांकनमा जिल्लाकै उत्कृष्ट बन्यो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन सुचकमा गुठीचौर गाउँपालिका सबैभन्दा बढी अंक ल्याएर एक अब्बल गाउँपालिका साबित हुन पुग्यो। आयोगका अनुसार कार्यसम्पदान मूल्यांकनमा गाउँपालिकाले ६५.०२ अंक ल्याएको थियो।

पालिकाले गरेका विकास निर्माणका काम, जनताले पाउने सेवा सुविधा तथा पालिकाबाट हुने कामको मूल्याङ्कन गर्दै आयोगले जुम्लाकै उत्कृष्ट बनेको जनाएको छ। नागरिकको सेवा र पालिकाको विकास निर्माणमा आफूहरु अहोरात्र खटेका कारण उत्कृष्ट नतिजा ल्याउन सकेको प्रमुख प्रशासकीय अधिकृत प्रमुख मदन देवकोटाले जानकारी दिए।

गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले भने,‘एक स्थानीयतहले पहिलो कार्यकालमा गर्ने आधारभुत प्रकारका सबै काम सकिएका छन्। चुनावी घोषणा पत्रमा लेखिएका प्रतिबद्धता कार्यन्वयन भएका छन्। यो प्रत्यक्ष जनताले अनुभुत गर्न पाएका छन्।

गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएपछि बिहिबार पाँच वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेको थियो।  अध्यक्ष भण्डारीले जनताको हरेक आवश्यकताको पहिचान गरेर योजना निर्माण गर्ने र बजेट व्यवस्थापन गर्ने गरेको बताए।

यहाँका हरेक स्वास्थ्य संस्थामा एसी जडान गरिएको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउनको लागि प्रेरित गरिएको छ। औषधिको अभावले सास्ती भोगिरहेका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन सकिएको छ। अध्यक्ष भण्डारीले भने, ‘खानेपानी तथा सरसफाईको लागि प्रत्येक घरमा धारो जडान गरिएको छ। प्रत्येक वस्तीमा रहेका विद्यालयमा भूकम्प प्रतिरोधी संरचना निर्माण गरिएको छ। एक स्थानीयतहले पहिलो कार्यकालमा गर्ने आधारभूत कुरा यी नै हुन्।'

गुठिचौर गाउँपालिकाले किसानलाई व्यवसायिक बनाउन फुजी स्याउमा अनुदानको व्यवस्था गरेको छ। गरिबीको रेखामुनी रहेका जनतालाई स्वास्थ्य बीमा गरिदिएको छ। आधुनिक काठेपुल निर्माण, स्याउ तथा ओखर बगैँचाको व्यवस्थापन, वातावरण संरक्षणका लागि गुठिचौर २ र ३ वडामा एक घर एक ग्यास चुलो उपलब्ध गराएको समेत जनाएको छ।

गुठिचौर गाउँपालिका पहिलो डिजिटल गाउँपालिका हो। हरेक वस्तीमा अप्टिकल फाइबर विस्तार भएको छ। पर्यटक आउजाउ गर्ने स्थान चोत्रा गाउँ र कोल्ते गाउँमा होमस्टे चलिरहेको छ। बृहत् धौलिगाड खानेपानी आयोजनामा लागत साझेदारी गरेर गाउँपालिकावासीको खानेपानी सुनिश्चितता गरेको छ।

झारज्वाला घट्ट लिफ्ट सिचाइँ र विगारे लिफ्ट सिचाइँको काम सकाएर सहजै रुपमा खेतियोग्य जमिनमा सिचाइँ गर्ने व्यवस्था मिलाएको छ। जसका कारण स्थानीय किसान सरकार प्रति उत्साहित छन्। आफ्नै रेडियो खोलेर स्थानीय सरकारका हरेक गतिविधि संग गाउँपालिकावासीलाई जोड्न सफल भएको छ।

गुठिचौर गाउँपालिका पर्यटकीय हिसाबले निकै महत्वपूर्ण भएकोले गुठिचौर ४ को चिमारा मालिका र डोल्पा जोड्ने सडक विस्तार गर्न तदारुकता देखाएको अध्यक्ष भण्डारीले बताए। गरिबसंग अध्यक्ष कार्यक्रम चलाएर विपन्न नागरिकलाई उद्यमी बनाउन बाख्रा वितरण गरिएको छ। ४० देखि ५९ वर्षसम्मका एकल पुरुष तथा महिलालाई एकल भत्ता दिने व्यवस्था गरेको छ।

गाउँपालिकाका हरेक वडामा कृषि पकेट क्षेत्र बनाएर रासायनिक विषादी प्रयोग गर्ने कामलाई निरुत्साहित गरिएको छ। प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुका साथै जिल्लामै दुध उत्पादनको सम्भावना बोकेको पालिका भएकोले किसानको सम्मानका लागि भैंसी प्रवद्र्धन कार्यक्रम लागु गरिएको छ। ४० जना किसानलाई भैसी उपलब्ध गराइएको छ।

कोरोना महामारीलाई दृष्टिगत गरी ५ बेडको अक्सिन सहितको कोभिड अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याएको छ। आइशोलेसन तथा क्वारेन्टिन निर्माण गरेर कोभिडबाट बचाउनको लागि अधिकतम पहल कदमी लिइएको समेत जनाएको छ।

विकास निर्माणको कामलाई जनप्रीय बनाउनको लागि दानसाँघु गोरुओढार दुइयाभिर सडक निर्माण कार्य शुभारम्भ भएको छ। अध्यक्ष भण्डारीले भने,‘संघीयताको पहिलो अभ्यासका रुपमा स्थानीय सरकार केही समय अलमल मै परे। तर एक दैलोमै आएको सरकारको अनुभति दिलाउन सफल भए। स्थानीय सरकारको महत्व झल्काउन सकेको प्रति निकै खुसी छौँ।’

काम गर्ने सवालमा केही कमजोरी भएका होलान तर कमजोरीलाई भोलिको दिनमा सिक्ने पाठका रुपमा अघि बढाइएको छ। प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले जनप्रतिनिधिको सक्रियता, कर्मचारीको लगाव र जनताको साथले जिल्लामै उत्कृष्ट गाउँपालिका हुन सकेको बताए।

उनले भने,‘यहाँ मागका आधारमा भन्दा पनि आवश्यकताका आधारमा योजना बाँडफाँड तथा बजेट व्यवस्थापन भएकोले पनि जनप्रतिनिधिको पाँच वर्षको कार्यकाल निकै उत्साहजनक बन्यो। गुठिचौर गाउँपालिका तत्कालिन देपालगाउँ, गज्र्याङकोट र गुठिचौर गाउँपालिका मिलाएर बनेको हो।

प्रकाशित: २६ फाल्गुन २०७८ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App