५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्लाष्टिक व्यवस्थापनमा अन्तर्राष्ट्रिय सम्झौता गर्न विश्वका नेता सहमत

करेन म्याकभिग

संयुक्त राष्ट्र संघीय वातावरण साधारण सभामा सहभागी विश्वका १७३ देशका नेता, वातावरणमन्त्री तथा अन्य प्रतिनिधि प्लाष्टिकसम्बन्धी एक छुट्टै अन्तर्राष्ट्रिय सम्झौता गर्न सहमत भएका छन्। प्लाष्टिकजन्य फोहोरले पृथ्वीको विभिन्न परिस्थिकीय प्रणालीलाई नराम्ररी असर गरिरहेको बेला भएको यो सहमतिलाई ऐतिहासिक मानिएको छ। केन्याका राजधानी नैरोबीमा सोमबार सम्पन्न साधारणसभाले प्लाष्टिकको उत्पादनदेखि डिस्पोजलसम्मको चक्रको व्यवस्थापन गर्न २ वर्षभित्र कानुनी प्रावधानसहितको अन्तर्राष्ट्रिय सम्झौता गर्न सिफारिस गरेको हो।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)का प्रमुख इन्गर एर्न्डसनले यो सहमतिलाई सन् २०१५ मा सम्पन्न जलवायुसम्बन्धी पेरिस सम्झौतायताको वातावरणसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण बहुपक्षीय सहमति भनेकी छिन्। सन् १९५५० देखि सन् २०१७ सम्म विश्वमा उत्पादन भएको ९.२ अर्ब टन प्लाष्टिकमध्ये ७ अर्ब टन फोहोरको रूपमा रहेको छ। उत्पादित प्लाष्टिकको ७५ प्रतिशत प्लाष्टिक ल्यान्डफिल, स्थली एवं जलीय वातावरण तथा इकोसिष्टममा थुप्रने गरेको पाइएको छ।

‘प्लाष्टिक प्रदुषण महामारीको रूपमा देखिएको छ। साधारणसभाको यो प्रस्तावले यो गम्भीर समस्याको समाधान गर्ने दिशामा बाटो देखाएको छ,’ संयुक्त राष्ट्रसंघीय वातावरण साधारणसभाका अध्यक्ष तथा नर्वेका जलवायु तथा वातावरणमन्त्री इस्पेन वार्थ आइडले भने।

यूएनइपीकी निर्देशक एर्न्डसनले यो निर्णयले सरोकारवालालाई २ वर्षको विश्राम दिएको मान्न नहुने बताइन्। उनले एकपटक मात्र प्रयोग गरिने प्लाष्टिकलाई प्रतिस्थापन गर्ने अन्य विकल्पको खोजीका लागि अनुसन्धान तथा वित्तीय सहयोगका लागि यो अवधिमा युएनइपीले आफ्नो ध्यान केन्द्रित गर्ने पनि बताइन्।

साधारणसभाले प्लाष्टिकसम्बन्धी सम्झौताको खाका तयार गर्न र अनुमोदन गर्नका लागि अन्तरसरकारी समूह समेत गठन गरेको छ। यो समूहले यही वर्षदेखि काम सुरु गरेर सन् २०२४ भित्र यसलाई टुंग्याउनेछ। साधारणसभाले पहिलोपटक फोहोर टिप्ने (वेष्ट पिकर्स) पेसामा सलग्न व्यक्तिको भूमिकालाई स्वीकार गरेको छ। विकासोन्मुख देशमा थोरै ज्यालामा प्लाष्टिकजन्य फोहोर टिपेर प्लाष्टिकको पुनप्र्रयोग(रिसाइकल) गर्न यस्ता कामदारको भूमिका महत्त्वपूर्ण रहेको छ। सन् २०५० सम्म प्लाष्टिकजन्य फोहोरको मात्रा ४ गुणाले बढ्न सक्ने र विश्वव्यापी कार्बन बजेटको १० देखि १३ प्रतिशत प्लाष्टिकमा खर्च हुने वैज्ञानिक आँकलन छ।

‘हामी इतिहासको महत्त्वपूर्ण दोसाँधमा छौं। साधारणसभाको यो निर्णयले पृथ्वीको परिस्थिकीय प्रणाली तहसनहस हुनबाट जोगाउन सहयोग गर्नेछ,’ डब्लुडब्लुएफ इन्टरनेसनलका निर्देशक मार्काे ल्यामवर्टिनीले बताए। प्रस्तावित सम्झौतामा वित्तीय तथा प्रविधिगत सहयोगसमेत समावेश गरिने र यो सम्झौताका कार्यान्वयनका सुझाव दिन एक वैज्ञानिक निकायको समेत स्थापना गर्ने तयारी छ। यसैगरी, यो प्रयोजनका लागि लक्षित गरेर छुट्टै ग्लोबल फन्डको समेत व्यवस्था गरिने तयारी छ।

सोमबार सम्पन्न उक्त संयुक्त राष्ट्रसंघीय वातावरण साधारणसभामा विश्वका १७३ देशका ३४ सय प्रतिनिधि भौतिकरूपमा र १५ सय प्रतिनिधि अनलाइनमार्फत सहभागी रहेका थिए। पछिल्ला वर्षमा प्लाष्टिकजन्य प्रदूषण विश्वव्यापी चासो र चिन्ताको विषय रहेको छ। विश्वका ६० भन्दा बढी देशले प्लाष्टिक प्याकेजिङ तथा एकपटकको प्रयोग (सिंगल यूज)लाई निषेध गरेका छन्। प्लानेट ट्रयाकर नामक थिकट्यांकका अनुसार विकासोन्मुख देशको तुलनामा विकसित देशमा प्रतिव्यक्ति प्लाष्टिक उपभोग साढे दुई गुणा बढी छ।

– (गार्जियन)  

प्रकाशित: २० फाल्गुन २०७८ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App