६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आत्महत्या दुरुत्साहन कसूरमा कैंद र जरिवाना

जिल्ला अदातल दैलेख। तस्बिर: गोविन्द केसी/नागरिक

आठबीस नगरपालिका–३ निमायलका ३८  वर्षीय मानसिंह बडुवाललाई जिल्ला अदालत दैलेखले अत्महत्या दुरुस्साहन कसुरमा डेढ वर्ष कैंद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका छ। चार छोराछोरी सहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्ष अघि आत्महत्या गरेको घटनामा आत्महत्या दुरुत्साहन कसुरमा मानसिंहलाई उक्त फैसला सुनाईएको हो।

मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट कसूरदारलाई सोमबार उक्त सजाय भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिए। गत वर्ष फागुन २३ गते कर्णाली नदीमा सुकी बडुवाल, उनकी जेठी छोरी १५ वर्षीया कल्पना बडुवाल, माहिली छोरी १२ वर्षीया सरिता बडुवाल, कान्छी छोरी ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै २०७७ चैत ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको थियो। पारिवारिक विवादका कारण फागुन २४ बिहान ४ वटै सन्तानलाई लिई सुकी कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको सुकीका भाई बजीरसिंह थापाले दिएको जाहेरीमा उल्लेख छ।

सुकी र चार छोराछोरी समेतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दिइएको जाहेरीको आधारमा प्रहरीले ०७७ चैत १२ गते प्रहरीले सुकीका श्रीमान मानसिंह बडुवाललाई पक्राउ गरेको थियो। आठबीस नगरपालिका–३ जाक्सी गाउँको तल कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका सुकी सहित पाँचै जनाको शव अछामको पञ्चदेवलबिनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा फरक फरक दिनमा फेला परेको थियो। अछामको मङ्गगलसेन अस्पतालमा ०७७ फागुन २५ गते र फागुन २७ गते शव परीक्षण गरिएको थियो। ०७७ चैत २९ गते दैलेख जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको थियो।

प्रकाशित: १७ फाल्गुन २०७८ १६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App