७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अवैध रुपमा भारततर्फ लैजान लागेको खयरको कत्था बरामद

नेपालबाट भारततर्फ अवैध रुपमा लैजान लागेको खयरको कत्था विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करी गरेर भारत लैजाँदै गर्दा सीमा क्षेत्रबाट १ हजार ७१ किलोग्राम कत्था बिहीबार बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।

को १ त ६६२० नम्बरको ट्याक्टर र त्यसमा जडान गरिएको अर्को को १ त ५६११ नम्बरको ट्रलीमा राखेर अवैध तरिकाले भारत कत्था लैजान लागिएको थियो। ट्याक्टर चालक सप्तरी घर भएका सेवकलाल सदासहित ट्याक्टर र कत्था आवश्यक कारबाहिका लागि बिहीबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको हो।

कत्था ४ लाख ८४ हजार ९ सय ५० रूपैयाँ र तस्करीमा प्रयोग गरिएको ट्याक्टर ५ लाख १५ हजार मूल्य बराबरको रहेको छ। नेपालमा प्रति किलोग्राम चार सय ५० रूपैयाँभन्दा बढी पर्ने र भारत पुर्‍याउँदा मूल्य दोब्बर हुने गरेले कत्थाको तस्करी हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीको नेतृत्वको टोलीले तस्करी गरेर लैजान लागेको कत्था बरामद गरेको हो। कत्था तस्करी गरी भारत लैजान लागेको सूचनाका आधारमा डिआइजीले विशेष टोलीले परिचालन गरेका थिए।

सानो र ठूलो काटुनमा प्याक गरेर बोराभित्र राख्दै ट्याक्टरमा लोड गरेर लैजान लागेको कत्था नियन्त्रणमा लिएको हो। डिभिजन वन कार्यालय मोरङका अनुसार खयर बहुमूल्य प्रजातिको वनस्पतिभित्र पर्छ। खयरको काठको चुर (रातो भाग)लाई पानीमा उमालेर निकालिने पदार्थलाई नै कत्था बन्ने हो।

खयरको काठलाई १२ घण्टाभन्दा बढी पानीमा भिजाएर आगोमा तताउँदै उमालेर निकाल्दा कत्था तयार हुन्छ। पानीमा हालेर उमालेको काठबाट निस्कने ठोस पदार्थलाई कत्था र तरल पदार्थलाई कुच भन्ने गरिएको छ। औषधि, कस्मेटिकका सामग्री र पान बनाउन कत्थाको प्रयोग हुन्छ।  

प्रकाशित: ६ फाल्गुन २०७८ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App