२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

नाकाबाट नेपालगन्ज भित्रियो अवैध चाँदी, तस्करलाई भगाइयो

नेपालगन्जस्थित नेपाल–भारत सिमा नाका जमुनाहाबाट अवैध चाँदी सहजै भित्रिएको छ। जमुनाहामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीबाट चेकजाँच हुन्छ।  

यस्तै नेपालगन्ज भन्सार कार्यालय अगाडीको चेक पोष्टमा पनि भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले चेकजाँच गर्छन। तर मंगलबार यि चेकपोष्ट हुदै अबैध चाँदी भारतबाट सहजै रुपमा भित्रिएको पाइएको छ। ती चेकपोष्ट छलेर नेपालगन्जतर्फ ल्याउँदै गरेको ८ किलो २ सय ९६ ग्राम चाँदीका गहनालाई सशस्त्र प्रहरीले चौलिका चोकबाट बरामद गरेको हो।

भारतीय यूपी ३२ इके ८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, चाँदी तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर भागेको सशस्त्र प्रहरीले जिकिर गरेको छ। तस्करलाई लखेट्दा पनि पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक धर्मेन्द्र बमले बताएका छन्।

तर, स्थानीय प्रत्यक्षदर्शीले भने सशस्त्र प्रहरीले नै ति संलग्न ब्यक्तिलाई भगाएको बताएका छन्। ‘प्रहरी र भन्सार कर्मचारीको मिलेमतो बिना त्यसरी अबैध चाँदी भित्रिन असम्भव नै हुन्छ, सशस्त्र प्रहरीले चाँदी र मोटरसाईकल त बरामद गर्यो, संलग्न व्यक्तिलाई चाही भगायोे,’ एक स्थानीयले नागरिकसँग भने।  

भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ८ किलो २ सय ९६ ग्राम चाँदीसहित मोटरसाईकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० हेडक्वाटर बागेश्वरी बाँकेले जनाएको छ। बरामद गरिएको चाँदी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय समक्ष बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।  

पछिल्लो समयमा प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा भारतबाट नेपालमा र नेपालबाट भारततर्फ अवैध रुपमा सामान तस्करी हुने गरेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार अधिकांश तस्करले सुरक्षाकर्मी र कर्मचारीलाई प्रभावमा पारेर सामान आयात र निर्यात गर्छन्। तर, कतिपय तस्करसँग बार्गेनिङमा कुरा नमिल्दा सामानसहित पक्राउ गर्ने गरिएको र कतिपयको सामान मात्रै जफत गरेर मान्छेलाई भगाउने गरिएको बताइन्छ।  

‘तस्करसँग पैसामा कुरा मिलेपछि उसलाई सहजै छाडिन्छ, जो सँग पैसामा कुरा मिल्दैन, उसलाई पक्राउ गरेर भन्सारलाई बुझाउने गरिन्छ,  कुनैमा चाही सामान मात्रै बरामद गरेर संलग्न व्यक्तिलाई भगाउने गरिन्छ,’ स्रोतले भन्यो।

प्रकाशित: २६ माघ २०७८ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App