१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह निमित्तको भरमा

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह प्रशासकीय प्रमुखविहीन बनेका छन्। फुङलिङ नगरपालिका सहित ३ स्थानीय तहमा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्। बाँकी ६ वटा स्थानीय तहको प्रशासकीय नेतृत्व निमित्तका भरमा चलिरहेको छ। कुनै स्थानीय तह ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुख विहीन बनेका हुन्। अहिले फुङलिङ नगरपालिका,आठराइ त्रिबेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन्।

पाथीभरा याङ्वरक,सिरिजङ्गा,सिदिङ्वा,मेरिङ्देन,मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय नेतृत्व निमित्तको भरमा चलिरहेको छ। प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको ठाउँमा तत्काल पदपूर्ति नहुँदा यहाँका अधिकाँस पालिका प्रशासकीय प्रमुखविहीन बनेका हुन्। फक्ताङ्लुङ गाउँपालिका सबैभन्दा लामो समयदेखि प्रशासकीय प्रमुख विहीन रहेको छ। यो गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको करिव ६ महिनाअघि झापाको गौरीगञ्ज सरुवा भएको छ। यस्तै मिक्वाखोला गाउँपालिका करिव तीन महिनादेखि प्रमुख प्रशासकीय विहीन बनेको छ।

त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ सरुवा भएर उदयपुर पुगेका छन्। सिदिङ्वा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बू पाँचथरको याङ्वरक गाउँपालिका पुगेका छन्। यस्तै मेरिङ्देन गाउँपालिकामा प्रशासकीय प्रमुख रहेका डम्बरबहादुर आङ्देम्बे तेह्रथुमको आठराइ गाउँपालिकामा सरुवा भएका छन्। पाथीभरा याङ्वरक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका प्रमोदकुमार चौधरी सुनसरीको बर्जु गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका सन्तोष घिमिरे मोरङको कानेपोखरी गाउँपालिका पुगेका छन्।

सरुवा भएको ठाउँमा नयाँ प्रशासकीय अधिकृत नहुँदा अधिकाँस स्थानीय तहमा स्वास्थ्य संस्थामा कार्यरत,हेल्थ असिष्टेन्ट,सिनियर अहेव त कतै शिक्षा अधिकृतले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिइरहनु परेको छ। अहिले फुङ्लिङ नगरपालिकाका तिलोचन रिमाल,आठराइ त्रिबेणी गाउँपालिकामा बिजय इङ्नाम र मैवाखोला गाउँपालिकाका देवीप्रसाद तुम्बापो प्रमुख प्रशासकीय अधिकृत रहनु बाहेक अन्य सबै स्थानीय तहमा निमित्तको भरमा चलिरहेको छ।

लामो समयदेखि कार्यालय प्रमुख विहीन हुँदा उक्त स्थानीय तहहरुको कतिपय काम प्रभावित बनेका छन् भने हाल पनि कार्यसम्पादनमा केही असहजताहरु रहँदै आएको बताइएको छ। कार्यालय प्रमुख नभएका स्थानीय तहमा कतिपय कर्मचारी र शिक्षकले समयमा तलब खान पाएका छैनन् भने महत्वपूर्ण कामहरुमा बाधा अवरोध पुगेको पाइएको छ। 

प्रकाशित: १६ माघ २०७८ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App