अपाङ्गता भएका व्यक्तिको हकहितका लागि आवाज उठाउने व्यक्ति हुन, कृष्णप्रसाद चौलागाई। उनी गाउँपालिका स्तरीय अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि बनेको सञ्जालका अध्यक्ष हुन्। उनी अपाङ्गता भएका व्यक्तिको पहिचान गर्ने, उनीहरुका समस्या बुझ्दै समाधानका लागि पैरवी गर्ने कार्यमा संलग्न छन्।
उनले भने, ‘अपांङ्गता भएका व्यक्तिलाई समाजले हेयको नजरले हेर्छ। जसले अपाङ्गता व्यक्तिको प्रगति उन्नति हुन सकेको छैन। अब अपाङ्ग व्यक्तिले अवसर पाएको खण्डमा सपाङ्ग सरह काम गर्न सक्छन् भन्ने सन्देश फैलाउने कार्यमा जुटेका छौँ।’
कृष्णप्रसादको अगुवाइमा सञ्जालले १२ जना अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र प्रदान गरिएको छ। गाउँदेखि गाउँपालिका कार्यालयसम्म पुग्न नसकेर थन्किएर बसेका व्यक्तिको पहिचान गरेर परिचयपत्र दिन गाउँगाउँमा गाउँपालिकाका कार्यालय प्रमुख लिइएको थियो। उनले भने, ‘त्यो कार्यले पनि गाउँपालिकास्तरीय अपाङ्ग सञ्जालको छवि बनेको छ।’ गाउँटोल बस्तीको सरसफाईमा लाग्ने, अपाङ्गता मुलक जनचेतना फैलाउने कार्य भइरहेको छ।
प्लान इन्टरनेशनल र नेपालको सहयोगको क्याड नेपाल जुम्लाले सचेतनामुलक, तालिम, गोष्ठी, प्रशिक्षण, अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ। अशक्त र असहाय अपाङ्गता भएका व्यक्तिका लागि राहत र उद्धारका काममा समेत सघाउँदै आएको छ।
अपाङगता भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न, युवा अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई खुद्रा पसल, बाख्रापालन, कुखुरा पालनमा जोड दिइएको छ। गाउँमा हुने हरेक कार्यक्रममा अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्व अनिवार्य हुनुपर्नेमा सञ्जालले पहल गरेको छ।
अपाङ्ग सञ्जालको कोष स्थापना गरिएको छ। कोषमा २ लाख ७० हजार रुपैयाँ छ। दुखी बिरामी पर्दा, औषधि उपचार गर्न नसक्ने अवस्थाका व्यक्तिलाई बिना व्याजको ऋण दिने परिपाटीको व्यवस्था छ।
सञ्जालभित्र अपाङ्गता भएका व्यक्तिमाथि हुने हिंसा, बालविवाह, छुइ प्रथा, जातीय भेदभाव लगायतका बिषयमा तालिम प्रशिक्षण र अभिमुखीकरण हुँदै आएको छ। सञ्जालको मासिक रुपमा बैठक बस्छ। मासिक १ सय रुपैयाँ बचत गर्ने गरिएको छ। प्लान र क्यान नेपाल संगको सहकार्यमा अपाङ्गता व्यक्तिको हकहितका लागि स्थानीय सरकारको ध्यानकर्षण गराउने देखि सचेतनामुलक कार्यम गरेर सबै निकायलाई जिम्मेवार बनाउने काम भइरहेको छ।
सञ्जालमा ३९ जना सहभागी छन्। सञ्जालकै समन्वयमा कोरोना महामारीको समयमा २९ जना विपन्न अपाङ्गता भएका व्यक्तिलाई आवश्यक राहतसमेत प्रदान गरिएको थियो। उनीहरुलाई न्यानो कपडा उपलब्ध गराउन पहल गरेको थियो।
कृष्णप्रसादले भने, ‘सञ्जालको पहलमा गाउँपालिकामा ५ जनालाई रोजगारीको व्यवस्थापन गरिएको छ। गाउँपालिकाका हरेक शाखामा एकएक जना अपाङ्गता व्यक्ति कर्मचारीका रुपमा राखिएको छ। एकजना शान्ति रोकायालाई शिक्षिका बनाइएको छ। उनको तलब गाउँपालिकाले बेहोर्दै आएको छ।’
कोरोनाको बेला मास्क, सेनिटाइजर र साबुन दिइएको थियो। प्रत्येक घरदैलोमा पुगेर कोरोनाबाट सावधानी अपनाउनको लागि अपिल गरिएको थियो। सबै गाउँ टोल बस्तीमा कृष्णप्रसाद आफै पुगेका थिए। कृष्णप्रसादले भने, ‘अपाङ्गता भएका व्यक्ति गरिब हुन। समाजमा खान, लगाउन र बस्न राम्रोसँग पाउँदैनन्। उनीहरुको व्यवस्थापन गरिदिनुपर्छ। आयआर्जन र रोजगारी सिर्जना गरेर उनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ भन्नेमा पहल भइरहेको छ।’
कृष्णप्रसादले अपाङ्गता भएका बिरामीलाई आफैले रकम हालेर अस्पतालसम्म पुर्याउने गरेका छन्। अहिले सम्म ६÷७ जनालाई सहयोग गरिसकेको उनी बताउँछन्। दुई वर्ष पहिले गाउँमा अपाङ्गता भएकी एक महिला बलात्कृत भइन्। उनलाई अस्पतालसम्म लैजाने रकम अभाव थियो। उनले भने, ‘त्यो भाडास्वरुपको रकम मैले आफै हालेर कानुनी प्रक्रियाअघि बढाउन सफल भइयो। अहिले बलात्कार गर्ने व्यक्ति हिरासतमा छन्।’
कृष्णप्रसाद इलाका प्रशासन कार्यालय नराकोटका कार्यालय सहयोगी हुन्। तर खरदार गर्ने काम उनी गर्छन्। गाउँपालिकाको केन्द्रमै बस्ने भएकोले अपाङ्गता भएका व्यक्तिको हक, हितका बिषयमा वकालत गर्न र सहयोग आदानप्रदान गर्न सहज भएको उनी बताउँछन्।
प्रकाशित: १७ पुस २०७८ ०९:५१ शनिबार