५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

फोहोर उठाउँदै चन्दननाथ

जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाले नगरपालिका क्षेत्र भित्रको खलंगा बजारमा थुप्रिदैँ आएको फोहोर व्यवस्थापन गर्न थालेको छ। फोहोरले दिनानुदिन बजार दुर्गन्धित बन्दै जान थालेपछि नगरपालिकाले फोहोर व्यवस्थापन गरेर खलंगालाई सुन्दर सहरका रुपमा स्थापित गर्ने अभियान थालेको हो।

एक महिनाभित्र खलंगालाई सुन्दर सहर बनाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले जानकारी दिए। खलंगाको जुम्ला विमानस्थलदेखि ट्राफिक प्रहरी कार्यालय महतगाउँसम्म र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि नेपाली सेनाको टुँडिखेल मैदानसम्म फोहोर उठाउन थालिएको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत बुढथापाले भने, ‘नगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन अनुसारअघि बढेका छौँ। फोहोर उठाएबापत स्थानीयसँग शुल्क पनि लिने गरिएको छ।’

फोहोर व्यवस्थापनको लागि ४ जना स्वीपरको व्यवस्थापन गरिएको छ। नगरपालिकाबाट ट्याक्टर बिहानै फोहोर उठाउनको लागि घरदैलोमा पुग्ने गरेको छ। बजार सरसफाईमा नगरपालिका जुट्न थालेपछि स्थानीय उत्साहित छन्।

फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै विगतदेखि चन्दननाथ नगरपालिका गुनासो खेप्दै आएको थियो। स्मार्ट सिटी बनाउने योजनासहित निर्वाचनमा होमिएर जितेकी मेयर कान्तिका सेजुवाल, सुन्दर हरियाली नगर बनाउने एजेण्डासहित उपमेयरमा जितेकी अप्सरादेवी न्यौपाने लगायतका चन्दननाथका जनप्रतिनिधिले बितेको चार वर्षमा पनि फोहोरमैला व्यवस्थापन उचित रुपमा गर्न सकेका थिएनन्। जसका कारण आम नगरबासी असन्तुष्ट थिए।

मेयर उपमेयरको विवाद, हाकिम नटिक्ने, नागरिकको असहयोग लगायतका कारण फोहोर व्यवस्थापनका विभिन्न प्रयास पनि असफल भएका थिए। तर अहिले भने चन्दननाथ नगरपालिका सुन्दर नगर बनाउने योजनासहित फोहोर व्यवस्थापनमा जुटेको छ।

कम्तीमा १० देखि १५ वर्षसम्म फोहोर व्यवस्थापन हुने गरी चन्दनाथ नगरपालिका २ भण्डारीबाडाको (दुनादुनी)मा डम्पिङ साइटको व्यवस्थापन भएको छ। चन्दननाथका वाताबरण तथा विपद व्यवस्थापन उपशाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने स्थानीयले सहमति दिएपछि (दुनादुनी)मा डम्पीङ साइटको व्यवस्थापन गरी फोहोर फाल्न सहज भएको बताए।

हाल नगरपालिकाले घरायसी फोहोरमैला व्यवस्थापनबाट १ सय, व्यवसायीक फोहोर मैला व्यवस्थापनबाट ३ सय, होटलबाट निस्कने फोहोर व्यवस्थापनबाट १ सय र उद्योगबाट निस्कने फोहोर व्यवस्थापन बापत १ हजार बार्षिक रुपमा कर लिने गरेको छ।

प्रकाशित: १५ पुस २०७८ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App