८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सुभाघाट पुल दुर्घटनाकाे १४ वर्ष

'फेरि त्यस्तो घटना कहिल्यै नहोस्'

तस्बिरः २०६४ पुस १० गते पुल चुँडिएर भेरी नदीमा खसेका तिर्थालुहरु।

पूर्वी सुर्खेतको मेहलकुनामा शुभाघाट पूर्णिमाको मेला लागिरहेको थियो। सुर्खेत मात्रै होइन, छिमेकी जिल्लाहरुबाट पनि दर्शनार्थीको ठूलो भीड जम्मा भएको थियो। मेहलकुना र दहचौरलाई जोड्न भेरी नदीमाथि झोलुङ्गे पुल थियो। मेला हेर्न आएका दर्शनार्थीले पुल भरीभराउ थियो। त्यतिकैमा पुल चुँडियो। भेरी किनारमा मेला हेर्न आएका सयौं मानिसहरु नदीमा खसे। २५ जनाले ज्यान गुमाए, ५० बढी घाइते भए।

सुर्खेतीहरु पुस १० लाई ‘कालो दिन’का रुपमा सम्झन्छन्। त्यहीँ दिनलाई गायिका देवी घर्ती र प्रकाश क्षेत्रीले गीतमार्फत यसरी सम्झेका छन्।  

भाँचिएछन् मुनाहरु चुँडिएछन् फुल

मान्छे मार्ने धराप भयो सुभाघाटको पुल

मेला हेर्न आएका बेला घाइते भएका स्थानीय दीपक पुन मंसिर पूर्णिमा आउन थाल्यो कि यहीँ गीत सम्झन्छन्। ‘नदीको बगरमा मेला लागिरहेको थियो, झोलुङ्गे पुलबाट मसहित सयौं मानिसहरुले मेला हेरिरहेका थियौं,’ पुनले भने, ‘लोड धान्न नसकेर होला पुल चुँडिएर नदीमा खसिहाल्यो।’ एकछिन अघिसम्मको मेलाको रमझम कोलाहलमा परिणत भयो। ‘साँच्चै पूर्णिमाको मेलाले १४ वर्षअघिको घटनालाई झलझली सम्झाउँछ,’ उनले भने, ‘अब त्यस्तो घटना कहिल्यै नहोस्।’

झोलुङ्गे पुल चुँडिएकै ठाउँमा तत्कालै नयाँ पुल बन्यो। अहिले नजिकै पक्की पुल पनि सञ्चालनमा छ। ‘अब झोलुङ्गे पुल चुडिँएर कोही पनि भेरीमा बगेर मर्नुपर्ने छैन,’ उनले भने, ‘पक्की पुलले १४ वर्षअघि झोलुङ्गे पुल चुँडिएर मृत्यु भएकाहरुको आत्माले शान्ति पाएको अनुभूति हुन्छ।’ पुल दुर्घटनामा गुर्भाकोटको गुमीका १०, दहचौरका ९, घुमखहरेका २, बाँकेका २ र धारापानी र काप्रीचौरका १–१ ले ज्यान गुमाएका थिए।

भेरी किनारमा हरेक वर्ष पाँचदेखि सात दिनसम्म शुभाघाट मेला लाग्छ। मेला भर्न सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया र दैलेखबाट दर्शनार्थी आउँछन्। दुर्घटनाका केही वर्षसम्म यहाँ दर्शनार्थी आउन पनि डराउँथे। अहिले अवस्था फेरिएको छ। यो वर्षको मेलामा भक्तजनको उल्लेख्य सहभागिता थियो।

यो वर्षको शुभाघाट मेलामा भेरी किनारमा सहभागी स्थानीयहरु।

‘अहिले भेरी किनारलाई दुबैतर्फ तटबन्ध गरिएको छ, भेरी नदीमाथि पक्की पुल सञ्चालनमा आएको छ,’ गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले भने, ‘यो वर्षको मेलामा पुरानौं रौकन देख्न पाइयो।’ उनले १४ वर्षअघिको घटनाले बारम्बार पिरोल्ने गरेको सुनाए। ‘पुलले धान्ने भन्दा धेरै मानिसहरुलाई जान नदिएको भए त्यो घटना सायद हुने थिएन्,’ पुनले भने, ‘त्यहीँ घटनाको सम्झनामा पक्की पुल बनेको छ, अब त्यस्तो घटना कहिल्यै नहोस्।’

मेलामा आउने भक्तजन मेला मात्रै भर्दैनन् सांस्कृतिक कार्यक्रम र किनमेलमा पनि सहभागी हुने अवसर पाउँछन्। मेलामा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहन्छ। ‘मेलामा आउनेले शुभाघाटको दर्शनसँगै किनमेल र राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती पनि हेर्न पाउनुहुन्छ,’ मेला आयोजना गरेको गुमीज्योति युवा क्लवका अध्यक्ष कुलबहादुर घर्तीले भने, ‘यो पटकको मेला एक लाख बढीले अवलोकन गरेका छन्।’

प्रकाशित: ११ पुस २०७८ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App