९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

नदी कटान बढ्दै, बजेट घट्दै

कञ्चनपुरमा गत कात्तिकमा आएको बमौसमी बाढीले क्षति पुर्‍यायो। दशकौंपछि साढे पाँच लाख क्युसेक पानी महाकाली नदीमा आउँदा महाकाली नदीमा निर्माणाधीन चार लेनको पहुँचमार्ग भत्काउनुका साथै पारी दोधारा चादँनीतर्फ नदी नियन्त्रणका लागि बनाइएका स्परमा क्षति पुग्यो।

यसका साथै यहाँका ठूला दोदा र खुटिया नदीमा आउने बाढीले पनि खेतीयोग्य जमिन हरेक वर्ष कटान गरिरहेकै छन्। तर नदी नियन्त्रणको जिम्मेवारी पाएको निकायमा पनि सरकारले बजेट कटौती गर्दै लगेको पाइएको छ।

झण्डै बाह्र वर्षअघि यहाँ स्थापना गरिएको जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरले दशकयता तटबन्ध निर्माणमा अग्रसरता देखाए पनि बजेट अपुग हुँदा नतबन्ध निर्माणको गति भने बढाउन सकेको छैन।

जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरका कार्यालय प्रमुख मनोरञ्जनकुमार सिंहले यस वर्ष नदी नियन्त्रणको आपतकालीन बजेट कटौती भएर आएको बताए। 'गत वर्ष रु १८ करोड ३२ लाख बजेट थियो,' उनले भने,'चालू आर्थिक वर्षमा रु १२ करोड ४१ लाख मात्रै बजेट आएको छ।'

विसं २०६६ यता महाकाली नदीको तटीय क्षेत्रमा तटबन्ध निर्माणको काम गर्दै आएको तटबन्ध कार्यालयले अहिले महाकाली नदी पारी दोधारा चादँनी, दोदा, मोहना र कैलालीको खुटिया नदीमा प्राथमिकताका आधारमा नदी नियन्त्रणको काममा जुटिरहेको छ। 'जोखिम र बढी क्षति भएको ठाउँमा तटबन्धलगायत संरचना निर्माणका लागि अहिले पनि बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढेको छ,' सिंहले भने,'एडिबिको सहयोग पनि यहाँ तटबन्ध निर्माणको काम अघि बढ्ने सुरसारमा छ।'

तटबन्धको नियमित बजेट अन्तर्गत यहाँ दोधारा चादँनीमा चार वटा स्पर र तटबन्धको उचाइ बढाउने कामको ठेक्का प्रक्रिय अघि बढेको छ। भने दोदा नदी अन्तर्गत लालझाडी र बेलौरीमा गरेर ५१७ मिटर तटबन्ध निर्माण चालू आवमा सुरु हुनेछ।

त्यसैगरी मोहना नदीको कञ्चनपुर र कैलालीतर्फ गरेर २५० मिटर तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ। कैलालीको खुटिया नदीको जोखिम भएको क्षेत्रमा ५७ मिटर तटबन्ध अब बन्ने र गत आर्थिक वर्षमा ठेक्का भएअनुरुप अहिले २०४ मिटर लम्बाइको तटबन्ध निमार्ण भइरहेको सिंहको भनाइ छ।

त्यसैगरी यहाँ नयाँ प्रविधिमा आधाररित स–साना नदी नियन्त्रणका कार्य अघि बढेको तटबन्ध कार्यालयको भनाइ छ। चालू आवमै कैलालीको खुटिया र मोहना नदीमा तटबन्ध निर्माणका लागि सरकार र एडिबीको संयुक्त लगानीमा रु ५१ करोडको तटबन्ध निर्माणका लागि ठेक्का भइसकेको छ। 'उक्त तटबन्धको निर्माण अवधि तीन वर्ष रहने गरी टिम्स–राजेन्द्र जेभीलाई ठेक्का दिइएको छ,' उनले भने, 'सो प्याकेजमा १२ वटा स्थानमा तटबन्ध निर्माणको काम हुनेछ।'

यहाँ प्रदेश र स्थानीय तहसँगै विभिन्न दातृ निकायले पनि तटबन्ध निमार्णमा सक्रियता देखाएका छन्। यहाँस्थित नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले पनि दोदा नदीको विभिन्न क्षेत्रमा जैविक तटबन्ध निर्माणमा सहयोग गर्दै आएको छ।

समाज कल्याण सङ्घका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले सामुदायिक विपत् व्यवस्थापन समिति र पालिकासित समन्वय गरेर पटक/पटक यहाँको दोदा नदीमा जैविक तटबन्ध निर्माण गरिएको बताए। 'रेडक्रसलगायत अन्य सङ्घ/संस्थाले पनि जैविक तटबन्धलाई समुदायमा उपभोक्ता समिति बनाएर स्थानीयवासीलाई तालिम र उद्दारका बारेमा सक्रिय बनाएका छन्,' उनले भने, 'जैविक तटबन्धले पनि यहाँ नदी कटानको समस्या धेरै ठाउँमा कम भएको छ।'

कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले दातृ निकायसित समन्वय गरेर दोदा नदीमा कटान नियन्त्रणका लागि आफू लागिपरेको बताए। 'लालझाडीको प्रमुख समस्य भनेकै दोदा नदीको कटान हो,' उनले भने,'पुनर्बास नगरपालिकाको सिमानासम्म हेर्दा हजाराैँ बिघा खेतीयोग्य जमिन दोदाले बगाइसकेको छ।'

उनले पालिका र दातृ निकायले केही वर्षयता जैविक तटबन्ध निर्माणमा जोड दिएको बताए। 'जनताको तटबन्धले पनि यहाँ नदी नियन्त्रणका लागि काम गरिरहेकै छ,' उनले भने,'नदीले बाढीका बेला धार कताकता पुर्‍याउँछ, त्यो नियन्त्रणमा समस्या नै छ। उनले जैविक तटबन्धले कतिपय स्थानमा प्रभावकारी रुपमा काम गरेको बताए।

प्रकाशित: ८ पुस २०७८ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App